भूकम्प र मलमाशले थला पर्‍यो सुन बजार, दैनिक १० किलो पनि भएन कारोबार, कालीगढ भारतमै

बिजमाण्डू
२०७२ असार १० गते ००:०० | Jun 25, 2015
भूकम्प र मलमाशले थला पर्‍यो सुन बजार, दैनिक १० किलो पनि भएन कारोबार, कालीगढ भारतमै


काठमाडौं । भूकम्प पछि थलिएको सुन बजारमा अहिलेसम्म पनि सुधार हुन सकेको छैन । सुन चाँदी व्यवसायीका अनुसार अहिले सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत पनि सुन कारोबार हुन सकेको छैन ।

Tata
GBIME
Nepal Life

'अहिले दैनिक पाँचदेखि १० किलो पनि सुन कारोबार भएको छैन,' व्यवसायी तेजरत्न शाक्यले भने, 'तराई क्षेत्रमा केही माग देखिए पनि उपत्यकामा शुन्यकै अवस्थामा छ ।' भक्तपुरमा हुने सुन कारोबार सबैभन्दा धेरै प्रभावित भएको उनले बताए ।

भूकम्प र असारमा मलमास परेकाले विवाहलगायतका शुभकार्य नहुने भएकाले सुन व्यापारमा सुधार नआएको उनले जानकारी दिए । 'भूकम्पले धेरै क्षति पुर्‍याएको थियो, त्‍यसमाथि पनि मलमाश परेको छ,' शाक्यले भने, 'यो वर्ष दशैंमा पनि व्यापार बढ्छ जस्तो छैन, मंसिरमा चाँही केही हुन्छ कि !'

काठमाडौं उपत्यका बाहिरका मुख्य शहरहरु विराटनगर, भैरहवा, वीरगंजलगायतका स्थानमा सुनको कारवोबारमा केही सुधार देखिएको शाक्यले बताए ।

अझै फर्किएनन् कालीगढ
नेपालमा सुन बनाउने मध्ये अधिकांश कालीगढ भारतका छन् । वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पका कारण उनीहरुमध्ये अधिकांश स्वेदश फर्किएका छन् । भारत गएका मध्ये २५ प्रतिशत पनि कामदार नेपाल नफर्किएको शाक्यले बताए ।

'धेरै कालीगढ पुराना घरमा बस्थे उनीहरुको घर चर्किएको र भत्किएको छ, त्यसैले नेपाल आएकाले पनि काम गर्न सकेका छैनन्,' शाक्यले भने । भूकम्पले क्षति नपुर्‍याएको घरमा बस्दै आएका कालीगढ पनि सातौं/आठौं तल्लामा बस्ने भएकाले उनीहरु पनि काम गर्न अवस्थामा नरहेको उनले जानकारी दिए ।

विहीबार सुन बुधबारकै भाउ अर्थात कोलाको ५१ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ ।