पुँजी बजारको जोखिम घटाउन अप्सन कारोवार : नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७२ असार १८ गते ००:०० | Jul 3, 2015
पुँजी बजारको जोखिम घटाउन अप्सन कारोवार : नीरव पुडासैनीको लेख
केही समययता बिश्व पुँजीबजारका लगानीकर्ता माझ विकल्प कारोवार (अप्सन ट्रेडिङ) लोकप्रिय बन्दै गएको छ । नेपाली लगानीकर्ताका लागि भने यो नामनै विल्कुलै नौलो हो । किनभने नेपालमा यसको सुरुवात गर्नेबारे कहिँकतै सामान्य गुन्जायस सम्म सुनिएको छैन । चाहे त्यो सेयर बजार होस् वा प्रविधिको हिसाबले निकै अगाडि रहेको कमोडिटी कारोवार, नेपालमा दुबैले यसलाई आत्मसाथ गर्ने प्रयास गरेका छैनन् ।

Tata
GBIME
Nepal Life

विश्व पूँजी बजारको दशकौंको अभ्यासले सहि र अब्बल प्रमाणित गरिसकेको यस कारोवारको राम्रा पक्षलाई अनुसरण गदै अगाडी बढ्दा हाम्रो पूँजी बजारलाई अवश्य लाभ नै हुन्छ । 
 

अप्सन एक किसिमको लिभरेज कारोवार हो । जस अनुसार कारोवारीले सुरुमानै सम्पूर्ण पैसा भुक्त्तानी गर्नु पर्दैन । प्रत्येक अप्सन खरिदकर्तासँगै बिक्रेता पनि साथ रहने हुँदा यस कारोवारमा काउन्टर पार्टी जोखिम न्युनहुन्छ ।

यसमा कारोवारीले प्रत्येक कारोवार वापत बिक्रीकर्ता लाई प्रिमियम बुझाउनु पर्छ । तर, अप्सनकोे प्रयोग गर्ने नगर्ने उसको अधिकार भने सधैं सुरक्षित हुन्छ । अर्थात घाटा हुने अवस्थामा प्रिमियम मात्र बुझाउने तर अरु कारोवार नगर्न पाउने अधिकारनै अप्सनको सबै भन्दा सुन्दर पक्ष हो ।
 

अप्सन कारोवारमा दुई पक्ष हुनु अनिवार्य हुन्छ । अप्सन राईटर, जसले अप्सन बेच्छ र अप्सन होल्डर, जसले अप्सन खरिद गर्छ । अप्सन होल्डरले कारोबार बापत अप्सन राईटरलाई तोकिएको प्रिमियम बुझाउनु पर्छ । चाहे उसले त्यस किसिमको विशेष अधिकार प्रयोग गरोस् या नगरोस् । त्यसकारण अप्सन होल्डरलाई उसले खरिद गरेको कसरी अप्सन प्रयोग गर्ने भन्ने पूर्ण अधिकार हुन्छ । तर अप्सन राइटरको हकमा त्यो अधिकार रहन्न । 
 
उदाहरणको लागी कुनै कम्पनीको सेयर मूल्य १ असारको कारोवारमा सातसय १९ रुपैयाँ छ र त्यही समयमा कसैले १८ रुपैयाँ प्रिमियममा अप्सन खरिद गर्‍यो, जसको अन्तिम कारोवार समय असार १०, छ । त्यसको स्ट्राइक मूल्य (अप्सनमा सेयर खरिद वा बिक्री गर्न राजी भएको मूल्य) सात सय २० रुपैयाँ निश्चित गरियो ।

त्यस कम्पनीको सेयर मूल्य सात सय ३८ रुपैयाँ (स्ट्राइक मूल्यमा प्रिमियम जोड्ने) भन्दा माथि भएमा अप्सन होल्डरलाई फाइदा हुन्छ र उसले आफ्नो खरिद गर्न पाउने अधिकारको प्रयोग गर्छ । तर, कारोवारको अन्तिम दिनसम्म सेयरको मूल्य सात सय ३८ रुपैयाँभन्दा माथि गएन भने अप्सन होल्डरले त्यस अप्सनको प्रयोग नगर्न पनि पाउँछ, तर प्रिमियम भने तिर्नुपर्छ । 
 

यसअर्थमा अप्सन होल्डरको जोखिम भनेको उसले तिरेको प्रिमियमसम्म मात्र सिमित रहन्छ । त्यसैले कम जोखिम उठाउन चाहने लगानीकर्तालाई अप्सनले ठूलो राहत प्रदान गर्छ । अप्सन दुबै थरिको हुन्छ, खरिद गर्न पाउने विशेष अधिकार सहितको र बिक्री गर्न पाउने विशेष अधिकार सहितको । जसलाई क्रमशः कल अप्सन र पुट अप्सन भनिन्छ । प्रिमियम भने दुबैमा अनिवार्य छ तर मूल्यमा आउन सक्ने ठूलो जोखिमबाट भने लगानीकर्ताले जोगिन पाउँछन् । 
 
बिश्व पूँजि बजारमा दुई किसिमको अप्सन कारोवार भएको पाइन्छ, अमेरीकी अप्सन र युरोपेली अप्सन । अमेरीकी अप्सनको प्रयोग होल्डरले कारोवार अवधिभर जहिले पनि गर्न सक्छ । तर, युरोपेली अप्सन  होल्डरले भने अन्तिम कारोवार दिनको नै प्रतिक्षा गर्नु पर्छ, कारोवार गर्ने-नगर्ने निर्णय लिन । यसकारण अमेरीकी अप्सन बजार बिश्वका धेरै कारोवारीहरु माझ लोकप्रिय छ । 
 
पुट अप्सनको सुन्दर पक्ष घट्दो बजारमा आफ्नो जोखिम न्युनीकरण गर्नु नै हो । जस्तो कुनै कम्पनीको मूल्य घट्दो दरमा पाँच सय ३० रुपैयाँमा आइपुगेको छ । यस अवस्थामा यदि कसैले पुट अप्सन ३६ रुपैयाँ प्रति सेयरको दरले प्रिमियममा खरिद गर्‍यो, जसको स्ट्राइक मूल्य पाँच सय ६० रुपैयाँ छ । यस अवस्थामा पुट अप्सन होल्डरले अधिकार प्रयोग गर्छ । तर, उसलाई फाइदा हुन भने त्यस सेयरको भाउ पाँच सय २४ रुपैयाँ भन्दा तल आउनु पर्छ (स्ट्राइक मूल्यबाट प्रिमियम घटाउने) । तर, यदि यो मूल्यमा वा पाँच सय ६० भन्दा तल बजार आएन भने पुट अप्सन होल्डरले यसको प्रयोग गर्न सक्दैन । उसले ३६ रुपैयाँ बराबरको प्रिमियम भने गुमाउँछ । तथापी यसले भविष्यमा हुन सक्ने अत्याधिक मूल्य गिरावटको जोखिमबाट लगानीकर्तालाई बचाउँछ । निश्चित प्रिमियम मूल्यमा नै धेरै जोखिम वहन गर्न सक्ने विशेष अधिकार प्रदान गर्छ । 
 
साथै अप्सन कारोवारले लगानीकर्तालाई पूरै पैसा नलगाइकन धेरै सेयर कारोवार गर्ने अवसर पनि दिन्छ ।  यसमा अप्सन स्ट्राइक मूल्य त्यस सेयरको बजार मूल्य बराबर भएको अवस्थालाई कल एट द मनि अप्सन र  स्ट्राइक मूल्य भन्दा सेयरको मूल्य कम भएको अवस्थालाई ईन द मनि अप्सन भनिन्छ ।

स्ट्राइक मूल्य सेयरको मूल्य भन्दा बढी भएमा कल अप्सन होल्डरले आफ्नो अधिकारको प्रयोग गदैनन् भने कम भएमा पुट अप्सन होल्डरले पनि कारोवार गदैनन् । जसलाई आउट अफ द मनी भनिन्छ । तसर्थ अप्सन एक अत्यन्त महत्वपूर्ण जोखिम ब्यवस्थापन गर्ने औजारको रुपमा विश्व पूँजि बजारमा प्रचलिन छ । यसले लगानीकर्ताहरु चाहे त्यो सेयर बजारका होस् वा कमोडिटी बजारका, दुबै बजारमा आउने अप्रत्यासीत मूल्य परिवर्तनमा जोखिम न्युनीकरण गर्न सहयोग गर्छ । 
 

औपचारिक रुपले सन् १९७३ ताका शिकागो बोर्डले अप्सन कारोवार सूरु गरेको पाइन्छ । सन् २०१० सम्ममा करिब १० करोड भन्दा बढीको अप्सन कन्ट्रयाक क्लियरिङ्ग कर्पोरेसनले राफासाफ गरिसकेको छ । जसबाट यसको लोकप्रियताको अनुमान लगाउन सकिन्छ । हाल बजारमा नयाँ किसिमको अप्सनको समेत कारोवार हुन थालेको छ, जसलाई फ्लेक्स अप्सन भनिन्छ । यसको राम्रो पक्ष भनेको स्ट्राइक मूल्य र प्रिमियम क्रेता बिक्रेता दुबैको सहमतिको आधारमा निर्धारण गरिन्छ । यहाँ भने स्ट्राइक मूल्य र प्रिमियम बजारमा पूर्व घोषित हुँदैन ।
 
नेपाली पुँजी बजार र यसका नियामकहरुमा ब्याप्त संकोच एवं लाचारीको कारण नेपालमा यस बजारको विकास हुन अझै धेरै समय कुर्नुपर्ने देखिन्छ । तर अब सरोकारवालाहरुले पुँजी बजारको बिकासका हेतु आफ्नो सोचमा परिवर्तन ल्याउनै पर्छ । आफ्नो कमजोरी लुकाउन बिकासको गतिलाई रोक्ने प्रयास गर्नु न्यायोचित होइन । त्यसकारण नियामकले आफैले कारोवारको  सूरुवात गराउन नसक्ने हो भने निति नियम ल्याएर भने पनि मार्ग प्रशस्त गर्नुपर्छ । जसले साना लगानीकर्तालाई बजारमा आकर्षण र सुरक्षा दुबै प्रदान गर्नेछ ।