मौद्रिक नीति पछि फेरि के होला सेयर बजार?

बिजमाण्डू
२०७२ साउन ८ गते ००:०० | Jul 24, 2015
मौद्रिक नीति पछि फेरि के होला सेयर बजार?

प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको चार गुणा पुँजी बढाउने नेपाल राष्ट्र बैंकको निर्णय औपचारिक सार्वजनिक भइ नसक्दै बिहिबार सेयर बजारमा उछाल आयो । ४ दशमलव १६ प्रतिशतले बजार बढ्दा बैंकिङ परिसूचक भने झन्डै सात प्रतिशतले बृद्धि भयो ।
 
यसको अर्थ हो अहिले सम्म विमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धिको हल्लामा टिकी रहेको सेयर बजार अब बैंक तथा वित्तिय संस्थामा केन्द्रित हुनेछ । विमा समितिबाट पुँजी बृद्धिको औपचारिक जनाउ नआए पनि बिमा कम्पनीको पुँजी बढ्छ भन्दै त्यसतर्फ केन्द्रित भएका लगानीकर्तालाई राष्ट्र बैंकको औपचारिक निर्णयले मैदान उपलब्ध गराएको छ ।
 
अधिकांश बैंकर जस्तै सेयर बजार विश्लेषकले पनि राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन कठिन रहेको बताएका छन् । विश्लेषक रबिन्द्र भट्टराईले १० बर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारी घोषणा जसरी नै राष्ट्र बैंकको नीति आएको बताए । 'सुन्दा धेरै राम्रो लागे पनि यो नीति कार्यान्वयन हुन सम्भव छैन' उनले भने 'विशेष गरि प्रबर्धकहरुले नै पैसा थप गर्न सक्दैनन् ।'
 
नेपालमा सेयर बजार बढ्ने प्रमुख कारण कम्पनीहरुको प्रतिफल भन्दा पुँजी नै मुख्य आधार रहँदै आएको छ । २०६२/०६३ को जनआन्दोलन पश्चात बाणिज्य बैंकहरुको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुर्याउने निर्णयसँगै सेयर बजारमा उछाल सुरु भएको थियो ।
 
त्यो विषय मत्थर भए पछि 'क्र्यास'को नजिक पुगेको सेयर बजार पछिल्ला दुई वर्ष यता विमा कम्पनीको नाममा उकालो लाग्न प्रयासरत रह्यो । अबको ध्यान बैंक तथा वित्तिय संस्थामा केन्द्रित हुने निश्चित देखिएको छ ।   
 
अब सेयर बजारमा सूचीकृत होटल तथा टेलिकम जस्ता कम्पनी लगानीकर्ताको आँखामा नपर्ने भए नै, जुनसुकै समयमा पनि लगानी विकल्पको रुपमा रहेको जलविद्युतमा समेत आकर्षण घट्ने देखिन्छ । कतिपय साना जलविद्युत आयोजनाको प्राथमिक निस्कासनमै मनग्ने आवेदन पर्न कठिन हुने देखिएको छ ।
 
बैंक तथा वित्तिय संस्थाको सेयरमा आकर्षण त बढ्छ तर त्यसले भोलिका दिनमा पार्न सक्ने असर र प्रभाव बारे पनि विश्लेषण जरुरी छ । ३० बाणिज्य बैंकहरुसँग  कुल ९७ अर्ब २६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी छ ।
 
पछिल्लो दुई दशक यता नेपालमा वित्‍तिय क्षेत्रको तिब्र विकास भएको हो । अबको दुई बर्षमा दुई दशकको भन्दा ठुलो छलाङ वित्तिय क्षेत्रले मार्नु पर्ने भएको छ । ३० बाणिज्य बैंक मध्ये एउटा ग्रान्ड एक महिना भित्रै प्रभु बैंकसँग गाभिँदैछ । त्यस पछि बाँकी २९ बैंक सञ्चालनमा रहि रहने हो भने दुई खर्ब ३२ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ । अर्थात बाणिज्य बैंकको चुक्ता पुँजीका लागि मात्र एक खर्ब ३५ करोड रुपैयाँ रकम जुट्न आवश्यक छ ।
 
राष्ट्र बैंकले भने बमोजिम पुँजी पुर्याउन बाणिज्य बैंकमा मात्र थप एक खर्ब ३५ अर्ब रुपैयाँ चाहिने हो । विकास बैंकहरुका लागि थप एक खर्ब भन्दा बढि रकम आवश्यक हुन्छ । अहिले बिकास बैंकहरुको कुल चुक्ता पुँजी २६ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसलाई चार गुणा बढाउन थप एक खर्ब सात अर्ब रुपैयाँ चाहिन्छ ।
 
ग बर्गका फाइनान्सक कम्पनीको चुक्ता पुँजी भने १६ अर्ब १२ करोड ४५ लाख रुपैयाँ छ । यी कम्पनीको चार गुणा चुक्ता पुँजी बृद्धि गर्न साढे ६४ अर्ब रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ ।
 
यसरी पुँजी बृद्धिका लागि मात्र तीन खर्ब रुपैयाँ भन्दा बढि रकम आवश्यक हुन्छ । यत्रो रकम थप गर्ने लगानीकर्तालाई त्यसपछिको न्यायोचित प्रतिफल के होला भन्ने आजै देखि सान्दर्भिक छ ।
 
विगतमा पुँजी बढाउँदा अधिकांश बैंक तथा वित्तिय संस्थाले वोनस या हकप्रद सेयर जारी गरेका थिए । अहिले पनि सेयर लगानीकर्ताको अपेक्षा त्यहि हो । सोही कारण बिहिबार एकाएक बजारमा उछाल आयो ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अधिकारीले बजारमा मनग्ने पैसा रहेको हुँदा पुँजी पुर्याउन कठिन नहुने बताएका छन् । तर चुक्ता पुँजी पुग्नु मात्र सबैथोक होइन । पुँजी पुगे पछि कम्पनीका लागि त्यस अनुरुपको विजनेश गर्ने आधार पनि तयार हुनु पर्छ । अहिले सञ्चालनमा रहेका सबै बैंकले पुँजी पुर्याए भने त्यस पछिको प्रतिफल के हुने भन्नेमा चिन्तन सुरु हुन जरुरी छ ।
 
आठ अर्ब रुपैयाँ पुँजी पुगेको बैंकले १० प्रतिशत लाभांश दिन समेत कम्तिमा एक अर्ब रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गर्नु पर्छ । जुन बैंकहरुको सन्दर्भमा लागु हुन धेरै कठिन छ । त्यसका लागि धेरैजसो बैंकले नाफा दोब्बर बढाउनु परेछ ।
 
सरकारको लक्ष पुरा भएर आगामी दुई बर्ष लगातार ६ प्रतिशतको आर्थिक बृद्‍धि हासिल भएमा मुलुकको कुल गार्हस्थ उत्पादन २४ खर्ब रुपैयाँ हाराहारीमा पुग्नेछ । यो अवस्थामा मुलुकको आर्थिक गतिविधि भन्दा कैयन् गुणा फड्को मारेर वित्तिय क्षेत्रले मात्र क्रान्ति गर्छ भन्ने कल्पना दिवास्वप्न मात्र हुन्छ । त्यसैले चुक्ता पुँजी बढ्छ भनेर हतारमा उछाल ल्याइएको सेयर बजार वित्तिय क्षेत्रबाट सामान्य प्रतिफल समेत पाउन नसकेर क्र्यासको अवस्थामा नधकेलिएला भन्न सकिन्न ।
 
कम्पनीको व्यवसायीक आकारको तुलनामा धेरै ठुलो पुँजी संरचना भएमा त्यो आफैँमा बोझ हुन्छ भन्ने प्रमाण नेपाल टेलिकममा देखिइ सकेको छ । सेयर बजारमा सुचिकृत कम्पनी मध्ये सर्वाधिक नाफा कमाउने भएपनि टेलिकमप्रति खासै आकर्षण छैन । टेलिकमको चुक्ता पुँजी उच्च पुर्याइएकै कारण यसो भएको हो ।
 
टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्‍पनीले गत आवमा ११ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । धेरै पुँजीकै कारण यति धेरै नाफा गरे पनि कम्पनीको प्रति सेयर आम्दानी ७८ रुपैयाँ मात्र रह्यो । अर्कोतिर थोरै चुक्ता पुँजीमा पनि चुस्त व्यवसाय गरेर लगानीकर्तालाई उच्च मुनाफा खुवाउन सकिन्छ भन्ने प्रमाण युनिलिभर नेपाल लिमिटेडले दिइ सकेको छ ।
 
चुक्ता पुँजी आठ अर्ब पुर्याए पनि बाणिज्य बैंकहरुले प्रतिफल टेलिकमको हाराहारीमा पुग्ने सम्भावना पनि देखिँदैन । दुई बर्षमा लगानीकर्ताले पैसा थपेर पुँजी पुर्याए पनि व्यवसायले त्यसरि फड्को मार्न सक्दैन । व्यवसाय नबढुन्जेल मुनाफा बढ्ने आधार तयार हुन सक्दैन ।
 
त्यसैले सेयर बजारमा तत्काल धेरै ठुलो उछाल ल्याइए त्यो स्वयं लगानीकर्ताका लागि घातक हुनसक्छ ।