पूर्व न्यायाधीश उप्रेतीले गरे आत्महत्या, बारले चेम्बर प्राक्टिस रोक्यो, बाँकी जीवन के काम ?

बिजमाण्डू
२०७२ जेठ ११ गते ००:०० | May 25, 2015

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन्। स्वेच्छाले मृत्युवरण गरेको 'सुसाइड नोट'सहित उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन्।

'सिलिङ फ्यानमा नाइलनको पासो लगाएर आत्महत्या गरेको देखिन्छ,' महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरीक्षक नारायण रञ्जितकारले भने, 'कतिखेर आत्महत्या गरेको भन्ने पोस्टमार्टमपछि मात्रै थाहा हुन्छ।'

Tata
GBIME
Nepal Life

उप्रेतीले सुसाइड नोटमा ‘चेम्बर प्राक्टिस’ रोकिएपछि आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् । उनले सुसाइड नोटमा लेखेका छन्, ‘नेपाल बार एशोसिएशनले राष्ट्रिय सम्मेलन गरेर, चेम्वर प्राक्टिस रोक्यो । चेम्वर प्राक्टिस रोकिनु भनेको मेरा लागि मृत शरिर जस्तै हो ।

मैले जीवनमा पढाएँ, वकिल पेशा गरे, न्यायाधिश भएँ, अब थप गर्न केही रहेन, चेम्वर प्राक्टिस रोकिएपछि जीवित हुनुको कुनै अर्थ पनि भएन्, त्यसैले देह त्याग गर्ने निर्णय गरें, उप्रेतीको सुसाइड नोटमा छ ।

उनले सुसाइड नोटमा परिवारलाई तीन काम गर्न लगाएका छन्, उनले आफ्नो बैंक खातामा पाँच लाख रुपैयाँ भएको र त्यो रकम भुकम्प पिडितलाई पुग्ने गरी प्रधानमन्त्री उद्दार कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो मृत शरिर बागमतीमा अन्त्येष्टि नगरी शिक्षण अस्पतालका विद्यार्थीलाई दिन आग्रह गरेका छन् । त्यसैगरी रितपूर्वक काजक्रिया नगर्न पनि उनले परिवारलाई भनेको उनका साझेदारमध्ये एक शिव रेग्मीले जानकारी दिए ।
 
उप्रेतीले पायोनियर ल एशोसिएट मार्फत वकिल पेशा गर्दै आएका थिए । उनी सर्वोच्चमा अस्थायी न्यायाधिश नियुक्त भएपछि वकिल पेशा रोकिएको थियो । रेग्मी यही पायोनियर ल एशोसिएटमा साझेदार हुन् ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ्ग पनि यही एशोसिएटमा पहिले साझेदार थिए । उप्रेतीको शव अहिले शिक्षण अस्पताल पुर्याइएको छ । त्यहाँ न्यायाधीश र वकिल गरी दुई दर्जनभन्दा बढी पुगेका छन् ।

उप्रेतीले आत्महत्या गरेको परिवारले बिहान ४ बजे मात्रै थाहा पाएका थिए । उनको पहिलो तलामा बेड थियो । उनी त्यहाँबाट माथिल्लो तल्लामा गएर लिभिङ रुममा आत्महत्या गरेका थिए । उनको खल्तीमा सुसाइड नोट फेला परेको थियो ।

२०६५ सालमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त उप्रेतीले ३० वर्षभन्दा लामो अवधि वकालत पेशामा थिए। उनले त्रिभुवन विश्वविद्यालयमा २१ वर्ष अध्यापन पनि गरेका थिए। अस्थायी न्यायाधीश नियुक्त हुनु अघि उनले लामो समय कर्पोरेट मुद्दामा वकालत गरेका थिए ।

कर, श्रम, बैंकिङ, बीमा जस्ता कानुनमा उनको दख्खल थियो । अस्थायी न्यायाधीशबाट हटाइए पछि उनी निष्क्रिय थिए ।

बिहान उनी झुन्डिरहेको अवस्थामा देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। बिहान ५:१० मा खबर पाएलगत्तै प्रहरी उनको घर ज्ञानेश्वर पुगेको थियो। सिलिङमा नाइलनको पासो लगाएको अवस्थामा उनको शव भेटियो भने सँगै उनले छाडेको सुसाइड नोट।