चीनले शुक्रबार खासामा अलपत्र छोडेको एकसय ३९ कन्टेनर छोड्यो, नेपालतर्फको पहिरोले फेरि रोकियो

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
चीनले शुक्रबार खासामा अलपत्र छोडेको एकसय ३९ कन्टेनर छोड्यो, नेपालतर्फको पहिरोले फेरि रोकियो

काठमाडौं । भूकम्पपछि खासामा अलपत्र परेका सामान बोकेका कन्टेनरलाई शुक्रबारदेखि नेपाल प्रवेश गर्न दिन थालेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्रमन्त्रालयको कुटनीतिक पहलपछि खासामा अलपत्र परेका सामान नेपाल आउन दिन चीन तयार भएको हो ।

Tata
GBIME
Nepal Life

गर्मीको सिजनका लागि ल्याउन खोजेका सामान अलपत्र परेपछि नेपाली व्यवसायीले सरकारलाई निरन्तर दबाब दिएका थिए ।

‘चिनियाँ पक्षले खासामा अलपत्र परेका कन्टेनरलाई शुक्रबारदेखि पठाउन सुरु गरेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बिजमान्डूसँग भने, ‘शुक्रबार मात्रै चीनले एकसय ३९ कन्टेनरलाई छोडिसकेको छ ।’ नेपाल र चीन जोड्ने मितेरी पुल जोखिममा परेको भन्दै चीनले रोकेपछि झन्डै चार अर्बको सामान जोखिममा परेको थियो । 

चीनको नाकाबाट सामान आउन दिएपनि नेपालतर्फ पहिरोले बाटो अवरुद्ध भएकोले कन्टेनर फेरि अलपत्र परेको छ । व्यवसायीका अनुसार खासाको कन्टेनरमा झन्डै डेढ अर्बका सामान अलपत्र परेका थिए भने गोदाममा अढाई अर्बका सामान रहेको छ । 

‘नेपालतर्फ तातोपानीतर्फका केही स्थानमा पहिरोले बाटो अवरुद्ध छ । कन्टेनरलाई सुरक्षित स्थानमा राखेर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने, ‘वर्षा रोकिएर पहिरो हटेमा आईतबारसम्म सामान काठमाडौं आइपुग्छ ।’ सामान सुरक्षित रुपमा ल्याउन नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णु खत्रीसहितको टोली तातोपानी क्षेत्रमा खटेका छन् ।

सडक विभागले पहिरो हटाउन तातोपानी क्षेत्रमा एक्साभेटर पठाएर निरन्तर काम गरिरहेको छ । खत्रीसहितका व्यवसायीले सडक विभागका कर्मचारीलाई समन्वय गरिरहेका छन् ।

 

व्यवसायीका अनुसार खासातर्फ झन्डै ८ सय कन्टेनर सामान रहेका छन् । खासामा लोड भएका सामान दुईसय ५० कन्टेनर र अरु सामान खासाको गोदाममा रहेको श्रेष्ठले बताए । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य निरज राईका अनुसार चिनियाँ अधिकारीले पहिलो चरणमा कन्टेनरमा सिल लागेका र भन्सार तिरेका सामानलाई पठाउनेछन् ।

दोस्रो चरणमा कन्टेनरमा सिल नलागेकालाई र तेस्रो चरणमा गोदाममा रहेका सामानलाई पठाउने प्रतिवद्धता गरेको उनले बताए । नेपाली पक्षको निरन्तर दबाबपछि चीनले १५ दिनका लागि अलपत्र अवस्थामा रहेका सामान ल्याउन विकल्प दिएको राईले बताए । भूकम्पले खासामा रहेका कन्टेनरका सामान छरपस्ट अवस्थामा भेटिएको थियो ।

खासामै सामान रोकिएपछि राजधानी लगायतका स्थानमा गर्मीका सामानको अभाव भएको छ । गर्मीका तयारी पोसाक, जुत्ता, चप्पल, ज्याकेट लगायतका सामान राजधानीमा अभाव भएको छ । व्यवसायीले नेपाल –चीनवीचको बढी कारोबार हुने नाका बन्द भएपछि भारत हुँदै जहाजमार्फत सामान ल्याउन थालेका छन् । भारत हुँदै सामान ल्याउँदा दुई महिना लाग्ने भएकोले अभाव भएको हो ।

खासामार्फत सामान ल्याउँदा ३० तीन भित्रै काठमाडौंमा आइपुग्छ । तातोपानीमार्फत आएको सामानको भन्सार असुली त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट हुनेछ । तातोपानीमा रहेको भन्सार कार्यालय क्षतिग्रस्त भएपछि विमानस्थल भन्सारबाट काम हुँदै आएको हो ।