भुकम्पपछि सिल्भर ट्रयांगलमा पर्यटन प्रवद्र्धन, सौराहा, पोखरा र लुम्बिनीमा हजारमै कोठा

बिजमाण्डू
२०७२ जेठ १६ गते ००:०० | May 30, 2015

काठमाडौं । पर्यटन पुर्नउत्थानका लागि क्षेत्रीय स्तरका होटल व्यवसायीले एकीकृत प्रवद्र्धनका कार्यक्रमसहित छुट योजना ल्याउन थालेका छन् । 
भूकम्पपछि पर्यटकीय गन्तब्य क्षेत्र सौराहा, पोखरा र लुम्बिनीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट योजनासहित ‘सिल्भर ट्रयांगल’ अवधारणालाई अघि सारेका हुन् । भूकम्पपछिको परकम्पका कारण काठमाडौंमा भने होटलहरुले कुनै योजना ल्याउन सकेका छैनन् ।

Tata
GBIME
Nepal Life

पर्यटन प्रवद्र्धनका लागि पश्चिमाञ्चल होटल संघ पोखरा, क्षेत्रीय होटल संघ नेपाल चितवन र सिद्धार्थ होटल संघले यो अवधारणा ल्याएर भारत र चीनमा पर्यटन प्रवद्र्धन सुरु गरिसकेका छन् ।

‘भूकम्पपछि पर्यटन क्षेत्र संकटमा परेको छ । यो पुर्नउत्थानका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने अवस्था आएको छ,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बिजमान्डूसँग भने, ‘ सिल्भर ट्रयांगल अवधारणामा भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्न जाँदैछौ ।’ पहिलो चरणमा भारतीय पत्रकारलाई यो क्षेत्रको भ्रमण(फार्म ट्रीप’का लागि आमन्त्रण गरिएको उनले बताए ।

‘हामीले पहिलो प्राथमिकता भारतलाई राखेका छौ । नेपालसँग जोडिएका सीमा क्षेत्रलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन गर्दैछौ,’ उनले भने, ‘भारतीय पत्रकार आएर समाचार सम्प्रेषण गरेपछि त्यहाँका पर्यटक आउने वातावरण बन्छ । कतिपयलाई नेपालनै असुरक्षित जस्तो लागिरहेको छ । तर पर्यटकीय गन्तब्यहरु सुरक्षित रहेको सन्देश पनि दिन आवश्यक छ ।’

भारतबाट ड्राइभ गरेर आउनसक्ने क्षेत्रलाई लक्षित गरेर पर्यटन प्रर्वद्धनको कार्यक्रम ल्याउँदा तत्कालै प्रभाव पर्ने उनले बताए ।

‘भारतसँग जोडिएका क्षेत्रमा पर्यटन प्रवद्र्धनको कार्यक्रम ल्याउँदैछौ । यो कार्यक्रमले तत्कालै हाम्रो गन्तब्यमा प्रभाव पार्छ,’ पराजुलीले भने, ‘यसले हामीलाई रिभाइभको मौका दिन्छ ।’ तीनवटै संघ मिलेर अगस्टमा चीनका ६ वटा शहरमा प्रवद्र्धनको कार्यक्रम गर्न लागेका छन् ।

‘चिनियाँ पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउँदैछौ । अहिले डीभीडी तयार गरेका छौ,’ उनले भने, ‘जुन १२ तारिखमा कुन्मिङमा हुने एक्स्पोमा हाम्रो एक सदस्य गएर प्रिजेन्टेशन गर्ने कार्यक्रम समेत छ ।’

पराजुलीका अनुसार तीनवटै संघले आन्तरिक पर्यटकका लागि ५० प्रतिशत छुट योजना ल्याइसकेको छ ।
‘पोखरा, सौराहा र लुम्बिनीका सबै होटलको रुममा ५० प्रतिशत छुट योजना कार्यान्वयनमा आइसकेको छ,’ उनले भने, ‘यसले आन्तरिक पर्यटकलाई आर्कषित गर्छ । पोखरामा यो योजनाले काम गर्न थालिसकेको छ । आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ ।’

पोखरा घुम्न जाने पर्यटकले राम्रा होटल एक हजार रुपैयाँसम्म पाउनेछन् । ‘अहिले पोखरा घुम्न आउने पर्यटकले एक हजार रुपैयाँमा राम्रा होटलमा बस्न पाउनेछन् । महँगा होटलमा समेत तीन हजार रुपैयाँमै कोठा पाउने अवस्था आएको छ,’ उनले भने, ‘यो समय भनेको बाँच्नु ठूलो कुरा हो ।’

लेकसाइडमा रहेको क्राउन हिमालयज होटलले दुई हजारमा रुम उपलब्ध गराएको छ । भूकम्पअघि यो होटलको रुमको मूल्य ४ हजार रुपैयाँ थियो । ‘संघको निर्णय अनुसार हामीले रुममा पचास प्रतिशत छुट दिएका छौ,’ होटलका निर्देशक आग्रह अर्यालले भने, ‘योजनापछि आन्तरिक पर्यटक होटलमा आउन थालेका छन् ।’

भूकम्पपछि चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको पर्यटकीय स्थल सौराहाका होटलले समेत रुम मूल्यमा पचास प्रतिशत कटौती गरेका छन् ।

‘भूकम्पपछि सौराहामा पर्यटक छैनन् । आन्तरिक पर्यटक आर्कषित गर्न सौराहाका सबै होटलले ५० प्रतिशत छुट योजना ल्याएका छन्,’ क्षेत्रीय होटल संघ नेपाल चितवनका प्रथम उपाध्यक्ष सुमन घिमिरेले भने, ‘सुरक्षित सौराहामा पर्यटकलाई स्वागत गर्न हामी आतुर छौ ।’ उनले  ‘सिल्भर ट्रयांगल’ गन्तब्यको अबधारणालाई अघि बढाउन जुटिरहेको जानकारी दिए ।

सौराहामा १ सय १० होटल छन् । सौराहामा पछिल्लो समयमा अफसिजनमा समेत पर्यटकको कमी थिएन । सौराहाले मात्रै दैनिक एक करोडको हाराहारीमा कारोबार हुने गथ्र्यो । पर्यटक आउन छाडेपछि सौराहाका अधिकांश होटलले आफ्ना कामदारलाई विदा दिन थालेका छन् ।

सौराहाका होटलमा प्रत्यक्ष रुपमा १ हजार ५ सय कर्मचारी कार्यरत छन् ।  घिमिरेका अनुसार धेरै होटलले आधा तलब दिएर कर्मचारीलाई विदा दिएका छन् । होटल संघ नेपाल भने पर्यटन पुर्नउत्थान कार्यक्रम बनाउने तयारीमा जुटेको जनाएको छ ।

‘काठमाडौंमा अहिले कुनै योजना ल्याएका छैनौ । भूकम्पपछिको परकम्पहरुले छुट योजना केही नल्याएका हौ,’ संघका महासचिव विनायक शाहले भने, ‘हामी सरकारले तयार पारिरहेको रिकभरी योजनामा नजिक रहेर काम गरिरहेका छौ ।’