जेठ २३ गते नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल, उठेको रकम भूकम्प पीडितको पुनर्निर्माणमा

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
काठमाडौं । भूकम्पबाट ध्वस्त भएको संरचना पुनर्निर्माण र जागरणका लागि नेता र कलाकारवीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । नयाँ पत्रिका दैनिकको संयोजनमा कलाकारको सहयोगमा जेठ २३ गते सशस्त्र प्रहरीबलको हलचोक खेल मैदानमा मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

यही अभियानलाई निरन्तरता दिँदै जेठ २६ गतेदेखि देशव्यापी रुपमा हास्यव्यंग्य तथा गीत संगीतसहितको मेची–काली हास्यव्यंग्य साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटाले मुलुकमा परेको  विपतमा सहयोग जुटाउन पहल गरेको बताउँदै कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्चिने प्रतिवद्धता व्यक्त गरे ।
‘यो कार्यक्रमबाट उठेको रकम व्यवस्थापन खर्चमा प्रयोग हुँदैन,’ नयाँ पत्रिकाले बुधवार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो शतप्रतिशत प्रभावित क्षेत्रको पुनर्निर्माणमा प्रयोग हुन्छ ।’

Tata
GBIME
Nepal Life

मैत्रीपूर्ण फुटवल खेलमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिने उनले बताए । खेलमा युवा नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, एमालेका रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री वर्षमान पुन सहभागी हुनेछन् । फुटबल खेलमा कलाकारहरु राजेश हमाल, मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, करिष्मा मानन्धर, दीपाश्री निरौला, कोमल वली, जीतु नेपाल लगायतका हास्यकलाकार, गायक÷गायिकाको सहभागिता रहनेछ । मैत्रीपूर्ण र हास्यव्यंग्य कार्यक्रमा सहभागी हुने कलाकारले कुनै पारिश्रमिक नलिने प्रतिवद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा सहभागी भएका युवा नेता तथा कलाकारले भूकम्प पीडितका लागि सरकारी कोषमै रकम दिनुपर्ने बताएका थिए । युवा नेता गगन थापाले संकटको समयमा सरकारलाई बलियो बनाउनुपर्ने बताउँदै सरकारी कोषमै रकम जम्मा गर्न आग्रह गरे ।

‘हाम्रो पहिलो दायित्व भनेको सरकारलाईनै बलियो बनाउने हो । यो विपतको समयमा सरकारले सहयोगको सदुपयोग गरेन भने खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘तर सहयोग प्रभावितसम्म पु¥याउने भनेको सरकारनै हो ।’ पूर्व अर्थमन्त्री वर्षमान पुनले मुलुकको पुनर्निर्माणका लागि स्रोत अभाव नरहेको बताउँदै सरकारले दृढईच्छा शक्ति राखेर अघि बढ्नुपर्ने बताए ।‘स्रोतका लागि कुनै अभाव छैन । सरकारले आन्तरिक रुपमै पाँच खर्ब रुपैयाँ परिचालन गर्नसक्छ,’ उनले भने, ‘सरकारले आफ्नो उपस्थिती राम्रोसँग देखाएर सबैलाई परिचालन गर्नसक्नुपर्छ ।’ एमालेका नेता रविन्द्र अधिकारीले सरकारलाई बलियो बनाउँदै स्थानीयस्तरमै पुनर्निर्माणमा लाग्नुपर्ने बताए ।

हास्यकलाकार जीतु नेपालले सरकारमार्फत हुने पुनर्निर्माण र पुनःस्थापना कार्यक्रम मात्रै प्रभावकारी हुने भन्दै सरकारी कोषमै रकम जम्मा गर्नुपर्ने बताए ।‘अहिले व्यक्तिगत रुपमा विभिन्न स्थानमा सहयोग गरिरहेका छौ । यो सहयोगको दोहोरोपन र दुरुपयोग समेत भएको पाइएको छ,’ उनले भने, ‘अहिले सरकारले राम्रो काम गर्न सकेन भनेर टिप्पणी गर्नु राम्रो होइन । सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको छ ।’ नेपालले गैरसरकारी संस्थामार्फत भएको सहयोग रकम प्रभावित जनताले भन्दा प्रशासनिक खर्चमै बढी जाने बताउँदै हैटीको जस्तो परिस्थिती आउने नदिन सरकारलाई बलियो बनाउनुपर्ने बताए ।हास्यकलाकार किरण केसीले सरकारी कोषमा गएको पैसाको सदुपयोग नभए त्यसको खवरदारी गर्न सकिने बताउँदै विपतको बेलामा सरकारमार्फत गरिने सहयोगले वास्तविक पीडितसम्म पुग्ने बताए ।