सुन बजार अझै केही समय अस्थिर रहने, नेपालमा भाउ तीन हजार रुपैयाँसम्मले घट्न सक्ने

बिजमाण्डू
२०७२ साउन ७ गते ००:०० | Jul 23, 2015
सुन बजार अझै केही समय अस्थिर रहने, नेपालमा भाउ तीन हजार रुपैयाँसम्मले घट्न सक्ने


काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट ओरालो लागेको सुनको भाउ विहीबार स्थिर छ । विहीबार भाउ स्थिर भएपनि सुन बजार अझै अस्थिर रहने अनुमान सुनचाँदी व्यवसायीहरुको छ । अन्तर्राष्ट्रय बजारले पनि यही संकेत गरेको छ ।

Tata
GBIME
Nepal Life

'आज भाउ घटबढ नभएपनि अझै सुन बजार अस्थि रहने संभावना छ,' सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, 'अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावले यहाँ असर गरेको हो । त्यसैले अझै घट्ने अनुमान गरेका छौं ।'

सुनको भाउ अझै तीन हजार रुपैयाँसम्मले घटेर तोलाको ४५ हजार रुपैयाँमा आइपुग्ने अनुमान शाक्यले गरे । 'अन्तर्राष्ट्रिय बजारमा एकहजार ७० डलर प्रति औंशसम्म आउने अनुमान छ,' उनले भने, 'यसरी हेर्दा पनि भाउ अझै घट्ने अनुमान गर्न सकिन्छ । तर यो एक दुई दिनमै बढ्न पनि सक्छ ।'

पछिल्लो केहीदिन यता घट्दो क्रममा रहेको सुनको मूल्य अहिले चार वर्ष यताकै कम भएको छ । सुनको भाउ निरन्तर घट्दै जाँदा सुन व्यवसायीहरु नै अन्यौलमा छन् । संसारभरकै प्रमुख बजारहरुमा सुनको भाउ कम भएको छ ।

अन्तर्राष्ट्रि बजारमा सुधारको संकेत
विहीबार विहानसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा केही वृद्धि देखिएको छ । गोल्ड डट ओआरजीका अनुसार सुन र चाँदी दुवैको भाउमा सुधारको संकेत देखिएको हो । विहीबार सुनको भाउ प्रति औंश एकहजार ९८ डलरको हाराहारीमा छ । यो भाउ बुधबारको तुलनामा झण्डै ७ प्रतिशतले धेरै हो । चाँदीको भाउमा पनि थोरै वृद्धि देखिएको छ ।

भारतीय बजारमा पनि विहीबार विहान सुनको भाउमा बृद्धि देखिएको छ । भारतीय सञ्चारमाध्यका अनुसार विहीबार भारतमा प्रति १० ग्राम सुनको भाउ २४ हजार सातसय ९० भारु छ । यो बुधबारको मूल्यको तुलनामा एकसय १३ भारुले धेरै हो ।

घट्नुको कारण के हो त ?
दि इकोनोमिस्टले सुनको भाउ निरन्तर ओरालो लाग्नुको कारणमा अमेरिकी डलरको बजबुतीलाई पहिलो मानेकोछ  । 'सुनको मूल्य डलरमै उल्लेख हुन्छ, अहिले अमेरिकी डलर बलियो हुँदै गएको छ र लगानीकर्ता विस्तारै पहेंलो धातुबाट अलग हुँदैछन् ,' इकोनोमिस्‍टमा प्रकाशित एउटा लेखमा भनिएकोछ,  'अमेरिकी अर्थतन्त्रमा भएको सुधारसँगै डलर बलियो भएको हो । यसले ब्याजदर वृद्धिको नयाँ परिदृश्‍य दिएको छ । जुन कुरा सुनका लागि खराब हो ।'