जीवन बीमाको पुँजी पाँच अर्ब र निर्जीवनको चार अर्ब पुर्‍याइने, बीमा ऐनको मस्यौदा अन्तिम चरणमा



बिजमाण्डू
२०७२ असार ७ गते ००:०० | Jun 22, 2015
जीवन बीमाको पुँजी पाँच अर्ब र निर्जीवनको चार अर्ब पुर्‍याइने, बीमा ऐनको मस्यौदा अन्तिम चरणमा
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चार अर्ब रुपैयाँ पुर्‍याइने भएको छ । बीमा समितिले बीमा ऐनको मस्यौदामा फेरि संशोधन गर्दै बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने गृहकार्य थालेको हो ।

Tata
GBIME
Nepal Life

६ वर्षअघि नै तयार भएको बीमा ऐनको मस्यौदामा संशोधन गर्दै बीमा समितिले चुक्ता पुँजी बढाउन लागेको बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बिजमाण्डूलाई बताए ।
 

हामीले ऐनको ड्राफ्टमा नै संशोधन गरी चुक्ता पुँजी बढाउने प्रस्ताव गर्न लागेका छौं । बीमा कम्पनीको क्षमता बढाउने कुरा भइरहेको छ, त्यसको एउटा पाटो पुँजी भएकाले त्यसलाई बढाउनुपर्छ भनेर हामी लागिरहेका छौं ।
'बीमको चुक्ता पुँजी बढाउने कुरा पहिले पनि भएको हो,' केसीले भने, 'हामीले ऐनको ड्राफ्टमा नै संशोधन गरी चुक्ता पुँजी बढाउने प्रस्ताव गर्न लागेका छौं ।'

बीमा कम्पनीको पुँजीको अनुपातमा धेरै जोखिम बहन गर्नुपर्ने भएकाले समितिले एकैपटक ठुलो अनुपातमा पुँजी वृद्धिको योजना अगाडि बढाउन लागेको हो । वैशाख १२ को भूकम्प तथा त्यसपछिका परकम्पका कारण भएको क्षतिको बीमा दावी मात्रै निर्जीवन बीमा कम्पनीको कूल पुँजी तथा उनीहरुसँग भएको जगेडा कोष भन्दा चार अर्ब धेरै परेको छ ।

'बीमा कम्पनीको क्षमता बढाउने कुरा भइरहेको छ, त्यसको एउटा पाटो पुँजी भएकाले त्यसलाई बढाउनुपर्छ भनेर हामी लागिरहेका छौं,' केसीले भने, 'भूकम्पपछि यो कुरा अझ धेरै उठ्यो र हामीले पनि अब यसलाई अगाडि बढाउनुपर्छ भनेर लागिरहेका छौं ।' जोखिम धेरै बढेकाले अबको विकल्प पुँजी वृद्धिनै भएको ठहर बीमा समितिले गरेको छ ।

यसअघि प्रस्तावित बीमा ऐनमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन कम्पनीको एक अर्ब रुपैयाँ बनाउनु पर्ने उल्लेख थियो । 

चुक्ता पुँजी बढाउने विषयमा बीमा कम्पनीका सिइओ तथा संचालक, सर्भेयरलगायतका सरोकारवालासँग छलफल गरिसकेको र सुझाव मागिएको केसीले बताए । 'बीमा समितिले उहाँहरुसँग छलफल गरी सुझाव मागेको छ,' केसीले भने, 'अब सबै सरोकारवालाको सुझाव हेरेर अन्तिम निर्णय गरिने छ ।'

बीमा कम्पनीको चुक्ता पुँजी थोरै भएपनि यसले धेरै जोखिम बहन गर्नुपर्ने भन्दै पुँजी वृद्धिका लागि बीमा समितिमा दबाब बढेपछि समितिले एकै पटक ठुलो अन्‍तरमा पुँजी बढाउन लागेको हो । अहिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५० करोड र निर्जीवन कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । बीमा समितिको योजान अनुसार पुँजी वृद्धिको निर्णय भए जीवन बीमा कम्पनीको पुँजी १० गुणाले र निर्जीवन बीमा कम्पनीको पुँजी १६ गुणाले बढ्नेछ ।

बीमा समितिले यसअघि नै चुक्ता पुँजी बढाउने योजना बनाएको भएपनि भूकम्प गएपछि भने यसलाई तीव्रता दिएको छ । ६ वर्ष अघि नै समितिले बीमा ऐनको मस्यौदा मन्‍त्रिपरिषदमा पठाएको भएपनि त्यो ऐन संसदसम्म पुगेको थिएन ।

पुँजी वृद्धिको तीनवटा विकल्प
बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बीमा कम्पनीसँग पुँजी वृद्धिका लागि तीनवटा विकल्प रहेको बताएका छन् । 'बीमा कम्पनीले पुँजी बढाउने हो भने बोनस सेयर दिएर, राइट सेयर इस्यू गरेर तथा मर्जर वा एक्विजिसन गरेर पुँजी बढाउन सक्छन्,' केसीले भने ।

बीमा समितिले अहिले नयाँ ऐनको मस्यौदा निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको केसीले जानकारी दिए । उनले बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्‍याउन समय पाउने भन्दै सबै कुरा ऐनमा नै उल्लेख हुने बताए ।