भूकम्प पीडितलाई २% ब्याजमा दिइने ऋणमा आइएमएफको शंका, भन्यो– ‘दूरुपयोग हुनसक्छ’

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
भूकम्प पीडितलाई २% ब्याजमा दिइने ऋणमा आइएमएफको शंका, भन्यो– ‘दूरुपयोग हुनसक्छ’


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालका भूकम्प पीडितलाई दिइने सहुलियत पूर्ण कर्जामा आपत्ति जनाएको छ । आइमएफले दुई प्रतिशत ब्याजमा ल्याइएको पुनर्कर्जाका दूरुपयोग हुनसक्ने भन्दै आशंकासमेत जनाएको छ ।
 
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग आइएफको टोलीले सहुलियत ऋण के आधारमा ल्याइएको भन्दै प्रश्नसमेत गरेको थियो । जेरार्ड जे एल्मेकिन्डर्सको नेतृत्वमा आएको टोलीले गभर्नर नेपाललाई सहुलियत सम्बन्धि व्यवस्थाको दुरुपयोग भइ खराब कर्जा पुनरतालिकीकरणका माध्यमबाट असल कर्जामा रुपान्तरण हुनसक्ने आशंका औल्याएको छ ।
 
टोलीले विगतमा पनि यस्ता कर्जाहरु दुरुपयोग भएर भविस्यमा असल कर्जामा परिणत भएका धेरै उदाहरण भएको भन्दै सहुलियत कर्जाका बारेमा लामै सवाल जावाफ गरेको थियो ।

आइएमएफको टोलीलाई गभर्नर नेपालले भने सहुलियत निश्चित समयका लाग मात्र भएकाले यसले दीर्घकालिन रुपमा असर नपर्ने जवाफ दिएका थिए । 
 
राष्ट्र बैंकले बैशाख १२ मा गएको भूकम्प र त्यसपछिका परकम्पनले ठूलो संख्यामा आवासीय घरहरु भत्किएको भन्दै उनीहरुको पुनर्वासका लागि सहुलियत कर्जा सम्बन्धि कार्यविधि ल्याएको थियो ।
 
केन्द्रीय बैंकले राजधानीभित्रका भूकम्प पीडितलाई २५ लाख र बाहिरकालाई १५ लाख रुपैयाँ ऋण दिने प्याकेज ल्याएको हाे । कार्यविधि अनुसार, केन्द्रीय बैंकले यस्तो पुनर्कर्जा बैंकहरुलाई शून्य प्रतिशतमा उपलब्ध गराउँछ, बैंकले भने पीडितलाई दुई प्रतिशत ब्याजमा उपलब्ध गराउँछन् । सहुलियत ऋण भए पनि बैंकहरुले अन्य ऋण सरह पर्याप्त धितो र नगद प्रवाहको आधार चित्त बुझे मात्र यस्तो ऋण दिन्छन् ।
 
आइएमएफले नेपाललाई दिने तयारी गरेको र्‍यापिड क्रेडिट फेसिलिटी (आरसिएफ) सम्बन्धि  प्रारम्भिक कार्य गर्ने उद्देश्यले आएको टोलीले केन्द्रीय बैंकको बालुवाटार कार्यालयमा भेट्दै गभर्नरलाई ऋण दुरुपयोग हुनसक्ने भएकाले सचेत रहन आग्रह गरेको थियो । 
 
जवाफमा गभर्नर नेपालले सुपरीवेक्षणलाई प्रभावकारी बनाइ सहुलियतको दूरुपयोग हुन नदिने बचन दिएका छन् । उनले आइएमएफले दिएका सुझावलाई गम्भीरतापूर्वक लिइने जानकारी समेत दिए ।
 
कार्यविधि तयार भएर लागू भएपनि अहिलेसम्म कसैले पनि सहुलियत ब्याजको ऋण प्रयोग गर्न पाएका छैनन् । सरकारले नक्सा पास भइसकेकालाई घर निर्माण गर्न लगाएको रोक खुलाए पनि नयाँ नक्शा पासको बन्देज भने यथावत राखेको छ । मसान्तपछि नक्शा पास  खुलेपछि सहुलियत ब्याजको ऋण प्रयोग हुन थाल्ने बैंक तथा वित्तीय संस्थाको अपेक्षा छ ।   

Tata
GBIME
Nepal Life