बीमा संस्थानको बाल उमंग योजना सार्वजनिक, एकवर्षदेखि ११ वर्षसम्मका बालबालिका समेट्ने लक्ष्य

बिजमाण्डू
२०७२ असार १८ गते ००:०० | Jul 3, 2015
बीमा संस्थानको बाल उमंग योजना सार्वजनिक, एकवर्षदेखि ११ वर्षसम्मका बालबालिका समेट्ने लक्ष्य


काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बाल उमंग बीमा योजना सार्वजनिक गरेको छ । एक वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई समेट्ने उद्देश्यले संस्थानले नयाँ बीमा योजना ल्याएको संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले जानकारी दिए । 

Tata
GBIME
Nepal Life

पाँच वर्षदेखि १५ वर्षसम्म अवधि रहेको यो बीमा योजनाको अधिकतम भुक्तानी अवधि १६ वर्ष रहेको छ । यो योजना अन्तर्गत न्यूनतम एकलाख रुपैयाँको बीमा गर्न सकिन्छ । बाल उमंग योजनामा दुईलाखदेखि पाँच लाख रुपैयाँसम्मको बीमा गर्न बीमा शुल्कमा एकहजार रुपैयाँ तथा पाँचलाख भन्दा धेरैको बीमा गर्दा दुई हजार छूटको व्यवस्था गरिएको छ ।

बीमा संस्थानले बाल उमंग योजना अन्तर्गत वार्षिक वा अर्धवार्षिक दुवै रुपमा बीमा शुल्क भुक्तानी गर्न सक्ने जनाएको छ । वार्षिक बीमा शुल्क बुझाउँदा दुई प्रतिशत र अर्धवार्षिक बुझाउँदा एक प्रतिशत बीमा शुल्क छुट हुने संस्थानले जनाएको छ ।

यो योजना अन्तर्गत बीमितले बीमालेख धितोमा राखी कर्जा समेत लिन पाउने भएका छन् । यसका लागि बीमा गरेको दुई वर्षपछि बीमालेख धितोमा राखि ९० प्रतिशतसम्म कर्जा तिर्न सक्ने बीमा संस्थानले जानकारी दिएको छ ।

यसैबीच बीमा संस्थानले भूकम्पका कारण परेको १९ दावी मध्ये १८ वटा भुक्तानी गरिसकेको जनाएको छ । संस्थानले यसबापत ७३ लाख ६ हजार तीनसय ८१ रुपैयाँ भुक्तानी गरेको पनि ठाकुरले जानकारी दिए ।