भारतीय प्रधानमन्त्री मोदी भन्छन्- ई होइन अब एम गभर्नेन्स, विकासको सुत्र पनि डिजिटल इन्डिया

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
भारतीय प्रधानमन्त्री मोदी भन्छन्- ई होइन अब एम गभर्नेन्स, विकासको सुत्र पनि डिजिटल इन्डिया

नयाँदिल्ली । 'यदि भारतीयहरु गुगल कम्पनीमा काम गर्न सक्छन् भने कि गुगल भारतमै बन्न सक्दनै ?' डिजिटल इन्डिया अभियान सुरु गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने । अबको प्रविधिको युगमा भारत संसारकै प्रमुख गन्तब्य बन्ने बहसका बीच मोदीले यस्तो बताएका हुन् ।

Tata
GBIME
Nepal Life

डिजिटल इन्डिया मोदीको आफ्नै महत्वकांक्षी मध्येको एउटा प्रोजेक्ट हो । उनले सिंगो भारतलाई प्रविधिको माध्यमबाट जोड्ने बताइरहेका बेला यो कार्यक्रम सुरु गरेका छन् । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको डिजिटल प्रविधिमार्फत समाजको सशक्तता र अर्थतन्त्रको विकास रहेका छन् ।

'मैले डिजिटल इन्डियाको सपना देखको छु जहाँ उच्च गतिको डिजिटल हाइवे हुनेछन्, एक अर्ब २० करोड भारु खर्च हुने यो अभियानले भारतीयहरुलाई नयाँ संसारमा जोड्नेछ,' प्रधानमन्त्री मोदीले भने, 'डिजिटल इन्डियाकै अवधारणाबाट सरकारलाई अझै पारदर्शी बनाउन सकिन्छ, यो नितान्त नयाँ योजना हो जसले भ्रष्टाचारमुक्त सरकारको सुनिश्चितता प्रदान गर्छ ।'

संसारले नै भारतीयहरुमा रहेको सूचना प्रविधिको ज्ञान राम्रोसँग बुझेको भन्दै मोदीले मेड इन इन्डिया जस्तै यो अवधारणालाई पनि महत्वका साथ अगाडि बढाउन सकिने बताए । यो अवधारणाले भारतका गरीब जनतालाई धेरै फाइदा हुने दावी प्रधानमन्त्री मोदीको छ । 'सरकारको कर्तब्य भनेकै ग्रामीण भेगमा रहेका भारतीयहरुलाई डिजिटल ड्राइभसम्म जोड्ने हो,' प्रधानमन्त्री मोदीले भने, 'मानिसहरु अझै प्रश्न गर्छन् भारतजस्तो गरीब देशलाई अझ स्याटेलाइटमा किन जानु पर्‍यो ? तर अहिले स्याटेलाइटबाट हुने मौसम पूर्वानुमानबाट धेरै फाइदा किसानहरुलाई नै भएको छ ।'

प्रधानमन्त्री मोदीले सबै भारतीयहरुले आफ्नो सपना डिजिटल इन्डियाकै माध्यमबाट पुरा गर्ने पनि बताए । 'हामी भारतको भविष्य परिवर्तन चाहन्छौं, भारतको जनसायंखिक विभाजनले पनि अहिले प्रविधिको मजबुतीमा जोड दिएको छ,' मोदीले भने, 'अहिलेको अवस्थामा डिजिटल कनेक्टिभिटी नै महत्वपूर्ण पाटो हो । डिजिटल डिभाइड (प्रविधिको पहुँच हुने र नहुनेबीचको अन्तर)ले भारतमा धनी र गरीबबीचको खाडल अझ बढाउँदै लगेको छ । यदी हामीले प्रविधिको माध्यमबाट गरीब जनताको जीवनस्तर उठाउने प्रयास नगर्ने हो भने उनीहरुले कहिल्यै पनि अवसर पाउने छैनन् ।'

उनले प्रविधिले ल्याउने परिवर्तन प्रति विश्वस्त हुन पनि सबैलाई आग्रह गरे । 'अहिले शहरहरुमा अप्टिकल फाइबर बिच्छ्याइएका छन्, बैंकहरु पेपरलेस हुँदै गएका छन्, हामी प्रविधिकै माध्यमबाट विद्यार्थीको भार कम गर्न सक्छौं,' उनले भने, 'मलाई के लाग्छ भने अब संसारका सबै उत्पादनहरु प्रविधि भित्रै हुनेछ्न सबै जना यसमै अट्नेछन् ।' मोदीले नयाँ अवसर प्राप्तीका लागि पनि डिजिटल प्रविधिमा जोडिनुको विकल्प नरहेको बताए ।

मोदीले डिजिटल प्रविधिमा जोडिने हो भने इ-गभर्नेन्सबाट एम-गभर्नेन्समा जान सकिने बताए । 'हामीले इ-गभर्नेन्स मात्रै होइन, एम-गभर्नेन्समा नै जान सक्छौं, त्यो भनेको मोवाइल गभर्नेन्स हो,' मोदीले भने ।

मोदीले भारतमा विद्युतीय सामानको आयातको दर उच्च रहेको भन्दै त्यो अस्वीकार्य रहेको बताए । 'भारतले केही चिजको पक्कै पनि आयात गर्छ तर यो अस्वीकार्य छ कि दोस्रो धेरै आयात हुनेमा विद्युतीय उत्पादन हुनु हुँदैन,' उनले भने, 'हामी विश्वलाई नै मेक इन इन्डियाको हाम्रो अवधारणामा आमन्त्रण गर्न चाहन्छौं ।'

आफ्नो नयाँ अवधारणा सार्वजनिक गर्दै मोदीले कोइला लीलामीको उदाहरण पनि दिन भ्याए । 'मैले डिजिटल इन्डियाको अवधारणा सार्वजनिक गरें जसले सरकारलाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्छ, जस्तो कि हामीले कोइला लिलामी इ-लिलामी प्रक्रियाबाट गर्‍यौं जसले पारदर्शिता कायम गर्‍यो,' मोदीले भने ।

मोदीले डिजिटल इन्डियाको अवधारणाले साइबर सुरक्षालाई पनि अझ मजबुद बनाउने बताए । उनले साइबर सुरक्षा पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो पनि भएकाले त्यसमा सरकार गम्भीर रहेको दावी गरे ।