व्यक्तिगत लगानीकर्ता नै ओइरिए सेयर खरिद गर्न, धेरै कारोबार बिटी मार्फत

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015

काठमाडौँ । सोमबार एकै दिन नेपाल स्टक एक्सचेञ्जमा एक अर्ब ३० करोड रुपैयाँको सेयर कारोवार भयो । यो अघिले सम्मकै उच्च कारोबार हो ।
बिहिबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजी चार गुणा बढाउने निर्णय गरेसँगै सेयर बजारको कारोबार बढ्न थालेको थियो ।

Tata
GBIME
Nepal Life

हिजो भने कारोवार रकमले उच्च रेकर्ड कायम गर्यो । एक बर्ष अघि एक अर्ब २० करोड रुपैयाँको कारोवार भएको थियो । अहिले सम्मको उच्च कारोवार रकम त्यहि थियो ।

मंगलबार बिहान सम्म पनि यस्तो देखियो नेप्सेको साइट

आखिर कसले किन्यो एकै दिन यत्रो रकमको सेयर ? नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी भन्छन् 'बजारका पुरानै लगानीकर्ता आकर्षित भएका हुन् ।' उनका अनुसार थोरै मात्र नयाँ लगानीकर्ता थपिएका छन् ।

 
संस्थागत भन्दा व्यक्तिगत रुपमै सेयर किन्नेको चाप बढि भएको ब्रोकरहरुको भनाइ छ । बजारका ठुला लगानीकर्ताले माग चाप देखेर सेयर बिक्रीका लागि राखिदिए । बजार बढ्छ भन्ने अपेक्षाका आधारमा बिक्रीका राखिएका अधिकांश सेयर नयाँ लगानीकर्ताले किनेका छन् ।
 
उनीहरुले अल्पकालमा नाफा कमाउने उद्देश्यले सोमबार ठुलो परिमाणमा सेयर किनेका छन् । उनीहरुको रोजाइमा धेरै नाफा कमाउने ठुला आकारका बाणिज्य बैंक छन् ।
 
सोही कारण सोमबार थोरै चुक्ता पुँजी र व्यवसाय आकार मध्यम भएका अधिकांश बाणिज्य बैंकको सेयर मूल्य घटेको छ । ठुलो व्यवसाय आकार र पुँजी भएका बैंकको सेयर मूल्य बढेको छ । आइतबार भने अधिकांश सानो आकार भएका बाणिज्य बैंकको सेयर मूल्य बढेको थियो ।
 
सोमबार सेयर किन्ने अधिकांशले 'बिटी'मा राखेका छन् । तत्काल नाफा कमाएर बेचि हाल्ने अभिप्रायले नै लगानीकर्ताले यसो गरेका हुन् ।
 
ब्रोकर एसोसिएसनका अध्यक्ष रेग्मी भन्छन् 'भोलीका दिनका आफ्नै नाफाले पुँजी पुर्याउन सक्ने बैंक तथा वित्तिय संस्थामा लगानीकर्ता तानिका छन्, थोरै पुँजी र सानो आकारमा नाफा कमाउने बैंकको मूल्य घटेको कारण पनि त्यहि हो ।'

धेरै नाफा कमाउने बैंकमा सेयरधनीले थप पैसा लगाइ राख्नु नपर्ने र वोनस सेयरबाटै राष्ट्र बैंकले तोके बमोजिम चुक्ता पुँजी पुर्याउन सक्ने हुँदा केहि समय लगातार मूल्य उकालो लाग्ने लगानीकर्ताको अनुमान छ ।
 
तर, थोरै पुँजी र नाफा भएका बैंकको पुँजी पुर्याउन हकप्रद सेयर या अरु कुनै माध्यमबाट सेयरधनीले पैसा थप्नु पर्ने या मर्जरमा जानु पर्नै अनुमानका आधारमा नै लगानीकर्ता सतर्क देखिएको हुन सक्ने ब्रोकरहरुको बुझाइ छ ।
 
सोमबार नेपाल स्टक एक्स्चेञ्जको वेवसाइट अधिकांश समय डाउन रह्यो । लगानीकर्ताको अत्यधिक 'हिट'का कारण यसो भएको नेप्सेले जनाएको छ । दिनभरमा १५ लाख पटक नेप्सेको वेवसाइट हिट हुँदा चाप थेग्न नसकेर डाउन भएको जनाइएको छ ।  यसले पनि व्यक्तिगत लगानीकर्ताको चाप बढेको पुष्टि गर्छ । 

बजार साढे सात अंकले घट्दा पनि नेप्सेको वेवसाइटले बेलुका अवेर सम्म बढेको देखाएको थियो । म‌ं‌गलबार बिहान सम्म पनि नेप्सेको साइट राम्रो सञ्चालनमा छैन ।
तर मंगलबारको कारोवार वेवसाइटमा देखिन सक्ने जानकारी नेप्सेले दिएको ।

सोमबार सेयर किन्ने सबैले मंगलबार नै बेच्दैनन् भन्ने अनुमानका आधारमा आजको कारोवार रकम त्यहि उच्च नहुने ब्रोकरहरु बताउँछन् ।