प्रदीपजंग पाण्डे एफएनसिसिआइको अध्यक्षबाट पदमुक्त, असार १८ गते चुनाव हुने

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
प्रदीपजंग पाण्डे एफएनसिसिआइको अध्यक्षबाट पदमुक्त, असार १८ गते चुनाव हुने
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रदीपजंग पाण्डेलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ । ३० वर्ष अगाडिको भ्रष्टाचार मुद्दामा कैद भुक्तान गरिरहेका पाण्डेले दिएको जवाफ चित्तबुझ्दो नभएपछि महासंघको बुधबार बसेको कार्यसमिति बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । 

 
‘प्रदीपजंग पाण्डेजीलाई अघिल्लो कार्यसमितिबाट स्पष्टिकरण सोधिएको थियो, त्यसमा उहाँले पठाउनु भएको जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गर्ने निर्णय भयो,’  महासंघका कार्यसमिति सदस्य अञ्जन श्रेष्ठले बिजमाण्डूलाई भने, ‘उहाँले पठाउनु भएको जवाफ कानुनी रुपमा पनि हेरियो, कानुनविदकै रायका आधारमा यस्तो निर्णय भएको छ ।’ 
 
कानुनी राय लिँदा विधान अनुसार जवाफ नआएकाले पदमुक्त गर्ने निर्णय लिइएको पनि उनले बताए । ‘उहाँले पठाउनु भएको जवाफ विधान अनुसार भएन भन्ने कानुनी राय आयो,’ श्रेष्ठले भने, ‘त्यसै अनुसार आज निर्णय भयो ।’
 
वैशाखमा बसेको स्थायी समितिको बैठकले पाण्डेबाट प्राप्त जवाफ कार्यसमिति बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । पाण्डेले महासंघलाई पठाएको जवाफ बुधबारको कार्यसमिति बैठकमा पढेर सुनाइएको भने थिएन । 
पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेसँगै महासंघको नयाँ कार्यसमिति चयनका लागि असार १८ गते निर्वाचन गर्ने निर्णय पनि महासंघले गरेको श्रेष्ठले जानकारी दिए । 
 
वैशाख २० गते बसेको महासंघको स्थायी समिति बैठकले पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको र बुधबार त्यसको अनुमोदन भएको महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले बताए । ‘कानुनी राय लिँदा यसअघि नै पाण्डेजीको जवाफ विधानअनुसार भएन भन्ने आएको थियो,’ मुरारकाले भने, ‘आज त्यसको अनुमोदन भएको छ, अब महासंघले नयाँ अध्यक्ष पाउँछ ।’
 
बुधबारको बैठकमा उपस्थित सबै कार्यसमिति सदस्यले सर्वसम्मत रुपमा नयाँ अध्यक्षको चयन हुनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले देशको परिस्थिती पनि ठिक नभएको र महासंघ पनि समस्यामा रहेकाले सहमतिमा नै नयाँ कार्यसमिति चयन हुनुपर्ने धारणा राखेको मुरारकाले जानकारी दिए । झण्डै दुई महिना अगाडि महासंघका पूर्व अध्यक्षको भेलाले अबको दुई कार्यकाल सर्वसम्मत रुपमा चयन गर्ने अनौपचारिक सहमति गरेको थियो ।
 
महासंघका तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेलाई ३० वर्ष अघिको भ्रष्टाचार मुद्दामा प्रहरीले गिरफ्तार गरेपछि महासंघ नेतृत्व विहीन भएको थियो । महासंघको कार्यसमितिले वरिष्ठ उपाध्यक्ष मुरारकालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । महासंघले पाण्डेलाई सफाइको मौका भन्दै प्रष्टीकरण सोधेपनि उनको जवाफ चित्तबुझ्दो नभएपछि बुधबार उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 
 
पाण्डेलाई खानेपानी संस्थानको कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

Tata
GBIME
Nepal Life

३० वर्षअघिको भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्ष कैद, साढे नौ लाख बिगो र जरिवाना तोकिएको थियो। राजासमक्ष श्रीमती उर्मिला पाण्डेले बिन्तिपत्र दिएपछि हुकुम प्रमाङ्गीबाट जरिवाना मिनाहा र ४२ सालमै राजाबाट सम्पूर्ण कैदसमेत मिनाहा भएको दावी उनले गर्दै आएका थिए।

तर सर्वोच्च अदालतले पाण्डेले जेल जानुपर्ने फैसला सुनाएको थियो । सर्वोच्चको चैत ३ गतेको फैसलामा भनिएको छ, '०४९/५० सालमा काठमाडौँ जिल्ला अदालतमा लगतमा २०४२/८/५को मिति राखेर कैफियत प्रमाणित गर्न सर्वथा असम्भव देखिन्छ। २०४२/८/५ मा नै हुकुम प्रमाङ्गी भई माफी मिनाहा भई लगत कट्टा गरिएको भए ०४९/५० सालसम्मको लगतमा बाँकी जनाई सारिरहनु पर्ने अवस्था पनि पर्दैन।'

गत वर्ष भएको महासंघको निर्वाचनमा पाण्डे अध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि महासंघकै दुई कार्यकालमा उनी उपाध्यक्ष थिए।  

यो पनि पढ्नुहोस
नेपाल उद्योग वाणिज्य महासंघ सर्वसम्मत अध्यक्ष बनाउन पहल, चैत २७ र २८मा साधारणसभा