चार दिनमा बजार १०० अंक घट्यो, चलखेल बढेपछि लगानीकर्ता ‘होल्ड’ भए, ठूला कम्पनीमा चलखेल

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
चार दिनमा बजार १०० अंक घट्यो, चलखेल बढेपछि लगानीकर्ता ‘होल्ड’ भए, ठूला कम्पनीमा चलखेल

Tata
GBIME
Nepal Life

काठमाडौं । चौथो दिनसम्म आउँदा सेयर बजार एक सय अंकले घटेको छ । महिना दिनजति कारोबार स्थगित भएर गत आइतबारबाट सुचारु भएको सेयर बजार वुधबारसम्म सय अंकले घटेको हो । 

 
बुधबार मात्रै बजार २२.१४ अंकले घटेको छ । बजार घट्दो प्रबृत्तिमा रहेकाले लगानीकर्ताहरु सक्रिय कारोबारमा फर्किसकेका छैनन् । बजार घट्ने मनोविज्ञानमा खेल्दै केही समूहले भने नेपाल टेलिकमसहित ठूलो पुँजीकरण भएका कम्पनीको मूल्य घटाएर समग्र बजार प्रभावित गरेका छन् ।
 
सोमबार र मंगलबार टेलिकमको सेयरमा खरीदकर्ताको चाप देखिन थालेपछि बुधबार मूलय प्रभावित गर्न त्यसको सेयरमा चलखेल गरिएको लगानीकर्ताहरु बताउँछन् । केही ब्रोकरहरु कारोबारको मध्यस्ततामा भन्दा पनि आफै कारोबार गर्न सक्रिय देखिएको लगानीकर्ताको आरोप छ ।
 
बुधबार टेलिकम सुचिकृत अन्य समूह ११.७४ अंक र बैंकिङ समूह २८.४१ अंकले घट्दा समग्र बजार ओरालो लागेको हो । मंगलबार खरीदकर्ताको चाप देखिएपनि बुधबार राम्रा कम्पनीको सेयर मूल्यमा कृतिम गिरावट आउँदा समग्र बजार प्रभावित हुन पुगेको एक ब्रोकरले जानकारी दिए ।
 
बजार घटेपनि कारोबार रकम र कम्पनीको संख्या भने बढेको छ । वुधबार १५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ६९ कम्पनीका दुई लाख ७७ हजार ५१५ कित्ता सेयर किनबेच भएका छन् ।
 
आइतबारदेखि लगातार घटिरहेको चिलिमेको सेयर बुधबार बढेर विक्री भएपनि बजार बन्द हुँदासम्म त्यसको मूलय घटाइएको थियो । यद्यपी चिलिमेको सेयर एक करोड ९४ लाख रुपैयाँ बराबरको खरीद बिक्री भएको छ ।
 
सिद्धार्थ बैंक र सानिमा बैंकको एक करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबारदेखि ठूलो अन्तरले मूल्य घटाइएका कारण एभरेष्ट बैंकको सेयर बुधबार भने बढेर बन्द भएको छ । बजार घट्दो प्रबृत्तिमा रहेपनि यति, मेट्रो, सुप्रिम, माउन्ट मकालु, पुर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।
 
नेपाल इन्भेष्टमेन्ट बैंक र लुम्बिनी बैंकको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ । ११ कम्पनीको सेयर मूल्य नौं प्रतिशत माथिले घटेको छ । बुधबार केही गैरजीवन बिमा कम्पनीहरुको पनि सेयर किनबेच भएको छ ।