बुटवल पावर कम्पनीबाट विद्युत उत्पादन सुरु, विद्युत् आपूर्तिको प्राविधिक समस्या समाधान

बिजमाण्डू
२०७२ जेठ १६ गते ००:०० | May 30, 2015

प्यूठान । बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो ।

विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम क्षेत्रमा आपूर्ति गर्दै आएको १३२ केभी विद्युत् प्रसारण लाइनमा समस्या हुँदा झन्डै एक सातासम्म प्यूठान, रोल्पा, अर्घाखाँचीसँगै यस क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको र विद्युत् आपूर्तिमा केही सुधार भएपछि उत्पादन सुरु गरेको वितरण प्रमुख श्याम थापाले बताए ।

'विद्युत् प्राधिकरणले यस क्षेत्रको विद्युत् आपूर्तिमा प्राविधिक समस्यासहित भूकम्प प्रभावित जिल्लामा थप विद्युत् पठाएकाले समस्या आएको थियो' प्राधिकरण बिजुवार शाखाका निमित्त प्रमुख प्रकाश केसीले भने, 'प्राधिकरणको प्राविधिक समस्या समाधान भयो । विपिसीले पनि विद्युत् उत्पादन सुरु गरेको छ । अब विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ ।'

गर्मी मौसम सुरु भएसँगै विद्युत् धेरै खपत हुने गरेको र विद्युत्को उत्पादनदर पनि घट्दै गएकाले विद्युत्को आवश्यकताअनुसार पूर्ति गर्नसक्ने अवस्थामा अहिले आफूहरु नभएको समेत वितरण शाखा प्रमुख थापाले बताए । रासस