पूँजी बजार घटेपनि ठूला कम्पनीमा अझै किन्नेकाे चाप, बढेको मुल्यमा नाफा बुक गर्न थाले लगानीकर्ता

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
काठमाडौं । नेप्से दोस्रो दिन पनि निकै घट्यो । कारोबार रकममा बनेको नयाँ रेकर्ड पनि आधामा झरेको छ । नेपाल स्टक एक्स्चेन्जले दिएको जानकारी अनुसार मंगलबार परिसूचक १८ अंकले ओर्लियो । त्यस्तै कारोबार रकम ५४ करोड १२ लाख रुपैयाँमा सिमित भयो ।
 
सोमबार बजार सात अंकले घट्दा कारोबार रकम भने एक अर्ब ३० करोड रुपैयाँ पुगेको थियो । सोमबार किन्ने र बेच्ने दुबैमा उत्तिकै चार थियो भने मंगलबार अधिकांस समय विक्रीमा चाप पर्यो । 
सोमबारसम्म ठूला कम्पनीबाट कमाएको नाफा बुक गर्ने योजनामा लगानीकर्ता लागे । यसले विक्रीमा बढी चाप पर्यो । कारोबार सुरु भएको पहिलो एक घण्टा सम्म बजार २२ अंकले घटेको थियो भने त्यसपछि सुध्रिएर पहिलेकै अवस्थामा पुग्यो । दोस्रो चरणमा बजार पुनः घटेर १८.२६ अंकले १०२८.१४ अंकमा रोकियो । 
 
अन्य बाहेकका सबै समूहको सूचक घट्यो । सबैभन्दा धेरै बैंकिङ समूहले सेयर बजार तल झारेको हो । बैंकिङ समूहको सूचक २३.६ अंकले घट्यो । जलविद्युत, होटल, विकास बैंक र इन्स्योरेन्स समूहले बजारलाई तल ओराल्न सहयोग गरे । 
 
बाणिज्य बैंक समूहको मात्रै ३४ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक समूहको पाँच करोड ४५ लाख, इन्स्योरेन्स समूहको तीन करोड ५६ लाख र जलविद्यूत समूहको दुई करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
दुई दिनमा बजार २५ अंकले उक्लियो । मौद्रिक नीतिले बैंक तथा वित्तीय सस्थाको चुक्ता पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था गरेपछिको दुई दिनमा  बजार ९० अंकले बढेको थियो । 
 
बोनस सेयर दिएर तोकिएको चुक्ता पूँजी पुर्याउन सक्ने संभावना रहेका ठूला कम्पनीको सेयरमा मंगलबार पनि चाप देखिएको ब्रोकर कम्पनीहरुले जनाएका छन् । लगानीकर्ता साना कम्पनीको सस्ता सेयर भन्दा नाफा बढाउँदै गएका ठूला बैंकहरुको सेयरमा आकर्षित भएका छन् । 
 
केही लघुवित्त कम्पनीका लगानीकर्ताले धेरै पैसा गुमाएका छन् । साना किसान विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता एक सय ७९ रुपैयाँ, स्वाबलम्वन विकास बैंकका लगानीकर्ताले एक सय ५२ रुपैयाँ, स्वरोजगार लघुवित्तका लगानीकर्ताले एक सय ४५ रुपैयाँ, डिप्रोक्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले एक सय १३ रुपैयाँका दरले गुमाए । 
 
सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ७१ रुपैयाँ, बागमति डेभलपमेन्ट बैंकका लगानीकर्ताले २२ रुपैयाँ, वेष्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले प्रतिकित्ता १८ रुपैयाँका दरले कमाएका छन् । 
 

Tata
GBIME
Nepal Life