भोली पाँच अर्बको विकास ऋणपत्र जारी हुँदै, ८५ अर्ब अधिक तरलता, सरकार ८१ अर्ब रुपैयाँ बचतमा

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बोलकबोल प्रकृयाबाट पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । पाँच बर्ष अवधिको ऋणपत्र प्रतिस्पर्धाका आधारमा निर्धारण हुने छ ।

 
अहिले बैंक तथा वित्तीय संस्थामा अनिवार्य तरलता अनुपात वाहेक ८५ अर्ब रुपैयाँ अधिक तरलता छ । सरकार पनि ८१ अर्ब रुपैयाँ बचतमा छ ।
 
सरकारले चालु बर्ष ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका अनुसार बिहीबार विकास ऋणपत्र जारी गर्न लागिएको हो । गत बर्ष ४० अर्ब जति अधिक तरलता हुँदा पाँच बर्षे विकास ऋणपत्रको ब्याज दर ३.२५ प्रतिशत कायम भएको थियो  भने सात वर्षे अवधिको ३.४९ प्रतिशत कायम भएको थियो ।
 
भुकम्पका कारण विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको बृद्धि दर ह्वात्तै बढेका कारण बैंकिङ प्रणालीमा पोहोरभन्दा दोब्बर बढी अधिक तरलता छ । अधिक तरलता हुँदा कम ब्याज दरमा वोलकवोल गर्छ ।
 
सरकारले दुई महिनाभित्र ठूलो रकमको ऋणपत्र जारी गर्ने भएकाले बैंक तथा वित्तीय संस्थाले कार्टेलिङ गरेर ब्याज दरमा प्रभाव पारे ऋणपत्र जारी गर्ने प्रकृया स्थगित गर्ने अधिकार राष्ट्र बैंकसँग हुन्छ ।
 
‘खुला बजार कारोबारलाई प्रभावित गर्ने काम भएमा ऋणपत्र जारी गर्ने कार्यलाई स्थगित गर्ने अधिकार राष्ट्र बैंकसँग छ,’ राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले बिजमाण्डूसँग भने ।