बजेटले पायो एकसयमा ७७ अंक, थ्रेसहोल्डमा निजी क्षेत्रकै असहमति, कार्यान्वयनमा शंका

बिजमाण्डू
२०७२ असार २९ गते ००:०० | Jul 14, 2015
बजेटले पायो एकसयमा ७७ अंक, थ्रेसहोल्डमा निजी क्षेत्रकै असहमति, कार्यान्वयनमा शंका

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले मंगलबार संसदमा पेश गरेको बजेटमा मिश्रित प्रतिक्रिया आएका छन् । बजेटमाथि टिप्पणी गर्ने सबैले कार्यान्वयन हुने हो भने बजेट निकै राम्रो भएको बताएका छन् । तर उनीहरुले बजेट कार्यान्वयनको चुनौती पनि उत्तिकै रहेको बताए ।

Tata
GBIME
Nepal Life

मंगलबार बजेट सार्वजनिक भएपछि निजी क्षेत्र, पूर्वअर्थमन्त्री तथा विज्ञको धारणा यस्तो छ:
विषम परिस्थितीमा राम्रो
पशुपति मुरारका, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
अहिलेको बजेट विशेष परिस्थितिमा आएको बजेट हो । यसबाट हामीले धेरै कुराको अपेक्षा गर्नु भन्दा पनि परिस्थिति बुझ्नु पर्छ । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

बजेटमा भ्याटको थ्रेसहोल्ड बढेको छ, विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरीद गर्न पाउने भएका छन्, औद्योगिक क्षेत्रमा दिइएको सुविधा घटाइएको छैन । त्यसकारण हामीले यसलाई सकारात्मक रुपमा लिन्छौं ।

अबको आवस्यकता भनेको खर्च प्रणाली सुदृढ बनाउनुपर्छ । दुई चौमासिकसम्म पनि खर्च नगर्नेको बजेट फिर्ता लैजाने भन्ने कुरा जुन बजेटमा आएको छ त्यसले सरकारको खर्च बढाउन सहयोग गर्न सक्छ । हामी सबै मिलेर काम गर्नुपर्ने अवस्था छ । सरकारले समयमै बजेट ल्याएको छ । निजी क्षेत्र र सरकार मिलेर काम गर्ने हो भने अब हामीले गर्न सक्ने ठाउँ धेरै छन् । म यो बजेटलाई १० मा ७.५ अंक दिन्छु ।

कार्यान्वयनको चुनौती ठुलो
हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
स्वभाविक रुपमा अहिले पुनर्स्थापना र पुनर्निर्माणमा यो बजेटले जोड दिएको छ । हामीले त अझै ठुलो बजेट आउँछ भन्ने सोचेका थियौं । बजेट समग्रमा राम्रो आएको छ । तर यसको कार्यान्वयनको चुनौति भने ठुलो छ । अर्थमन्त्रीले बजेट भाषणमा कार्यान्वयन गर्ने धेरै आधार त भन्नु भएको छ तर पोहोर पनि प्रतिबद्धता आएका थिए तर काम भएन । त्यसकारण हामीले कार्यान्वयन कस्तो हुन्छ भनेर हेर्नुपर्ने हुन्छ । 


सरकारले ल्याएको बजेटले उत्पादनशील क्षेत्रमा लगानीका लागि त्यस्तो खास योजना ल्याएको छैन । धेरै रोजगारी दिने उद्योगलाई कर छुट दिने कुरा सकारात्मक छ । सरकारले सिमेन्ट उद्योगमा पूर्वाधार बनाउने कुरा गरेको छ तर अन्य उद्योगलाई खोइ छोएको ? अर्को कुरा भूकम्पले पर्यटन क्षेत्रलाई पनि ठुलो असर गरेको छ । पर्यटन क्षेत्रलाई बलियो बनाउने कुरा पनि त्यति आएन ।

बजेट कार्यान्वयनमा अब भोलिदेखि नै लाग्नुपर्छ । बोल्ने तर कार्यान्वयन नहुने भयो भने त्यसको कुनै अर्थ रहँदै । पोहोर पनि उद्योगसँग सम्बन्धित कानुन बनाउने कुरा थियो । तर यो काम भएन । त्यसैले कार्यान्यन हुने हो भने बजेट राम्रो छ । म यो बजेटलाई ६.५ अंक दिन्छु ।

भ्याटको थ्रेसहोल्ड बढाउनु गलत
जगदीश अग्रवाल, उद्योगी
बजेटले भ्याटको थ्रेसहोल्ड जसरी २० लाखबाट बढाएर ५० लाख पुर्‍याएको छ त्यो गलत हो । यसले साना व्यवसायीलाई त भ्याटको तनावबाट मुक्ति दिएको छ तर त्यो सँगै अब बजारमा धेरै नराम्रा काम हुने खतरा छ । २० लाख हुँदा पनि अनेक किसिमका गलत काम भइरहेको थियो भने अब झन बढ्ने संभावना रहन्छ ।

अर्को कुरा यो बजेटले कृषि क्षेत्र जस्तो समग्र अर्थतन्त्रको मेरुदण्डलाई बलियो बनाउने काम गर्न सकेको छैन । कृषि क्षेत्रको योगदान कमजोर हुँदै गएको अवस्थामा त्यसलाई बढाउने कार्यक्रम आउनु पर्थ्यो । यो बजेट ब्युरोक्रेटिक पाराको छ । अहिलेको कमजोर अर्थतन्त्रलाई माथि उकास्ने गरी राजनीतिक निर्णय लिनबाट मन्त्री चुकेका छन् ।

हुन त बजेट भनेको आम्दानी खर्चकै दस्तावेज हो तर यो बजेट अझ खर्च चलाउने माध्यम भन्दा माथि उठ्न सकेन । विकासका कुनै कार्यक्रम गतिला भएनन् । म यसलाई १० मा पाँच अंक दिन्छु ।

बजेट राम्रो, कार्यान्वयन जटिल
डा प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री
सरकारी संयन्त्र काम नगर्ने अवस्थाको भइसकेको छ । गत वर्ष पनि निकै राम्रा कार्यक्रम थिए तर तिनको कार्यान्वयन हुन सकेन । त्यसकारण कार्यान्वयन हुने हो भने यो वर्षको बजेट पनि राम्रो छ । तर कार्यान्वयन हुन निकै कठिन छ ।

मैले भन्दै आएको छु, हाम्रो अर्थतन्त्र सुकुलगुण्डे पाराको भइसकेको छ । बोलेका कुरा केही कार्यान्वयन हुँदैनन् । त्यसलाई ट्राकमा ल्याउन निकै कठिन छ । उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्ने जुन अवस्था थियो त्यो हुन सकेको छैन ।

जनताको नाममा कूत खाएर राजनीतिक नेतृत्वमा नवसामन्तवादी चरित्र बढेको छ । यो गलत हो । अहिलेको बजेटको पूर्ण कार्यान्वयनका लागि क्षमताको निकै कमी छ । यसलाई बढाउनु पर्छ । बजेटमा पाँच वर्षमा पुनर्निर्माण गर्ने भनिएको छ । यो काम पाँच होइन दुई वर्षमा गर्न सकिन्छ । पैसाको अभाव छैन मात्रै प्रतिबद्धता र काम गर्ने शैली गतिलो नभएको हो । म यो बजेटलाई १० मा पाँच अंक दिन्छु ।

थ्रेसहोल्ड बढाउँदा व्यवसायीलाई फाइदा
रामेश्वर खनाल, पूर्व अर्थसचिव
अहिले लेखामा आधारित काम गर्ने भनेको बेलामा भ्याटको थ्रेसहोल्ड बढेको छ । बरु यसको साटो व्यक्तिगत आयको चाँही बढाएको भए हुन्थ्यो । श्रमजीवी र पारिश्रमिक मात्रै आर्जन गर्नेलाई राहत नदिने तर व्यवसायीलाई मात्रै राहत दिने अवस्था देखियो । यसलाई 'पोलिसी रिग्रेसन' पनि भनिन्छ । व्यवसायीलाई भ्याटको दायराबाट बाहिर पठाउनु भनेको त ऊ आयकरको दायरामा आउँदै आउँदैन । भ्याटको दायरामा आएका कारण आयकरमा असर गर्न भनेको भएर न उनीहरुले विरोध गरेका हुन् । त्यसकारण श्रमजीवीलाई कुनै असर नगर्ने तर व्यवसायीलाई गर्ने कुरा सकारात्मक भएन ।

मैले पनि तलब बढाउन सकिँदैन त्यसैले व्यक्तिगत आयमा कर छुट दिनुपर्छ भनेर सुझाव दिएको थिएँ । तर त्यसको उल्टो भएछ । परम्परागत रुपमा महतले लोकप्रिय बजेट बनाउने चलन थिएन । तर यो बजेट लोकप्रिय बजेट हो । सामाजिक सुरक्षा भत्ता बढेको छ । अहिले पाँचसयको हजार पुर्‍याइएको छ तर भोलि अर्काले त्यस्तै लोकप्रियताको नाममा तीनहजार पुर्‍याइदिन सक्छ । यहाँ मान्छेले खर्चको कुरा हेर्दैन । यहाँ कमाउने मान्छेको प्रतिव्यक्ति आय वर्षको ७५ हजार रुपैयाँ तर केही काम नगर्नेले वर्षको १२ हजार पाउने भो । यस्तो लोकप्रिय काम गर्नु हुँदैन थियो । अहिले कृषिमा राम्रो काम भएको छ । अहिले तराई मधेशका लागि राम्रो कार्यक्रम आएको छ ।

तर यो बजेट कार्यान्वयन हुँदैन । यस्तो किसिमको महत्वकांक्षी बजेट कार्यान्वयन हुँदैन । बाँड्ने कुरा कार्यान्वयन हुन्छ तर काम गर्ने कुरा कार्यान्वयन हुँदैन । ४० अर्ब रुपैयाँ यो आवको खर्च गर्न नसक्ने पैसा अर्को आवमा खर्च गर्ने भनेपछि त क्षमता निकै कमजोर छ । जबकी यो आवमा सरकार परिवर्तन हुन्छ भन्ने कुनै ठाउँ छैन ।

अहिलेको समस्या भनेको समयमै अख्तियारी नपुग्ने हो । केन्द्रबाट नै समयमै अख्तियारी नजाने समस्या थियो । सबैले साउन १ गतेबाट अख्तियारी पाउने हो भने काम हुन्छ । काम नगर्नेको बजेट फिर्ता हुने भनेको छ त्यसलाई कार्यसम्पादनसँग जोड्ने हो भने ठिक छ । सरेन्डर गराउने उद्देश्यले काम गर्ने हो भने त्यो सकारात्मक हुँदैन ।

निजी क्षेत्रको माग सम्बोधन
सौरभ ज्योति, सभापति, नेउवामहासंघ राजस्व समिति
समष्टीगतमा बजेट सकारात्मक छ । हाम्रो प्राथमिकतामा विनाशकारी भूकम्पपछि करको दर बढाउनु उपयुक्त थिएन । भूकम्पबाट उद्योग व्यवसायमा प्रतिकुल प्रभाव परेको बेलामा करको दर नबढाएर निजी क्षेत्रको माग संबोधन भएको छ त्यो स्वागतयोग्य छ ।

हामीले भ्याटको थ्रेसहोल्ड बढाउन माग गरेका थियौ । त्यो वृद्धि भएको छ तर हामीले माग गरेको भन्दा आधा कम छ । हामीले भ्याटको थ्रेसहोल्ड एक करोड पुर्‍याउन माग गरेका थियौ । १७ वर्षको अवधिमा थ्रेसहोल्ड नबढेकोले मूल्यवृद्धिको आधारमा करोड पुर्‍याउन माग गरेका थियौ । भ्याटको थ्रेसहोल्ड जति वृद्धि गर्नुपर्ने थियो त्यति नभएकोमा अलिकति गुनासो छ ।  कृषि, उर्जा, ट्रान्समिसन लाईन विस्तारमा बजेटले प्राथमिकता दिएको छ र बजेट पनि राम्रो विनियोजन भएको छ । बजेटमा उल्लेख भएका कार्यक्रम कार्यान्वयन हुनुपर्‍यो ।

एक सय जना भन्दा बढीलाई रोजगारी दिने उद्योगलाई आयकर छुट दिने कार्यक्रम आउनु स्वागतयोग्य छ । यो बजेट पूर्ण रुपमा हेर्न पाएको छैन । विशेष परिस्थितीमा बजेट आएकोले १०मा सात नम्बर दिन्छु ।