अब सवारीसाधन हाँकेरै नेपाल भित्र्याउन पाइने, रक्सौल, जोगवनी, सुनौली र नेपालगन्जमा यो सुविधा

बिजमाण्डू
२०७२ असार ७ गते ००:०० | Jun 22, 2015

काठमाडौँ । भारतले तेस्रो मुलुकबाट आयात गरिएका सवारीसाधन हाँकेर नेपाल भित्र्याउने अनुमति दिएको छ ।
 
नेपाल–भारत पारवहन सन्धिअनुरुप यसअघि रेलवागन वा ट्रक तथा ट्रेलरमा राखेर मात्र ती सवारीसाधन नेपाल भित्रिने गरेकामा नेपाल सरकारको अनुरोधअनुसार भारतले ती सवारीसाधन चलाएर भित्र्याउने अनुमति दिएको हो ।
 
दुवै मुलुकले तेस्रो मुलुकबाट आयात हुने सवारीसाधनसम्बन्धी पारवहन सन्धिका प्रावधान संशोधन गरेका र सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाले अबदेखि रक्सौल–वीरगन्ज, जोगवनी–विराटनगर, सुनौली–भैरहवा र नेपालगन्ज रोड– नेपालगन्ज सीमा हुँदै सवारीसाधन नेपाल ल्याउने अनुमति दिइएको यहाँस्थित भारतीय राजदूतावासले सोमबार जनाएको छ ।
 
रेलवागन वा ट्रक तथा ट्रेलरमा राखेर मात्र सवारीसाधन आयात गर्नुपर्ने भारतीय कानुनी व्यवस्थाका कारण समय र लागत ज्यादै बढेको बताउँदै नेपाल सरकारले बारम्बार भारतसँग गरेको अनुरोध तथा गत वर्ष काठमाडौँमा भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको परिणामस्वरुप भारतले पुरानो पारवहन सन्धिमा संशोधन गरेको हो । रासस

Tata
GBIME
Nepal Life