नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेका सेयरहरु विक्री गर्दै, राष्ट्र बैंकलाई योजना बुझायो

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
काठमाडौं । नेपाल बैंक लिमिटेडले पुँजी कोष अनुपात १० प्रतिशत पुर्याउनका लागि आफ्नो स्वामित्वमा रहेका अन्य सुचिकृत कम्पनीहरुको सेयर बिक्री गर्ने भएको छ । 
 
‘तत्कालै पुँजी अनुपात तोकिएको सीमाभित्र पुर्याउनु पर्ने दवाव छ,’ नेपाल बैंकका महाप्रबन्धक दुर्गाराज रेग्मीले बिजमाण्डूसँग भने, ‘पुँजी कोष पुर्याउनका लागि योजनाहरु बनिरहेका छन् तर ठोस योजना तयार भइसकेको छैन ।’

पुँजी कोष १० प्रतिशत पुर्याउन नेपाल  राष्ट्र बैंकले निरन्तर ताकेता गरेपछि नेपाल बैंकले स्वामित्वमा रहेका सेयरहरु बिक्री गर्ने तयारी गरेको हो । यसका लागि केन्द्रीय बैंकलाई जानकारी गराइसकिएको छ ।
 
‘हामीले निरन्तर पुँजी कोष पुर्याउन भनिरहेका छौं,’ केन्द्रीय बैंक बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ‘त्यसै अनुरुप नेपाल बैंकले सेयर बिक्री गर्ने प्रकृयामा गएको हो ।’
 
अहिले नेपाल बैंकको पुँजी कोष ४.५८ प्रतिशत छ । यसलार्य १० प्रतिशत पुरणउनु पर्ने छ । १० प्रतिशत पुर्याउनका लागि राष्ट्र बैंकले निरन्तर ताकेता गरेका कारण सेयर विक्री गर्न लागेको हो ।
 
६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष अझै पनि दुई अर्ब ७५ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको खराव कर्जा ४.४८ प्रतिशत छ । 
 
नेपाल बैंकले राष्ट्रिय बिमा संस्थान र नेपाल बिमा संस्थानको सेयरका साथै एनआइडिसी डेभलपमेन्ट बैंकको सेयर पनि बिक्री गर्न लागेको हो । साथै राष्ट्रिय ग्रामिण विकास बैंक, नागरिक लगानी कोष, आरएमडिसी, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटलको सेयर विक्री गर्न लागेको हो ।
 
‘सेयर विक्री गरेर पुँजी कोष पुर्याउने बारेमा नेपाल बैंकले प्रस्ताव पठाएको छ,’ केन्द्रीय बैंक नियमन विभाग प्रमुख मनमोहनकुमार श्रेष्ठले भने, ‘हामी हेरिरहेका छौं । सेयर विक्री गरेपछि पुँजी कोषमा सुधार आउने छ ।’
 
नेपाल बैंकसँग २२ वटा कम्पनीको सेयरहरु छन् । नेपाल बैंकले उपलब्ध गराएको २०७० असार मसान्तसम्मको विवरण अनुसार, राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीको गरी दुई लाख ५१ हजार ९१० कित्ता, एनआइडिसीको तीन हजार कित्ता, नागरिक लगानी कोषको एक लाख ९१ हजार नौं सय ७० कित्ता, नेपा इन्स्योरेन्सको ६ लाख ७१ हजार ४० कित्ता सेयर छ । यि कम्पनीहरुले गत बर्षको नाफाबाट केही वोनस सेयर दिएकाले सेयर संख्या अझ थपिएको छ ।
 
यसवाहेक अन्य सुचिकृत र सुचीकरण नभएका कम्पनीहरुमा पनि नेपाल बैंकको सेयर छ । बैंकले पुँजी कोष पुर्याउन सबै सेयर विक्री गर्ने जनाए पनि तत्काललाई सुचिकृत कम्पनीहरुको प्रकृया अगाडि वढाएको छ ।
 
नेपाल बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पति विक्री गर्ने योजना अनुसार अहिलेसम्म एक अर्बभन्दा केही बढी सम्पति विक्री गरेको छ । बाँकी सम्पति विक्री गर्न कठिन भइरहेको छ । बैंकले स्थिर सम्पति विक्री गर्न समय लाग्ने भएकाले तत्काल तरलता उपलब्ध हुने सेयरहरु विक्री गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life