सेयर बजारका लगानीकर्ता सचेत देखिए, एक कराेड रुपैयाँको मात्रै साधारण सेयर किनबेच

बिजमाण्डू
२०७२ जेठ १० गते ००:०० | May 24, 2015
सेयर बजारका लगानीकर्ता सचेत देखिए, एक कराेड रुपैयाँको मात्रै साधारण सेयर किनबेच

काठमाडौं । सेयर बजार निकै घट्छ र सर्किट ब्रेक नै लाग्छ भन्ने अनुमान विपरित आइतबार तीन प्रतिसतले मात्रै बजार ओर्लियो । भूकम्पका कारण लगानीकर्ताको मनोवल कमजोर भएको र अनिश्चितता हुँदाहुँदै पनि बजार संयमित देखियो ।

धेरै कम्पनीको सेयर मुल्य १० प्रतिसत भन्दा पनि कम मात्रै झर्यो । निर्जीवन विमा कम्पनीहरुले ठूलो रकम दावी भुक्तानी गर्नुपर्ने भएकोले सेयर मुल्य घट्छ भन्ने अनुमान गरिएको थियो । आइतबार निर्जीवन विमा कम्पनीको सेयर कारोबार नै भएन । बजारमा ठूलो हिस्सा ओगटेको नेपाल टेलिकमको सेयर मूल्य नौं प्रतिसतले घट्यो । यसले बजारलाई तल झार्न प्रमुख भुमिका खेल्यो ।

Tata
GBIME
Nepal Life

दिनभरमा बजार २८.३७ अंकले घट्यो । ९३८ अंकमा रहेको बजार २८ अंकले ओर्लिनु निकै ठूलो गिरावट होइन । भूकम्पको त्रास कम हुँदै गएपछि बजार स्वतः आफ्नो गतिमा चल्ने अनुमान बजार विश्लेषकहरुको छ ।

केही दिन कारोबार भइसकेपछि बजार स्वतः आफ्नो गतिमा अघि बढ्ने भएकोले ठूलो असर देखिँदैन । केही बैंक र वित्तीय सस्थाहरुको सेयर मुल्य १० प्रतिसतको हाराहारीमा झरेको छ । एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर लगायतका कम्पनीको सेयर मुल्य १० प्रतिसतको हाराहारीमा झरेको छ । केही वाणिज्य बैंकहरुको सेयर मुल्य भने दुई देखि पाँच प्रतिसतसम्म मात्रै घट्यो ।

ठूला प्राकृतिक विपत्ति पछि सेयर बजार झर्नलाई स्वभाविक नै मानिन्छ । बैशाख १२ गते गएको महाभूकम्प पछि बजार एक महिना बन्द रह्यो । बजार खुल्दा पाँच प्रतिसत भन्दा धेरैले घट्ने अनुमान गरिएको थियो । कारोबार पनि थोरै भएको कारण सेयर मुल्य सामान्य रुपमा घटेको हुनसक्ने अनुमान लगानीकर्ताहरुको छ ।
कारोबार भएका ३५ वटा कम्पनी मध्ये २२ वटाको सेयर मुल्य करिब १० प्रतिसतले घट्यो । आठ वटा कम्पनीको सेयर मुल्य एक देखि ६ प्रतिसतसम्म घट्यो भने दुई वटाको मात्रै सेयर मुल्य बढ्यो ।

आइतबार जम्मा ११ करोड ५३ लाख रुपैयाँको मात्रै सेयर किनबेच भयो । यसमा पनि तीनवटा कम्पनीको १० करोड २५ लाख रुपैयाँको सस्थापक सेयर कारोबार भयो । सस्थापक सेयर हटाउने हो भने एक करोड १९ लाख रुपैयाँको हाराहारीमा साधारण सेयर किनबेच भएको थियो ।

बजारमा आइतबार सेयर विक्री गर्नेहरु धेरै र किन्न चाहनेहरु थोरै थिए । मनास्लु विकास बैंक र टेलिकमको सेयरको माग धेरै थियो ।

अपडेटः बजार तीब्र गतिमा झरेको छ । बजार खुल्दा सामान्य गतिमा झरेको बजार एक घण्टापछि तीब्र गतिमा ओर्लिन थालेको हो । कुल २१ वटा कम्पनीको कारोबार हुदा बजार २० अंकले घटेको छ । लगानीकर्तामा मनोवैज्ञानिक त्रास भएको कारण पनि बजार घटेको अनुमान छ ।

काठमाडौं । एक महिना पछि खुलेको सेयर बजार एक घण्टामा १० अंकले घटेको छ । सेयर किन्ने लगानीकर्ता निकै थोरै छन भने बिक्रीको चाप धेरै छ । विक्रीको चाप बढेपछि बजार तल ओर्लियो । बजार दुई प्रतिसतको हाराहारीमा घटेको छ ।

एक घण्टामा जम्मा १९ वटा कम्पनीको मात्रै सेयर किनबेच भयो । स्टक ब्रोकर कार्यालयहरुमा लगानीकर्ताको उपस्थिति नै थोरै छ । केही लगानीकर्ता अन्यौलमा पनि देखिएका छन् ।

सस्थापक सेयर किनबेचले कारोबार रकममा भने ठूलो गिरावट देखिएको छैन । प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सस्थापक सेयर किनबेचले कारोबार रकम माथि उठाएको छ ।  

नेपाल टेलिकमकाे सेयर भने ३४ सय कित्ताको खरिदकर्ता छन् ।