प्राधिकरणको सिइओमा मन्त्रीदेखि प्रशासकसम्मको दौड, प्रधानमन्त्री पोखरेलको पक्षमा

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
काठमाडौं । सरकारले भुकम्पबाट क्षति भएका संरचनाहरुलाई पुननिर्माण गर्नका लागि स्थापना गर्न लागेको शक्तिशाली पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारीमा राजनीतिज्ञदेखि प्रशासकसम्मको दौड सुरु भएको छ । 


 
छुट्टै ऐनबाट निर्देशित प्राधिकरणले पुनर्निर्माणका लागि करिब सात सय अर्ब रुपैयाँको बजेट चलाउन पाउँछ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने प्राधिकरणले पुनर्निर्माणको काम स्वायत्त हिसावले गर्न पाउने भएकाले पनि यसको प्रमुख कार्यकारी बन्न शक्तिशाली व्यक्तिहरु लबिङमा लागेका हुन् । 
 
प्राधिकरणले पुनर्निर्माणलाई अघि बढाउँदा वाधा पार्ने ऐन÷नियम समेत निलम्बन गर्ने अधिकार रहन्छ । यो अधिकारसहितको स्वायत प्राधिकरणमा मन्त्री, पूर्व मन्त्री, युवा नेतादेखि पूर्व प्रशासकहरुले कार्यकारी प्रमुखमा लबिङ गरेका छन् । 
 
पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराईले प्राधिकरणको नेतृत्व गरेर पुनर्निर्माणको काम गर्न आफू तयार रहेको धारणा सार्वजनिक गरेपछि ऐनमा यसको नेतृत्व प्रधानमन्त्रीले गर्ने व्यवस्था गरिएको छ । स्वायत्त निकायमा ठूलो रकम खर्च गर्ने अधिकार अर्को पार्टीको नेतालाई दिँदा समानान्तर सरकारजस्तो हुने भन्दै सत्तारुढ कांग्रेस र एमालेले अध्यादेशबाट ल्याएको ऐनमा त्यसको नेतृत्व प्रधानमन्त्रीले गर्ने व्यवस्था गरेका हुन् ।
 
प्रधानमन्त्री अध्यक्ष रहेपनि यसको सञ्चालन स्वतन्त्र प्रमुख कार्यकारीले गर्ने भएकाले अहिले यसैका लागि दौड सुरु भएको हो । दौडमा कांग्रेस, एमाले र माओवादीका केही नेताहरुका साथै पूर्व तथा वर्तमान प्रशासकहरु पनि लागि परेका छन् । 
 
नेपाली कांग्रेसबाट बर्तमान मन्त्रीमण्डलमा रहेका महेश आचार्य र विमलेन्द्र निधि छन् भने योजना आयोगका उपाध्यक्ष प्राडा. गोविन्द पोखरेल पनि दौडमा छन् । मूख्य सचिव लीलामणि पौडेल पनि प्राधिकरणमा जान इच्छुक छन् । यसैगरी कांग्रेस नेता पूर्णवहादुर खड्का पनि प्राधिकरणको कार्यकारी प्रमुखको आंकाक्षी छन् । 
 
प्रधानमन्त्री सुशील कोइराला योजना आयोगका उपाध्यक्ष प्रा. डा. पोखरेललाई नै यो पदमा नियुक्त गर्ने सोचमा रहेको स्रोत बताउँछ । उपाध्यक्ष पोखरेलले भूकम्पपछिको ध्वस्त संरचनाको क्षति आंकलनको पिडिएनए रिपोर्ट तयार पार्न गरेको मेहनतबाट प्रधानमन्त्री बढी प्रभावित छन् । यसैलाई आधार बनाएर प्रधानमन्त्री कार्यकारी प्रमुख पनि पोखरेललाई नै बनाउन चाहेको स्रोतको दावी छ । 
 
एमालेबाट वर्तमान मन्त्री मण्डलका सदस्य महेश बस्नेत र पाटीका सचिव योगेश भट्टराई पनि लाइनमा छन् । स्रोतका अनुसार, पूर्व गभर्नर डा. तिलक रावल, पूर्व गृहमन्त्री तथा पूर्व मूख्य सचिव माधव घिमिरे, पूर्व अर्थमन्त्री शंकर कोइराला, योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल पनि दौडमा छन् ।
 
यसैगरी पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारीका लागि पूर्व गभर्नर डा. युवराज खतिवडा, पूर्वसचिव रामेश्वर खनाल, पूर्व मन्त्री तथा सचिव विद्याधर मल्लिकको नाम पनि चर्चामा रहेको छ । 
 
आक्रमक रुपमा पुनर्निर्माणको काममा लाग्नु पर्ने प्राधिकरणको कार्यकारी प्रमुख पदमा राजनीतिक आस्था र शक्तिकेन्द्रसँग नजिक भएका आधारमा नियुक्ती लिन खोज्नेहरु धेरै छन् । प्रधानमन्त्री कोइराला भने विगतमा गरेको कामका आधारमा कार्यकारी प्रमुख नियुक्त गर्नु पर्ने पक्षमा देखिएका छन् । 
 
यता संविधान निर्माणपछि बन्ने नयाँ सरकारमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएलगत्तै ऐन संशोधन गरेर प्राधिकरणको नेतृत्व पूर्वप्रधानमन्त्री डा. भट्टराईले गर्ने गरी सहमति भएको स्रोत बताउँछ । 
 

Tata
GBIME
Nepal Life