तीन महिनालाई खाद्यान्नको मौज्दात, तैपनि थोक व्यापारीले मूल्य अचाक्ली बढाए, अनुगमन थोकमा

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
तीन महिनालाई खाद्यान्नको मौज्दात, तैपनि थोक व्यापारीले मूल्य अचाक्ली बढाए,  अनुगमन थोकमा

Tata
GBIME
Nepal Life

विज्ञान अधिकारी/बिजमाण्डू

काठमाडौं । महाभूकम्प गएकै दिन बैशाख १२ गते कुलेश्वरमा बसेको थोक र खुद्रा बिक्रेताहरुको भेलाले जानकारी दियो– तीन महिनासम्म पुग्नेगरी खाद्यान्नको मौज्दात छ । 
 
तीन महिनालाई पर्याप्त खाद्यान्न छ भनेर सार्वजनिक गरेको तीन साता नवित्तै विक्रेताले खाद्यान्नको मूल्य बढाएका छन् । 
 
खुद्रा व्यवसायीका अनुसार,  थोक बिक्रेताले मुसुरो दालको मूल्य १३२ रुपैयाँ प्रतिकिलोबाट १६० रुपैयाँ पुर्याएका छन् । रहरको दाल १७५ बाट दुई सय रुपैयाँ पुगेको छ । थोकको मूल्य बढेपछि खुद्रा बजारमा थप मूल्य बढ्छ ।
 
उपत्यकामा खाद्यान्न बिक्री गर्ने थोक बिक्रेताको गोदाम कुलेश्वरमा छ । कुलेश्वरमा रहेका सबै खाद्यान्न बिक्रेताले दाल र गेडागुडीको मूल्य बढाएका छन् । ‘पर्याप्त खाद्यान्न हुँदा हुँदै दाल र गेडागुडीको मूल्य बढ्नु पर्ने कारण छैन,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बिजमान्डूसँग भने । 
 
थोक र खुद्रा दुबै व्यापारीको भेलाले तीन महिनाका लागि पर्याप्त खाद्यान्न छ भनेर सार्वजनिक गरेपनि थोक व्यापारीले एकलौटी मूल्य बढाउँदा खुद्रा मूल्य थप बृद्धि हुने उनले जानकारी दिए । उनका अनुसार, थोक व्यापारीले दाल र गेडागुडीको मूल्य अस्वभाविक रुपमा बढाएका छन् ।
 
मूल्यमा यसरी चलखेल ?
सरकारले थोक बिक्रेताको विलविजक नहेर्दा मूल्य जथाभाबी बढेको खुद्रा व्यापारीहरुको आरोप त । ‘विल हेर्ने वितिकै मूल्यको वास्तविकता पत्ता लाग्छ । थोक व्यापारीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ,’ बज्राचार्यले भने ।
 
नेपालमा खाद्यान्न थोक ब्यापारमा ठूलो घरानाहरु संलग्न छन् । उनीहरुले आयात गरेर खुद्र बजारसम्म खाद्यान्न पुर्याउँछन् । 
 
हुलास अर्गनाइजेसन, केएल दुगड, पुजा दाल मिल, वंशल एन्ड बद्रर्श मख्न दाल मिल, तेज एन्ड करन लगायत खाद्यान्नको थोक बिक्रेता हुन् ।
 
खुद्रा बिक्रेताका अनुसार भूकम्पपछि थोक बिक्रेताले खुद्रा व्यापारीसँग खरीद गरिएका खाद्यान्नको छुट्छुट्टै विलिङ गर्न थालेका छन् । मूल्य बढाएको विलिङ हुँदैन । 
 
‘मूल्य बढेको खाद्यान्नको प्यान बिलसमेत दिँदैनन्,’ नयाँबजारका एक बिक्रेताले भने, ‘बिल नदिएपछि कसरी ल्याएर बिक्री गर्नु ? सरकारी अनुगमनले समात्ने मात्रै डर हुन्छ ।’ 
 
उनका अनुसार, प्यान बिल कम मूल्यमा बन्छ, बाँकी रकम छुट्टै दिनुपर्ने अवस्था छ । ‘अहिले थोक बिक्रेतालाई बिलमा उल्लेख भए बराबरको रकम बैंकको चेक र विलवाहेकको रकम नगदै भुक्तानी गर्नु परिरहेको छ,’ उनले भने । 
 
थोकवालाको तर्कै अर्को
थोक विक्रेता भने आयात गर्दा खाद्यान्न महँगो भएर आएकाले मूल्य बढाउनु परेको बताउँछन् । वंशल एन्ड बद्रर्शका संचालक ओमप्रकाश बंशलले खाद्यान्न आयात गर्ने मुलुकहरुमा वर्षातका कारण उत्पादन कम भएकाले मूल्य बढेको बताउँछन् । 
 
‘फेबुअरीमा पानी गर्दा भारत र अष्ट्रेलियामा खाद्यान्न उत्पादन कम भयो । यसले मूल्यमा चाप परेको हो,’ उनले भने, ‘उत्पादन नष्ट भएपछि भारतमै महँगो भएको छ ।’ 
 
उनले राहत सामाग्री वितरण गर्दा मौज्दातमा रहेको खाद्यान्न सकिएको बताउँदै आयात गरेको खाद्यान्नको भाउ बढेर आएकाले मूल्य महँगो भएको दावी गरे । 
 
‘अहिले खाद्यान्नको माग १० गुणाले बढ्यो । राहतमा चामल, दाल लगायतका सामाग्री बिक्री हुँदा सबै मौज्दात सकियो,’ वंशलले भने, ‘यस्तो बेलामा बढी मूल्य लियो भनेर हामीलाई बदनाम गर्न खोजिएको छ ।’ 
 
आयात न्यून
भन्सार विभागका अनुसार भूकम्पपछि व्यवसायिक वस्तुहरु एकदमै कम मात्रामा आयात भएको छ । 
 
‘भूकम्पपछि राहतको सामाग्री बढी आएका छन् । व्यवसायिक वस्तु कम आएका छन्,’ विभागका महानिर्देशक शिशिर ढुंगानाले बिजमान्डूसँग भने, ‘दाल र गेडागुडी लगायतका वस्तुको पनि आयात खासै भएको छैन ।’ उनका अनुसार, व्यवसायिक वस्तुको माग कम भएकाले आयात कम भएको छ । 
 
आयात बढी हुने बीरगञ्जबाट व्यवसायिक कारोबारका सामान कम आएका छन् । अरु नाकाबाट पनि सामान आएको छैन ।
 
अनुगमन थोकमा
थोक विक्रेताको तर्कलाई सरकारी तथ्यांकले पुष्टी गर्दैन । खुद्रा ब्यापारीहरु पनि भुकम्पछि खाद्यान्न आयात खासै नभएको बताउँछन् । 
 
‘थोक बिक्रेताले भारतमै महँगो भएकोले यहाँ बढाउनुपरेको दावी गरेपनि भूकम्पपछि भारतबाट खासै खाद्यान्न आएको छैन,’ बज्राचार्यले भने, ‘विपतको बेलामा मूल्य बढाएर अधिक नाफा गर्न खोजिएको मात्र हो । 
 
सरकारले खाद्यान्न आयात गर्ने र थोक बिक्रेताको अनुगमन नगर्दा मूल्यवृद्धिको मार खेप्नुपरेको उनी बताउँछन् । 
 
‘वाणिज्य विभागको अनुगमन सँधै किराना पसलमा हुन्छ । जहाँ रोग छ त्यहाँ उपचार नगरी अन्यत्रै उपचार गरेपछि कसरी निको हुन्छ ?’ बज्राचार्यले भने, ‘सरकारले थोक बिक्रेताको विल विजक मात्र हेरे पनि मूल्यवृद्धि रोकिन्छ ।’