प्रत्येक हुन्डाई गाडीको बिक्रीबाट पुनर्निर्माणमा एक लाख, स्कुल र स्वास्थ्य चौकी बनाउन सघाउने

बिजमाण्डू
२०७२ असार ७ गते ००:०० | Jun 22, 2015
प्रत्येक हुन्डाई गाडीको बिक्रीबाट पुनर्निर्माणमा एक लाख, स्कुल र स्वास्थ्य चौकी बनाउन सघाउने
काठमाडौं । हुन्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल भूकम्पबाट क्षति भएको संरचना पुनर्निर्माणका लागि प्रत्येक गाडी बिक्रीबाट एक लाख रुपैयाँ छुट्याउने घोषणा गरेको छ । 

कम्पनीले ‘हुन्डाई इन्स्पिरेशन’ अभियानको घोषणा गर्दै डेढ महिनाको अवधिमा गाडी बिक्री वापत एक लाख रुपैयाँ छुटाउनेछ ।‘साउन १५ गतेसम्म हुन्डाईका कुनैपनि गाडी बिक्री वापत एक लाख रुपैयाँ पुनर्निर्माणमा छुट्याउने घोषणा गरेका छौ,’ कम्पनीका निर्देशक निराकार श्रेष्ठले बिजमान्डूसँग भने, ‘यहाँ जम्मा भएको रकम सरकारलाई दिने वा आफैले संरचना पुनर्निर्माण गर्ने निर्णय भएको छैन ।’ उनका अनुसार भूकम्प प्रभावित क्षेत्रको स्कुल, स्वास्थ्य चौकी पुनर्निर्माणमा खर्चिनेछ । 

Tata
GBIME
Nepal Life

कम्पनी आफैले सिन्धुपाल्चोकका ११ वटा स्कुल र स्वास्थ्य चौकी बनाउने निर्णय गरेको थियो । कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै सरभाइभर्स नामक गैरसरकारी संस्था स्थापना गरेर समेत राहत र पुनर्निर्माणमा काम थालिसकेको छ । 

भूकम्पपछि हुन्डाई मोटर प्रालि कोरियाले नेपाल रेडक्रसलाई तीन करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ । यस्तै कम्पनीले गाडी बिक्री प्रवद्र्धनको लागि हुन्डाई नवयात्राको सुरुवात गरेको छ । यो योजना अनुसार ग्राहकहरुले हुन्डाईको कुनैपनि गाडी खरीद गर्दा स्क्र्याच कार्ड पाउनेछन् । यो कार्डमार्फत २० हजारदेखि ७२ हजार रुपैयाँसम्म छुट पाउने उनले बताए । 


 

‘नयाँ वर्षको अवसरमा हामीले गाडी बिक्रीमा छुट योजना ल्याएका थियौ । भूकम्पपछि हामीले नवयात्रा योजना ल्याएका छौ,’ श्रेष्ठले भने, ‘भूकम्पपछि विस्तारै बिक्री बढ्न थालेको छ । यही बेलामा नयाँ योजना ल्याएका हौ ।’ 

काठमाडौं वाहिर गाडी बिक्री भूकम्पअघिकै अवस्थामा आइसकेको छ । कम्पनीले कुनैपनि ब्रान्डको गाडीसँग नयाँ हुन्डाई गाडी साट्न सकिने एक्सचेन्ज सुविधा समेत ल्याएको छ । हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ३ वर्ष निशुल्क सर्भिसिङ र चालु आर्थिक वर्षको सवारी कर र निुशल्क नाम सारी गर्दै आएको कम्पनीले जनाएको छ ।