भुकम्पपछि आशाको किरणः मेरियट होटलमा आइएफसी, एफएमओ सहितको १२२ करोड लगानी

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
भुकम्पपछि आशाको किरणः मेरियट होटलमा आइएफसी, एफएमओ सहितको १२२ करोड लगानी

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपालको एमएस ग्रुपले निर्माण गरिरहेको तीन तारे होटलमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पनि लगानी गर्ने भएको छ । आइएफसीले नेदरल्यान्डको अर्को एक संस्थाबाट पनि थप लगानी जुटाइ दिने टुङ्गो लागेको छ ।

 
एक अर्ब २२ करोड ४० लाख रुपैयाँमा निर्माण हुने होटलका लागि ३० लाख डलर (आजको विनिमय दर अनुसार ३० करोड ६० लाख रुपैयाँ) आइएफसीले र त्यतिनै रकम नेदरल्यान्डको डच डेभलपमेन्ट बैंकले लगानी गर्ने छ । डच कम्पनीले विदेशका धेरै मुलुकमा पुँजी तथा प्रविधि उपलब्ध गराउँदै आएको छ ।
 
भुकम्प गएपछि ठूलो वैदेशिक लगानी सम्झौता भएको यो पहिलो पटक हो । भुकम्पले गर्दा पर्यटन क्षेत्र प्रभावित हुने बताइरहँदा एक अर्ब २२ करोड लागतको तीन तारे होटल निर्माणका लागि लगानी सम्झौता भएको हो ।
 
अन्तर्राष्ट्रिय मेरियट होटलको चेनका रुपमा ठमेलमा निर्माणाधिन होटलमा लगानी गर्न आइएफसीले सहमति गरेको हो । नेपालमा बनिरहेको मेरियट होटल अमेरिकाको मेरिल्यान्डमा रहेको मेरियट इन्टरनेशनल होटलको चेन हो । 
 
बिहीबार एमएस समूहका निर्देशक तथा होटलका प्रबन्ध निर्देशक गौरव अग्रवाल र आइएफसीका नेपाल प्रमुख भ्यालेन्टिनो भगतसिंहले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।


 
आगामी दसैंबाट सञ्चालन गर्ने योजना साथ निर्माण भइरहेको होटल भुकम्पका कारण सञ्चालन मिति पछि सरेको छ । समूहले २०१६ को जनवरीसम्म होटल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
 
‘एक अर्ब २२ करोडमध्ये आधा लगानी हाम्रो आफ्नै हुने छ,’ समूहका प्रबन्ध निर्देशक शशीकान्त अग्रवालले बिजमाण्डूसँग भने, ‘जनवरीबाट ठमेलमा अन्तर्राष्ट्रि चेनको पहिलो विजिनेस होटल सञ्चालनमा आउने छ ।’
 
उनले ठमेलमा अहिलेसम्म अन्तर्राष्ट्रिय ब्रन्ड र ठूलो पुर्वाधारको होटल नभएको अवस्थामा मेरियट होटल सञ्चालनमा आएपछि गुणस्तरीय पर्यटकहरु ठमेलमै रात विताउन सक्ने वातावरण बन्ने जानकारी दिए ।
 
 
‘मेरियट तीन तारे होटल भएपनि यसमा पाँच तारे होटल बराबरको सुविधा हुने छ,’ अग्रवालले भने, ‘भुकम्पले गर्दा निर्माण केही प्रभावित भएपनि केही समयपछि नै बाँकी काम सुरु गर्ने छौं ।’ भुकम्पपछि काम गर्ने मान्छे नभएर निर्माण रोकिएको जानकारी दिँदै सम्भवत आइतबारबाट काम सुचारु हुने उनले जानकारी दिए । 
 
मेरियट होटलको संरचना तयार भइसकेको छ । फिनिसिङको काम ४० प्रतिशत भइसकेको छ । बाँकी काम आइबारबाट सुरु भएर चाँडै सकिने उनले बताए । ‘२०१६ को जनवरीबाट होटल सञ्चालनमै ल्याउन लक्ष्य छ,’ उनले भने । 
 
तीन तारे मेरियट होटल १२ तले हुने छ । होटलमा ११० वटा कोठा हुने छन् । विजिनेस होटलको उद्देश्य गुणस्त पर्यटक भित्राउने हुने अग्रवालले जानकारी दिए ।
 
एमएस समूहले राजधानीको नक्शालमा पनि पाँच तारे होटल निर्माणको काम धमाधम गरिरहेको छ । मेरियटकै चेनको पाँच तारे होटल दुई बर्षभित्र निर्माण हुने छ ।