तटबन्ध निर्माणमा भारतले दियो थप ३८ करोड, बाग्मती, लालबकैया र कमलामा तटबन्ध बनाउने

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
तटबन्ध निर्माणमा भारतले दियो थप ३८ करोड, बाग्मती, लालबकैया र कमलामा तटबन्ध बनाउने


काठमाडौँ । भारत सरकारले नेपालका तीनवटा नदीमा तटबन्ध निर्माण गर्न ३८ करोड ६२ लाख ६ हजार थप सहयोग उपलब्ध गराएको छ ।
 
उक्त रकम बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणको बाँकी काम सम्पन्न गर्न खर्च गरिने छ ।
 
सिँचाइ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा सिँचाइमन्त्री एनपी साउदलाई नेपालका लागि भारतीय राजदूत रन्जित रायले उक्त रकमको चेक हस्तान्तरण गरे ।
 
नेपाल–भारत डुवान तथा बढी नियन्त्रण व्यवस्थापन संयुक्त समितिको नवौँ बैठकको निर्णयअनुसार भारतले नेपाल सरकारलाई उक्त रकम उपलब्ध गराएको हो ।
 
यसअघि, भारतले बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण गर्न तीन अर्ब ४६ करोड ५४ लाख उपलब्ध गराइसकेको सिँचाइ मन्त्रालयका प्रवक्ता रामानन्दप्रसाद यादवले जानकारी दिए ।
 
उक्त रकमबाट बाग्मती नदीमा ४० किमी, लालवकैया नदीमा ६१ किमी र कमला नदीमा ६८ किलोमिटर तटबन्ध निर्माण भइसकेको बताइएको छ । भारत सरकारले पश्चिम राप्ती, मोहना, दोदा र लखनदेहीमा तटबन्ध निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । रासस

Tata
GBIME
Nepal Life