एयरबस र महिन्द्रा मिलेर हेलिकप्टर बनाउने, भारतमा निजी क्षेत्रले पहिलो पटक हेलिकप्टर बनाउँदै

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
एयरबस र महिन्द्रा मिलेर हेलिकप्टर बनाउने, भारतमा निजी क्षेत्रले पहिलो पटक हेलिकप्टर बनाउँदै

नयाँ दिल्ली, १९ असार । युरोपमा हवाईजहाज निर्माण गर्ने प्रमुख संस्था एयरबस तथा भारतको महिन्द्रा समूहले संयुक्त रूपमा हेलिकप्टर निर्माण गर्ने एक सम्झौतामा हस्ताक्षर गरेको जानकारी यी कम्पनीहरूले दिएका छन् । भारत सरकार हाल आफ्नो पुरानो भएको सैनिक उपकरणमा सुधार गर्ने प्रयासमा रहेको छ । 

Tata
GBIME
Nepal Life

यो संयुक्त अभियान आउँदो महिनामा स्थापना हुने जानकारी यी कम्पनीले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा दिइएको छ । यो भारतमा निजी क्षेत्रमा हेलिकप्टर उत्पादन गर्ने पहिलो प्रयास हुनेछ । 

यो संयुक्त प्रयास भारतको सशस्त्र सुरक्षा निकायलाई स्वदेशमै निर्माण भएको आधुनिक हेलिकप्टर उपलब्ध गराउनेतर्फ लक्षित हुनेछ । यस्तो हेलिकप्टर गुणात्मक, सुरक्षाको दृष्टिकोणले स्तरीय तथा युद्धका लागि उपयोगी हुने जानकारी एयरबस हेलिकप्टरका अध्यक्ष प्रमुख कार्यकारी अधिकारी गुइलाम फरीले एक विज्ञप्तिमार्फत दिएका छन । 

भारतले हाल आफ्नो व्यापक प्रतिरक्षा उपकरणलाई आधुनिकीकरण गर्ने कार्य गरिरहेका छ र यसका लागि करिब एक खर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी सरकार गत मे महिनामा शासनमा पुगेको हो र उसले नयाँ सैनिक उपकरण खरीद गर्ने अनेकौँ सम्झौतालाई स्वीकृति प्रदान गरेको छ । यस्ता सम्झौतालाई यसअघिको बामपन्थीप्रति झुकाव राख्ने कंग्रेस पार्टीको सरकारले अवरुद्ध बनाएको थियो । 

कट्टरपन्थी राष्ट्रवादी भनेर चिनिएका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मुलुकलाई विश्वको सबैभन्दा बढी प्रतिरक्षा सामग्री आयात गर्ने मुलुकको स्थानबाट हटाउन चाहन्छन् । उनले एक दशकको अन्त्यसम्म भारतको ७० प्रतिशत प्रतिरक्षा उपकरण स्वदेशमै निर्माण होस् भन्ने चाहेका छन् ।

गत अगस्तमा सरकारले प्रतिरक्षाको क्षेत्रमा यसअघिको २६ प्रतिशत वाह्य लगानीको सीमालाई संशोधन गरी ४९ प्रतिशतमा पुर्‍याएको थियो । 

महिन्द्रा डिफेन्स सिस्टमका अध्यक्ष एसपी शुक्लाले आफूहरूले मिलेर भारतका लागि आउँदो पुस्ताको हेलिकप्टर उत्पादन गर्ने बताए । उनले यी हेलिकप्टरले मुलुकको प्रतिरक्षा आवश्यकतालाई मात्र सम्बोधन गर्ने नभई भविष्यमा निर्यात गर्ने सम्भावना पनि बोक्ने बताए । रासस/एएफपी