दुई दिनमा बजार ५७ अंकले घट्यो, १३.६३ करोडको कारोबारमा नेपाल लाइफको सात करोडको किनबेच

बिजमाण्डू
२०७२ जेठ ११ गते ००:०० | May 25, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । झन्डै एक महिनापछि खुलेको सेयर बजार दुई दिनमै ५७ अंकभन्दा वढीले घटेको छ । आइतबार २८.३७ अंकले घटेको बजार सोमबार २९.२९ अंकले घटेको छ ।

 
बजार तिब्र गतिमा घटेपनि सेयर कारोबार भने न्युन छ । कुल ५० कम्पनीका करिव १३ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल कारोबार रकममध्ये ६ करोड ९४ लाख रुपैयाँ बराबरको नेपाल लाइफको मात्रै सेयर किनबेच भएको छ । प्रभु बैंकको २५ लाख ६२ हजार रुपैयाँको किनबेच भएको छ ।
 
सोमवारको कारोबारको मध्य समयसम्म बिक्री गर्नेहरु देखिएपनि आधा समयपछि निश्चित कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताहरु आएका छन् ।
 
‘निश्चित सेयरहरुमा खरीदकर्ता आउन थालेका छन्,’ कोहिनुर सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने, ‘लगानीकर्ता सचेत देखिएका छन् । भविस्यमा राम्रो गर्न सक्ने कम्पनीहरुको सेयरमा खरीदकर्ता भेटिएका छन् ।’
 
ब्रोकरहरुका अनुसार, नेपाल इन्भेष्टेमन्ट, नबिलको संस्थापक सेयर (ट्रेडेवल) मा लगानीकर्ता खरीदका लागि आउन थालेका छन् । नेपाल टेलिकमको सेयरमा पनि सोमबार खरीदकर्ताको चाप देखिएको छ ।
 
‘भोलीको भविस्य राम्रो छ भन्ने लागेका कम्पनीको सेयरमा खरीदकर्ता भेटिनुले लगानीकर्ता सचेत छन् भन्ने वुझिन्छ,’ उनले भने, ‘बजारमा किन्ने लगानीकर्ता देखिन थालेका छन् । कतिपय भने पैसा बोकेर उपयुक्त मौकाको पर्खाइमा बसेका छन् ।’
 
दावी भुक्तानीले नोक्शानीमा जान सक्ने अनुमान गरिएको गैरजीवन बिमा कम्पनीहरुको सेयर कारोबार भने लगभग ठप्पै छ । सोमबार शिखर इन्स्योरेन्सको कारोबार भएपनि बाँकी कम्पनीको भएन । 
 
‘आजको कारोबारले सुचक घटाएपनि सबै कम्पनीको सेयरमा उच्च गिरावट देखिएन, खरीदकर्ता आउन थालेका छन्,’ रानाभाटले भने, ‘कम्पनी छानेर कारोबार हुन थालेको छ । बिमा सुचक घटेपनि भोलीका दिनमा बैंकिङ, टेलिकम र अन्य उपत्दनमूलक सुचकमा खास असर देखिँदैन ।’
 
श्रीहरि सेक्युरिटीजका प्रबन्ध निर्देशक सन्दिप जलानले बजारमा लगानीकर्ताको प्रवेश वढ्न थालेको जानकारी दिए । ‘अधिकांस कम्पनीको  कारोबार हुन सकेको छैन,’ उनले भने, ‘कारोबार हुन थालेपछि बैंकिङ क्षेत्रको सेयर किन्न लगानीकर्ता तयार भएर बसेको देखिन्छ ।’ 
 
सोमबार ट्रेडिङ समूहवाहेक सबै सुचक ओरालो लागेको छ । जलविद्युत् १४० अंकले घटेको छ भने बिमा करिव ४२ अंकले घटेको छ । बैंकिङ करिव ३८ अंकले घटेको छ । टेलिकम सुचिकृत अन्य सुचक २.३५ अंकले घटेको छ ।
 
बजार घट्दा पनि साल्ट ट्रेडिङ, गौमूखि विकास बैंक र प्रभु बैंक (संस्थापक) का लगानीकर्ताले कमाएका छन् । चार कम्पनीको सेयर मूलय १० प्रतिशतले घटेको छ । नौं प्रतिशतभन्दा वढीले १८ कम्पनीको सेयर मूल्य घटेको छ ।