नेपालको पहिलो ट्राभल एप ‘गो नेपाल होलिडे’ सार्वजनिक, विदेशी पर्यटकले अनलाईन बुकिङ गर्न सक्ने

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
काठमाडौं । पर्यटकीय गन्तब्यसहित नेपाल भ्रमण गर्न चाहने विदेशीलाई सहज बनाउन ‘गो नेपाल होलिडे’ मोबाइल एप संचालनमा आएको छ  । विदेशीहरुले मोबाइल एपमार्फत नेपालको पर्यटकीय गन्तब्यको बारेमा जानकारी र नेपाल घुम्नको लागि पहिल्यै बुकिङ समेत गर्न सक्नेछन् । पर्यटन व्यवसायमा दुई दशकदेखि संलग्न रहेको इन्सेन्टिभ होलिडेजले विहिवार एप सार्वजनिक गरेको छ । 

यो नेपालको पहिलो ट्राभल एप हो । विदेशमा ट्रिपएडभाइजर, वाईफाई फाईन्डर, हियर प्लानेट, वल्र्डमेट, होस्टल वल्र्ड, स्काई स्क्यानर, ट्राभल वल्र्ड प्रो, फ्लाईट ट्रयाक लगायतका हजारौ एप छन् । ‘भूकम्पले नेपालको पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेको छैन तर आर्थिक क्षति भने ठूलो भएको छ,’ कम्पनीका कार्यकारी निर्देशक हरिमान लामाले भने, ‘नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको पुनरुत्थान र यसको दिगो विकासका लागि सरकार र र निजी क्षेत्र दायित्व हो । यही उदेश्य लिएर मोबाइल एप सार्वजनिक गरेका हौ ।’
 
 एन्ड्रोइड र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोनबाट एप डाउनलोड गर्न सकिने उनले बताए । उनका अनुसार नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तब्य, होटल, ट्रेकिङ जस्ता पर्यटनसँग सम्वन्धित सबै जानकारी र सूचना पाउन सकिनेछ । लामाले नेपालका ४० भन्दा बढी होटलसँग सम्झौंता भइसकेको बताउँदै विदेशबाट घुम्न आउने पर्यटकका लागि सबैभन्दा उत्तम विकल्पका रुपमा एपलाई विकास गरिएको बताए । कम्पनीले विदेशबाटै पेमेन्ट गेटवेमार्फत पैसा भुक्तानी गर्न सक्ने बताए । 

 
‘अनलाईन पेमेन्टमा कुनै समस्या छैन । हामीले हिमालयन बैंकमार्फत पेमेन्टका लागि सम्झौंता गरिसकेका छौ । अरु बैंकसँग पनि सम्झौंता गरेर अनलाईन पेमेन्टलाई प्रभावकारी बनाउँछौ,’ उनले भने, ‘पर्यटकल पेमेन्टमा  कुनैपनि समस्या भोग्नुपर्दैन् ।’ कम्पनीकी अनुसन्धान तथा व्यवसाय प्रवन्धक ईच्छा लामिछानेले मोबाइलको प्रयोगकर्ता बढ्दै गएकोले एप नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम भएको बताईन् । 
 
‘विश्वभरीनै मोबाइलको प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन् । एप डाउनलोड गरेपछि ब्राउजरमा गएर खोल्नुपर्ने झझन्टबाट पनि मुक्त भईन्छ,’ उनले भनिन्, ‘विश्वभरीनै एपको प्रयोग बढ्दो क्रममा रहेकोले नेपालमा पहिलो पल्ट ट्राभल एप ल्याइएको हो ।’ कम्पनीले एप प्रवद्र्धनका लागि फोटो कम्पिटिसन योजना ल्याएको छ । विभिन्न चार वटा श्रेणीका नेपाली फोटो प्रतिस्पर्धामा पठाउनुपर्नेछ । ‘नेपालका विभिन्न क्षेत्रमा खिचेको फोटो हाम्रो साईटमा पठाउनुपर्नेछ ।  ती फोटोलाई फेसबुकमार्फत प्रतिस्पर्धामा राखिनेछ,’ लामिछानेले भनिन्, ‘ती उत्कृट भएका विदेशी पर्यटकलाई नेपालका विभिन्न गन्तब्य घुम्न निशुल्क पाउनेछन् । त्यसमा हवाई भाडा समेत जोडिएको छ ।’

Tata
GBIME
Nepal Life


प्रतियोगितामा साहसिक, भूदृश्य, संस्कृतिक धरोहर र वन्य जीव–जन्तु गरी प्रत्येक चार विधाका उत्कृष्ट एक–एक जनालाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । कम्पनीले पर्यटन प्रवद्र्धनको लागि गोनेपाल ई–म्यागेजिन समेत संचालनमा ल्याएको छ । गोनेपाल होलिडे डटकम अनलाईनमा नेपालका सुरक्षित गन्तब्यहरु, ट्रेकिङ रुट, ट्राभल गाइड, गन्तब्य, खाना, पर्यटकीय गन्तब्यको बारेमा जानकारी दिइने कम्पनीले जनाएको छ ।