सेयर बजार बढ्छ तर जोखिम पनि त्यत्तिकै छ, जुन पायो त्यहि सस्थाको सेयर किन्दा घाटा लाग्न सक्छ

बिजमाण्डू
२०७२ साउन १० गते ००:०० | Jul 26, 2015
सेयर बजार बढ्छ तर जोखिम पनि त्यत्तिकै छ, जुन पायो त्यहि सस्थाको सेयर किन्दा घाटा लाग्न सक्छ

Tata
GBIME
Nepal Life

काठमाडौं । मौद्रिक नीतिले बैंक तथा वित्तीय सस्थाको पूँजी बृद्धिको घोषणा गरेपछि आज ( आइतबार) सेयर बजारमा पहिलो पटक कारोबार हुँदैछ । बिहीबार मौद्रिक नीति सार्वजनिक भइरहँदा सेयर बजारमा एकै पटक उछाल आयो । एक घण्टाभन्दा पनि कम समयमा बजार ३५ अंकले बढेको थियो । 

 
आइतबार बजार बढ्ने पक्का जस्तै छ । केही लगानीकर्ताले शुक्रबार र शनिवार संभावित विक्रेतासँग सेयर बुक गरेका छन् । विहीबारको तुलनामा न्युनतम १० प्रतिसत र अधिकतम २० प्रतिसतसम्म धेरै मुल्य तिर्नेगरि यस्ता संझौता भएका छन् । यो कारोबार आइतबारदेखि सुरु हुनेछ । 
 
‘हाम्रो बजार बैंक तथा वित्तीय सस्थाको मात्रै हो जस्तो छ । अन्य कम्पनीहरुको हिस्सा पनि सानो छ र कारोबार पनि थोरै मात्र हुन्छ’,  लगानीकर्ता तथा बजारका विश्लेषक निरञ्जन टिवरेवाला भन्छन्, ‘बजार त पक्का बढ्छ, तर जोखिमयुक्त नहोस भनेर हेर्नुपर्छ । लगानीकर्ताले कम्पनीको बारेमा अध्ययन गरेर मात्रै सेयर किन्नु उपयुक्त हुन्छ ।’ 
 
बजार कति माथि जान्छ भनेर हेर्नुभन्दा कहाँ पुगेपछि जोखिम हुनसक्छ भनेर विश्लेषण गर्नुपर्ने सुझाव बजारका विज्ञहरुको छ । 
 
के हुनसक्छ बजारमा ? 
केही दिनसम्म बजार बढ्ने संभावना धेरै छ । विशेषगरी ठूला बाणिज्य बैंक जसले मर्ज वा पुजी थपेर पनि आठ अर्ब रुपैयाँ पुर्याउन सक्छन् भन्ने लगानीकर्ताले ठान्छन्, त्यस्ता बैंकको सेयर मुल्य निकै बढ्ने छ । नाफा धेरै कमाउने बैकहरुको मुल्य पनि निकै माथि जानसक्ने अनुमान छ । 
 
साना र नाफा पनि थोरै कमाउने बैंक तथा वित्तीय सस्थामा लगानीकर्ताको ठूलो आकर्षण हुँदैन । सेयर बजारमा मुल्य त बढ्छ तर ठूला सस्थाहरुको तुलनामा कम मात्रै बढ्ने संभावना रहेको लगानीकर्ताहरु बताउँछन् । अहिले नै मुल्य धेरै माथि पुगेका लघुवित्त सस्था, चुक्तापूँजी बृद्धि गर्नै नसक्ने अवस्थामा रहेका साना सस्थाहरु र सुशासनमा समस्या रहेका सस्थाको सेयरमा आकर्षण कम हुनेछ । 
 
आइतबार थोरै रकमको मात्रै सेयर कारोबार हुनेछ । बजारमा आइतबार किन्ने चाप धेरै हुने र विक्री गर्नेहरु निकै कम हुनेछन् । बैंक तथा वित्तीय सस्था बाहेकका अन्य कम्पनीको सेयर विक्री गर्ने र त्यो पैसाले बैंकहरुको सेयर किन्ने संभावना पनि धेरै छ । तर बैंक तथा वित्तीय सस्थाको सेयरमा तत्काल खरिदकर्ता आकर्षित हुँदैनन । 
 
विगत दुई वर्षमा धेरै बैंक तथा वित्तीय सस्थाको सस्थापक सेयर साधारण समूहमा परिवर्तन भएको छ । साधारण समूहमा परिवर्तन भएको सेयर मुल्य बढेको यही मौकामा विक्री हुने र पुराना लगानीकर्ताले पैसा पुजीबजारबाट बाहिर लैजाने संभावना रहन्छ ।
 
‘मौद्रिक नीतिका कारण पूँजी बजार त बढ्छ । तर बजारको पैसा यही रहन्छ कि रहँदैन भन्ने हो । पूँजी बजारको पैसा पूँजी बजारमै रह्यो भने समस्या हुँदैन, लगानीकर्ता तथा विश्लेषक अम्बिकाप्रसाद पौडेल भन्छन्, बजारबाट पैसा अन्य क्षेत्रमा गयो भने समस्या आउन सक्छ ।’ पहिले सस्थापक समूहमा बसेका लगानीकर्ताले पर्याप्त रिटर्न लिइसकेका छन् । मूल्य बढ्दा उनीहरुले ठूलो नाफा कमाउन सक्छन् । त्यसैले यस्ता लगानीकर्ताले पूँजी बजारबाट पैसा बाहिर लैजाने संभावना हुन्छ । 
 
साना लगानीकर्तालाई जोखिम हुनसक्छ
साना लगानीकर्ताले कम्पनीको विश्लेषण कम गर्छन । बजार बढेको देखेर जुन कम्पनीको सेयर पायो त्यही किन्ने संभावना धेरै हुन्छ । ‘अहिले समस्याग्रस्त भएका गोर्खा विकास बैंक, नेपाल सेयर मार्केट जस्ता सस्थाको सेयर मुल्य दुई हजारको हाराहारीमा पुगेको थियो, लगानीकर्ता टिवरेवाला भन्छन्, लगानीकर्ताले कम्पनीको सहि विश्लेषण गर्न नसक्दा यस्तो भएको हो ।’ 
 
सेयर मुल्य केही बढेपछि ठूला लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्न थाल्छन् । त्यसबेला बढेको मुल्यमा साना लगानीकर्ताले बजारमा सेयर किन्न पाउँछन् । ठूला लगानीकर्ताले सेयर बेच्ने र सानाले किन्ने हुँदा आपुर्ति बढ्छ र मुल्य फेरि ओर्लिन थाल्छ । बढेको मुल्यका आधारमा कम्पनीहरुले दिने लाभांस पर्याप्त हुँदैन । लाभांसको अंश थोरै हुनथालेपछि लगानीकर्ताले घाटा खाएर सेयर बेच्नुपर्ने हुनसक्छ । 
 
ऋणको माग बृद्धि
भुकम्पपछि जम्मा आठ अर्ब रुपैयाँ मात्र बैंकको ऋण बढेको छ । निक्षेप १० गुणाले बढ्दा लगानी भने खुम्चिएकाले सेयरमा बैंकको ऋण जाने सम्भावना रहन्छ । 
 
झन्डै तीन महिनादेखि ऋण लगानी नगरी बसेका बैंकहरुमा सेयर बजारबाट ऋणको माग आउने छ । सरकारले पुननिर्माणमूखि बजेट ल्याएपनि कार्यान्वयनको पाइलोसम्म पनि सर्न नसकेका कारण बैंकहरुले निर्माण क्षेत्रमा तत्कालै लगानी गर्ने सम्भावना छैन । उनीहरुले सेयर बजारमा लगानी गर्ने छन् । बजारबाट प्रतिफल लिएपछि विगतमा जस्तै लगानीकर्ता घरजग्गातिर लाग्ने सम्भावना पनि उत्तिकै छ । 
 
कुल लगानीको डेढ प्रतिशत बजारमा लगानी गरेका बैंकहरुले सेयर ऋणको मात्रा बढाउन पर्याप्त स्थान पनि छ ।  विगतमा भन्दा सस्तो ब्याज र तरलता सय अर्बभन्दा माथि रहेकाले तत्कालै  ब्याज दर माथि जाने संकेत नभएकाले पनि पुँजी बजारमा बैंक ऋण लगानी हुने सम्भावन छ ।