दातृ निकायसँग अनुदान सहयोग माग्दै सरकार, वाह्य सहयोगका आधारमा बजेटको आकार तय हुने

बिजमाण्डू
२०७२ जेठ १६ गते ००:०० | May 30, 2015
दातृ निकायसँग अनुदान सहयोग माग्दै सरकार, वाह्य सहयोगका आधारमा बजेटको आकार तय हुने

काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्षमा  भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाउने बताउनुभएको छ ।

Tata
GBIME
Nepal Life

शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, 'आधुनिक बसोबासका लागि हिजोभन्दा अझ राम्रो अवसर हो, यस अवसरलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ ।'

अर्थमन्त्री डा महतले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नका लागि सरकारले उपलब्ध गराएको नक्साअनुसार घर तथा भवन निर्माण गर्न र त्यसका लागि सरकारले उपलब्ध गराउने  दुई लाख  रुपैयाँको लिन पनि आग्रह गरे ।

पुनःनिर्माणका लागि सरकारलाई ठूलो रकम आवश्यक भएकाले आन्तरिक तथा बाह्य सहयोग जुटाउने तयारी गरेको उल्लेख गर्दै उक्त सहयोगका आधारमा आगामी आर्थिक वर्षको बजेट तय गरिने जानकारी पनि उनले दिए ।

आगामी असार १० गते सरकारले दातृ निकायहरुको सम्मेलन गरेर पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा महतले भने, 'विश्वसनीय कार्यक्रम तयार गरेर अगाडि बढाउन सकियो भने दातृ निकायको राम्रो सहयोग प्राप्त हुन्छ, त्यसलाई सही सदुपयोग गरेर पुनःनिर्माण कार्य अगाडि बढ्छ ।'

द्विपक्षीय दातृ निकायसँग अनुदान सहयोगमा जोड दिने र बहुपक्षीय दातासँग भने सहुलियत पूर्ण ऋण लिने सरकारको योजना रहेको स्पष्ट उनले स्पष्ट पारेका छन् ।

यस अघि तय गरिएको सात खर्ब ३५ अर्बबराबरको बजेटको आकार बढ्ने जानकारी दिँदै अर्थमन्त्री डा महतले पुराना योजनालाई निरन्तरता दिने तर धेरै नयाँ योजना भने नल्याउने बताए ।

पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राख्ने जानकारी उनले दिए । राष्ट्रिय सरकारको सन्दर्भमा अर्थमन्त्री डा महतले संविधान जारी नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै सरकार रहने स्पष्ट पारे ।