नेपाल स्टक एक्सचेन्जले ल्यायो पुँजी बजार सम्वन्धि एप, समयमै सूचना पुर्याएर अनियमितता रोक्ने

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
काठमाडौं । पुँजी बजार सम्वन्धी सूचनासहितको नेपाल स्टक एक्सचेन्जले बनाएको ‘नेप्से एप’ संचालनमा आएको छ । अर्थमन्त्री डा. रामशरण महतले आइतबार नेप्से एप सार्वजनिक गरे ।
स्मार्टफोनको प्रयोग बढ्दै गएको लगानीकर्ता र सरोकारवालालाई लक्षित गर्दै यो एप ल्याइएको हो ।  अर्थमन्त्री महतले  पुँजी बजार सम्बन्धी सही सूचना समयमै सबै सरोकारवालासम्म पुग्ने अपेक्षा गरे ।  ‘यो एपले पुँजी बजारको सूचना प्रवाहमा महत्वपूर्ण कडीका रुपमा काम गर्ने विश्वास मैले लिएको छु,’ उनले भने, ‘यसले लगानीकर्तालाई शिक्षित बनाउनेछ ।’ नेप्सेले आधुनिकीकरणका अन्य प्रयासलाई तीब्रता दिने विश्वास व्यक्त गर्दै उनले नेप्सेलाई छिट्टै अनलाइन टेडिङ सिस्टम स्थापना सुझाव दिए । 
 
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले नेप्सेले ल्याएको एप्सले बजारको पारदर्शिता प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।  सूचना प्रवाहका क्षेत्रमा नेप्सेले गर्दै आएको प्रयासको प्रशंसा गर्दै उनले नीतिगत रुपमा धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरुमा सहजीकरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । 
 
कार्यक्रममा नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण अर्यालले एपले सूचना प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरे । ‘यो एपले सूचना प्रवाहका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास हामीले लिएका छौं,’ उनले भने , ‘ यो एपले बजारको पारदर्शिता अभिवृद्धि गर्नेछ ।’कार्यक्रममा नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बजारमा हुनसक्ने अनियमितता न्युनीकरण गर्न एप्स उपयोगी हुने बताए । ‘बजारमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोकथाम गर्न एप दण्डसजाय भन्दा बढी प्रभावकारी हुने मान्यता राखेका छौ,’ उनले भने । 
 

Tata
GBIME
Nepal Life