अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार अन्त्य गर्न आगामी असोजमा ‘एभरेष्ट म्याराथन’

बिजमाण्डू
२०७२ जेठ १६ गते ००:०० | May 30, 2015
अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार अन्त्य गर्न आगामी असोजमा ‘एभरेष्ट म्याराथन’

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन र नेपालप्रतिको नकारात्मक प्रचार अन्त्य गर्ने उद्देश्यले आगामी असोजमा एभरेष्ट म्याराथन कार्यक्रमको आयोजना गरिने भएको छ। 

Tata
GBIME
Nepal Life

हालैको विनाशकारी भूकम्पको कारणले मुलुक पर्न आएको दुःखमा साथ दिन मे २९ मा आयोजना हुनुपर्ने एभरेष्ट म्याराथन कार्यक्रम स्थगित गरी आगामी असोज १८ मा गर्न लागिएको हिमालयन एक्सपिडेसन्सले जनाएको छ। 

फोटो : एभरेष्ट म्याराथन डट कम

फोटो : एभरेष्ट म्याराथन डट कम

विगत १२ वर्षदेखि नेपाललाई विश्वकै एक सर्वोत्कृष्ट पर्यटन गन्तब्य स्थलको रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन आयोजक समितिले एभरेष्ट म्याराथनको आयोजना गर्दै आएको थियो। 

सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा सर्वोच्च शिखर सगरमाथा चुम्न सफल भएको दिनको स्मरणमा आयोजना हुँदै आएको म्याराथन भूकम्पकै कारण स्थगित भएको थियो। सगरमाथा आरोहण गर्न गएका कतिपयको भूकम्पमा परि ज्यान समेत गएको थियो। 'मुलुक गहिरो पीडामा भएकाले स्थगित गरेका थियौँ अब असोजमा हामी गर्छौँ' एक्सपिडेसन्सका अध्यक्ष विक्रम पाण्डेले बताए।

हिमपहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्का कारण करिब एक वर्षदेखि खुम्बु क्षेत्रमा पर्यटकीय गतिविधि कम हुँदा पर्यटन क्षेत्रले समस्या भोग्नु परेको बेला यसलाई पुनर्जीवन दिन यसखालका अभियान प्रभावकारी हुने पाण्डले बताए। रासस