कति तलब पाउँछन् भारतका सबभन्दा धनी मुकेश अम्बानी?, तलब सात वर्षदेखि अझै बढेको छैन

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015

Tata
GBIME
Nepal Life

न्युदिल्ली । भारतका सबैभन्दा धनी तथा रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीको तलब सात वर्षदेखि बढेको छैन। तर उनको तलब अझै पनि कर्मचारीहरुको औसत तलबभन्दा २०५ गुणा बढी छ।

आइटिसीका अध्यक्ष वाईसी देवेसरको तलब त अझ आफ्ना कर्मचारीहरुको ‍औसत तलबभन्दा ४३९ गुणा बढी छ। आइटी कम्पनी विप्रोका प्रमुख अजिम प्रेमजीको तलब पनि मातहतका सहकर्मीहरुको ‍औसत तलबभन्दा ८९ गुणा बढी छ।  

तर निजी क्षेत्रको बैँक एचडिएफसीका अध्यक्ष दीपक पारिखको तलब भने कम्पनीको औसत तलबभन्दा १९ गुणा मात्रै बढी छ। सोही बैँकका एमडी आदित्य पुरीको तलब भने ‍औसत तलबभन्दा ११७ गुणा बढी छ।  आईसीआईसीआई बैंककी चन्दा कोचरको तलब ९७ गुणा बढी छ।

एक्सिस बैंककी एमडी र सीईओ शिखा शर्माको तलब पनि कम्पनीको औसत तलबभन्दा ७४ गुणा बढी छ। इन्फोसिसका सिईओ विशाल सिक्काको तलब सहकर्मीहरुको भन्दा ११६ गुणा बढी छ।  हिन्दुस्तान युनिलिभरका  सिईओ संजीव मेहताको तलब ९३ गुणा बढी छ।  

भारतमा नयाँ कम्पनी ऐन लागू भइसकेपछि शीर्ष तह र सामान्य स्तरका कर्मचारीहरुको तलब वृद्धि र अनुपात पहिलो पटक खुलासा भएको हो।  

मुकेश अम्बानीले विगत सात वर्षमा आफ्नो तलब वृद्धि गरेका छैनन्। उनको तलब १५ करोड रुपैयाँ छ। उनको कम्पनीका अन्य कर्मचारीहरुको औसत तलब भने बढेको छ। यो वर्ष कम्पनीले उनीहरुको तलब ३.७१ प्रतिशत बढाएर ७.२९ लाख पुर्‍याइएको छ।