सिएनआईले भूकम्प पीडितका लागि एक लाख घर बनाउने, गोल्छा समूहले पनि एक हजार घर बनाउँदै

बिजमाण्डू
२०७२ जेठ १५ गते ००:०० | May 29, 2015
काठमाडौं । नेपाल उद्योग परिसंघ, ह्याविट्याट फर ह्युमानिटी र जिमी रोसलिन कार्टर कार्ययोजनाले भूकम्पबाट  प्रभावितका लागि एक लाख घर निर्माण गर्ने भएको छ ।

घर निर्माण सम्वन्धी अभियानको सहमतिपत्रमा विहिवार हस्ताक्षर समेत भएको छ । परिसंघका अनुसार एक लाख घरको अभियानलाई अर्को वर्षभित्रै सम्पन्न गरिनेछ । अभियान अन्तर्गत स्तरीय आवास निर्माण गरिने र  स्थानिय वस्तुको उपयोगमा जोड दिइने  परिसंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life

परिसंघले कम लागतमा घर निर्माण गरिने जनाएको छ । परिसंघका अनुसार अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर र उनकी श्रीमती रोसलीन कार्टरले नोभेम्बरमा औपचारिक शुभारम्भ गर्नेछन् ।सम्झौतामा परिसंघका अध्यक्ष नरेन्द्रकुमार वस्न्यातको उपस्थितिमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाल र ह्याबीट्याट फर ह्युमनिटी इन्टरनेशनलका तर्फबाट एसिया प्यासिफिक अफिस बैंकका भाइस प्रेसिडेन्ट  रिक हाथवेले हस्ताक्षर गरे । कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा उपाध्यक्षहरु सतिश मोर, मनोज केडिया र मह जोडीका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति थियो ।

यस्तै गोल्छा अर्गनाइजेसनले समेत ह्याविट्याट फर ह्युम्यानिटीको सहकार्यमा एक हजार घर बनाउने भएको छ । आश्रय नाम दिएर सुरु गरेको यो योजनामा भूकम्पबाट घर गुमाएका लागि कम मूल्यमा बसोबास गर्न सकिने उचित घर बनाउने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अभियानका लागि गो अटोमोबाइल्स र हसंराज हुलासचन्द एन्ड कम्पनीले १ करोड २८ लाख ६ हजार २ सय ५० रुपैयाँ दिनेछ । समूहले  पाइलट प्रोजेक्ट अन्तर्गत काभ्रेको पिपलटार गाविसमा एक सय दिनमा एक सय घर बनाउने दावी गरेको छ ।यो अभियानको सम्झौंतापत्रमा ह्याविट्याट नेपालका निर्देशक एल्मुडेना वार्टेयर्स, एसिया प्यासिफिक उपाध्यक्ष रिक हाथवे, हुलासचन्द एन्ड कम्पनीका शेखर गोल्छा र गो अटोमोबाइल्सका आकाश गोल्छाले हस्ताक्षर गरे ।