भूकम्पबाट अति प्रभावित स्थानमा इस्पानको निशुल्क इन्टरनेट सेवा, पीडितलाई राहत पनि वितरण

बिजमाण्डू
२०७२ जेठ ११ गते ००:०० | May 25, 2015
भूकम्पबाट अति प्रभावित स्थानमा इस्पानको निशुल्क इन्टरनेट सेवा, पीडितलाई राहत पनि वितरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संस्था (इस्पान)ले विनाशकारी भूकम्पपछि रहत वितरण तथा इन्टरनेट सेवा दुवैलाई प्रभावकारी रुपमा अगाडि बढाएको जनाएको छ । संघमा आवद्ध विभिन्न कम्पनीहरुले भूकम्पबाट अतिप्रभावित क्षेत्रमा निःशुल्क वाईफाई सेवा र राहत वितरण गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life

इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक, सुविसु तथा लुम्बिनी नेटले नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट तथा दोलखाको चरिकोट क्षेत्रमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क सेवा प्रदान गरेको जानकारी दिएका छन् ।

प्रभावित क्षेत्रमा सूचनाको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीहरुले गृह मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा संघ मातहतमा रहेको वर्ल्ड लिंक तथा लुम्बिनी नेटको पहलमा मुख्य केन्द्रविन्दु रहेको गोरखाको वारपाकमा पहिलोपल्ट उच्चगतिको इन्टरनेट निःशुल्क रुपमा प्रदान गरिएको पनि संघले जानकारी दिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मोवाईल चार्जिङ सेन्टर समेत स्थापना गरेको छ ।ईन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरले दोलखाको चरिकोटमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क वाईफाई नेट सेवा दिँदै आएको छ ।

यस्तै, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट दोलखाको चरिकोट क्षेत्रमा क्षेत्रमा वल्र्ड लिंक तथा लुम्बिनी नेटको पहलमा कम्युनिकेशन सेन्टर स्थापना गरी निःशुल्क वाईफाई इन्टरनेट सेवा दिँदै आएको संघले जनाएको छ ।

भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा रहेका पिडित जनताकालागि सेवा प्रदायक कम्पनीहरु मर्कन्टायल, वर्ल्ड लिंक, भायनेट, वेभ सर्फर, सुविसु, ब्रोडलिंक, क्लासिटेक, नेटम्याक्स तथा लुम्बिनी नेट अगायतले तत्काल राहत स्वरुप खाद्यान्न तथा राहत सामग्री वितरण गरिएको थियो ।

सुबिसुले भूकम्पपीडित तथा पुनर्स्थापनाका लागि राहत स्वरुप २० लाख, प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम प्रदान गरेको छ ।