अप्पर तामाकोशीको सेयर बाँडफाँट पाँच दिन पर सर्‍यो, जेठ १९ गतेभित्र बाड्ने तयारीमा लगानी कोष

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
अप्पर तामाकोशीको सेयर बाँडफाँट पाँच दिन पर सर्‍यो, जेठ १९ गतेभित्र बाड्ने तयारीमा लगानी कोष

काठमाडौं । अप्पर तामाकोशी आयोजनाको सेयर बाँटफाँट पाँच दिन पछि मात्रै हुने भएको छ । विहीबार सेयर बाँटफाँट गर्नुपर्ने भएपनि काम नसकिएकोले केही दिन पर सारिएको विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

Tata
GBIME
Nepal Life

‘भूकम्पको कारण केही दिन काम हुन सकेन, डाटा इन्ट्रिको काम नसकिएको कारण बाँटफाँट केही दिन ढिला भएको हो’, नागरिक लगानी कोषका प्रवक्ता सुशील अर्यालले भने, ‘आगामी बुधबारसम्म बाँटफाँट भइसक्छ ।’ विहीबार सेयर आवेदन बन्द भएको ६० दिन पुग्दैछ । ६० दिन भित्र सेयर बाँटफाँट गरिसक्नु पर्ने प्रावधान छ । चैत १५ गते सेयर आवेदन बन्द गरिएको थियो ।

विशेष परिस्थितिका कारण ६० दिन भित्र सेयर बाँटफाँट गर्न नसकिएको जानकारी पनि कोषका प्रवक्ताले जनाएका छन् । शुक्रबार र शनिबार सार्वजनिक विदा भएको कारण पनि सेयर बाँटफाँट थप ढिला भएको हो ।

सेयर बाँटफाँटको मोडालिटी पनि तय भएको छैन । कुन मोडालिटीमा सेयर बाँड्ने भनेर कोषले अप्पर तामाकोशी आयोजनाका पदाधिकारी र नेपाल धितोपत्र बोर्डसँग परामर्श गर्नुपर्छ ।

ऋण लगानी गर्ने सस्थाहरुका कर्मचारी, कर्मचारी सञ्चय कोषका बचतकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी र आयोजनाका कर्मचारीका लागि खुल्ला गरिएको प्राथमिक सेयर बाडफाँट गर्न कोषले अनुमति पाएको हो ।

तामाकोशीको सेयरका लागि ऋण लगानीकर्ता सस्थाका कर्मचारी, प्राधिकरणका कर्मचारी र सञ्चय कोषका बचतकर्ताले १८ अर्ब ३० करोड ९७ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् ।

यो आयोजनाको दुई अर्ब ५५ करोड रुपैयाँको दुई करोड ५५ लाख कित्ता सेयर निष्काशन गरिएको हो ।