निगमका महाप्रबन्धकमा सुगतरत्न कंसाकार नियुक्त, शेर्पा मन्त्री भएपछि पहिलो नियुक्ति

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
निगमका महाप्रबन्धकमा सुगतरत्न कंसाकार नियुक्त, शेर्पा मन्त्री भएपछि पहिलो नियुक्ति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको छ । निगमको कार्यकारी अध्यक्ष एवं महाप्रबन्धकका रुपमा काम गरिसकेका कंसाकारलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले फेरि महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।

Tata
GBIME
Nepal Life

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका मदन खरेलले गएको चैतमा राजिनामा दिएपछि निगम साढे दुई महिनादेखि नेतृत्वविहीन रहेको थियो । नवनियुक्त पर्यटनमन्त्री कृपाशुर शेर्पाले आफू मन्त्री भएपछिको पहिलो मन्त्रिपरिषद बैठकबाट निगमलाई नेतृत्व दिएका छन् ।

'सरकारले एकपटक फेरि मलाई जिम्मेवारी दिएको छ,' नवनियुक्त महाप्रबन्धक कंसाकारले भने, 'पत्र आइसकेको छैन, यसबारे विस्तृतमा पछि कुरा गरौंला ।' कंसाकारले यसअघि निगममा दुई वर्ष कार्यकारी अध्यक्ष तथा ६ महिना महाप्रबन्धकका रुपमा काम गरिसकेका छन् ।

कंसाकारलाई २०६८ साल असार १६ गते अध्यक्षबाट अवकाश दिइएको थियो । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव डा गणेशराज जोशीले कंसाकारलाई अवकास पत्र थमाएका थिए ।

कंसाकार कार्यकारी अध्यक्ष हुँदा निगमले एउटा वाइड बडी र एउटा न्यारो बडी विमान ल्याउने निर्णय गरेको थियो। त्यही निर्णयको आधारमा निगमले केही महिनाअघि दुईवटा न्यारोबडी विमान ल्याएको हो । त्यस विषयमा तत्कालिन महाप्रबन्धक केवी रानासँग विवाद भएएपछि त्यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो। पछि भने उनले विशेष अदालतबाट सफाइ पनि पाए ।

कंसाकारलाई तत्कालीन पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले पनि व्यक्तिगत रुपमा नै भेटेर महाप्रबन्धक बन्न प्रस्ताव गरेपनि उनले त्यसलाई अस्वीकार गरेका थिए । स्रोतका अनुसार कंसारकारले आफू कार्यकारी प्रमुख हुने भन्दै महाप्रबन्धक बन्न अस्वीकार गरेका थिए ।

खरेलले राजिनामा दिएपछि निगममा कार्यरत नेपाली कांग्रेस निकट कर्मचारी युनियनबाहेकले कंसाकारलाई फेरि निगममै फर्कन आग्रह गरेका थिए । निगम महाप्रबन्धकको कार्यावधि चार वर्षको हुनेछ । 

यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजीव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । गौतम यसअघि प्राधिकरणका नायव महाप्रबन्धक थिए । पर्यटन बोर्ड भ्रष्टाचार काण्डमा अख्तियारले मुद्दा दायर गरेपछि तत्कालीन महानिर्देशक रतिशचन्द्र लाल सुमन निलम्बनमा परेका थिए । लाल निलम्बनमा परेपछि प्राधिकरणको महानिर्देशक पद खाली थियो ।