दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीलाई टेन्ट, भूकम्पले संघको भवन पनि ध्वस्त

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
मनोजकुमार श्रेष्ठ\बिजमान्डू
दाेलखा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीका लागि टेन्ट हस्तान्तरण गरेका छन् । भूकम्पले संघका सबैजसो पदाधिकारीको घर भत्किएका छन् । वैद्यले १५ वटा ठूलो र ६ वटा सानो टेन्ट वितरण गरेका हुन् ।

‘संघका सबैजसो सदस्यको घर भत्किएको छ । घर भत्किएपछि हामी विद्यालयको आश्रयमा बस्दै आएका थियौ,’ संघका अध्यक्ष रामेश्वर मानन्धरले बिजमान्डूसँग भने, ‘यही जेठ १७ गतेदेखि विद्यालय खुल्ने भएकोले टेन्ट आवश्यक थियो । उहाँहरुले हामीलाई आवश्यक टेन्ट दिनुभएको छ ।’ हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष वैद्यले महासंघले प्रभावित प्रत्येक जिल्लामा एउटा विद्यालय भवन निर्माण गर्ने जानकारी दिए ।

Tata
GBIME
Nepal Life

‘प्रभावित जिल्लामा एउटा विद्यालय निर्माण गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘विपतको बेलामा सहयोगका लागि महासंघ जुटिरहेको छ ।’ वैद्यले दोलखा उद्योग वाणिज्य संघको भवन निर्माणका लागि दुई लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । भूकम्पले संघको भवन समेत बस्न नहुने गरी भत्किएको छ ।