छ महिनाभित्र मुलुकको पर्यटन क्षेत्र भूकम्प अघिकै अवस्थामा फर्काउने, क्षति १५ प्रतिशत मात्रै

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015

सिबी अधिकारी

Tata
GBIME
Nepal Life

काठमाडौँ । विनाशकारी भूकम्पबाट अस्तव्यस्त बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सरकारले विभिन्न कार्ययोजना अघि बढाएको छ ।

गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षतिग्रस्त बनेको पर्यटकीय संरचनाको मर्मत तथा पुनःनिर्माण गरी पर्यटकलाई आकर्षण गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम अघि बढाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले छ महिनाभित्र मुलुकको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्काउने गरी कार्य योजना बनाएर काम गरिने बताए ।

रासससँग कुरागर्दै मन्त्री शेर्पाले भने, “भूकम्पपछि पर्यटन क्षेत्रबारे जुन किसिमले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक हल्ला चलेको छ, वास्तवमा नेपालको पर्यटन क्षेत्रमा खासै त्यस्तो ठूलो क्षति हैन, १५ प्रतिशत जति क्षति छ, त्यसलाई हामी छ महिनाभित्रै पुनरुत्थान गर्नसक्छौँ ।”

मन्त्री शेर्पाले भूकम्पले मुलुकका ऐतिहासिक, सांस्कृतिक धरोहर तथा कतिपय पर्यटकीय पदमार्ग क्षति भएकोले त्यहाँ पर्यटक पुग्ने वातावरण सिर्जना गर्नका निम्ति युद्धस्तरमा काम गरिरहेको जानकारी दिए ।

“कहाँ कसरी र कहिले सम्ममा के–के गर्न सकिन्छ, त्यसलाई हामी आफैँ गर्नसक्छौँ या दाताहरुको सहयोग चाहिन्छ, यी सबै विषयमा अहिले गृहकार्य भइरहेको छ,” उनले भने ।

नेपाल सुरक्षित छ, नेपाल भ्रमणमा आउनुस भनेर आग्रह गर्नेगरी काम भइरहेको उनले उल्लेख गरे । मन्त्री शेर्पाका अनुसार ऐतिहासिक धरोहर निर्माण गर्न दुईदेखि पाँचवर्ष लाग्छ तर कतिपय ट्रेकिङ रुटहरु छ महिनाभित्र सुचारु गर्न सकिने अवस्था छ ।

खासगरी नेपालमा भूकम्पपछिको नकारात्मक धारणालाई सकारात्मक बनाई पर्यटन क्षेत्र सुरक्षित रहेकाले सहज किसिमले भ्रमण गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्नेगरी नेपाल भ्रमण वर्षजस्तै कार्ययोजना बनाइरहेको मन्त्री शेर्पाको भनाई छ ।

अहिलेसम्म मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिअवि सहितका आन्तरिक विमानस्थल सबै सुरक्षित रहेपनि कतिपय कुरा सुधारगर्नुपर्ने अवस्था रहेको भन्दै उनले जनगुनासो नआउनेगरी स्तरोन्नति र मर्मत सुधारका काम भइरहेको उल्लेख गरे ।

पुरातात्विक सम्पदामा पर्यटक पठाउने तयारी

भूकम्पपछि केही क्षतिग्रस्त बनेका विश्व सम्पदामा सूचिकृत नेपालका सांँस्कृतिक सम्पदा स्थलमा पर्यटकलाई पठाउने तयारी स्वरुप पर्यटन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

विश्वका उत्कृष्ट साँस्कृतिक धरोहर स्थलमा आगामी असार ३० (जुलाई १५) बाट पर्यटक लैजानका लागि आवश्यक पूर्वतयारीको काम भइरहेको मन्त्री शेर्पाले जानकारी दिए ।

मन्त्री शेर्पाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई थप निरन्तरता दिई राष्ट्रको करौडौं मूल्य खर्च गरेर बनेका विमानस्थल अहिले जुन सञ्चालनमा छैनन् तिनलाई पुनः सुचारु गरी जनतालाई सेवा प्रदान गर्ने दिशातर्फ मन्त्रालय लागि परेको पनि जानकारी दिए ।

सगरमाथा जाने रुटमा केही अवरोध आएको छ, सामान्य क्षति छन् यिनको चाँडो भन्दाचाँडो मर्मत गरी पहिलाकै अवस्थामा सगरमाथा आरोहण गर्नसक्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका योजना महाशाखा प्रमुख मोहनकृष्ण सापकोटाले राष्ट्रिय योजना आयोगले गठन गरेको भूकम्प पश्चातको आवश्यकता मूल्याङ्कन समितिले पर्यटन क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

आर्थिक मेरुदण्डको प्रमुख आधारशीला रहेको पर्यटन क्षेत्रलाई राज्यले नै प्राथमिकता दिनुपर्छ र निजी क्षेत्रका व्यवसायी तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि पर्यटनलाई प्रवद्र्धन गर्न जरुरी छ ।

यसैबीच, नेपाली पर्यटनलाई यथाशीघ्र सामान्य अवस्थामा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रको सहभागितामा गठित पर्यटन पुनरुत्थान समितिले विभिन्न कार्ययोजनाबारे छलफल चलाइरहेको छ । रासस