भूकम्पले भत्केका विद्यालय चौधरी फाउण्डेशनले पुनर्निर्माण गर्‍यो, दुई विद्यालय हस्तान्तरण

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
भूकम्पले भत्केका विद्यालय चौधरी फाउण्डेशनले पुनर्निर्माण गर्‍यो, दुई विद्यालय हस्तान्तरण
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएका सरकारी विद्यालय भवनमध्ये एकसय विद्यालयको पूनर्निर्माण गर्ने प्रतिबद्धता अनुसार चौधरी फाउण्डेशनले पहिलो चरणमा काभ्रेका दुई सरकारी विद्यालयको पूनर्निर्माण गरेको छ । 
 

फाउण्डेशनले भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको धुलिखेल नगरपालिका २ मा रहेको बालमन्दिर निम्न माध्यमिक विद्यालय र उग्रतारा जनागाल ८ बाहुनडाँडाँमा रहेको जनज्योति माध्यमिक विद्यालयको पूनर्निर्माण गरेको हो । पूनर्निर्माण भएका दुई वटै विद्यालय मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । फाउण्डेशनले पहिलो चरणमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये बालमन्दिर निमावि र जनज्योति माविको पूनर्निर्माण गरेको हो । 
 
पुनर्निर्मित भवन हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले फाउण्डेशनले भूकम्पबाट प्रभावित बालबालिकालाई छिटोभन्दा छिटो त्यसको पीडा बिर्सन सक्ने वातावरण निर्माण गर्न चाहेको बताए । उनले फाउण्डेशनले पुनर्निर्माण गरेका दुई विद्यालयका भवनले विद्यार्थी, शिक्षकको पीडा बिर्साउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । चौधरीले फाउण्डेशनले भूकम्पबाट क्षतिग्रस्त भएका एकसय सरकारी विद्यालय र एक हजार घर निर्माण गर्ने लक्ष्य लिएको बताए । 

Tata
GBIME
Nepal Life

उनका अनुसार भूकम्प पीडितका लागि साढे दुईसय ‘ट्रान्जिसनल होम’ निर्माण सम्पन्न गरि हस्तान्तरण भईरहेको र पाँचसय घर निर्माणाधीन अवस्थामा छन् । 

 
कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले भूकम्पबाट देशभरका करिब ३५ हजार कक्षाकोठा पूर्ण रुपमा र १७ हजारभन्दा बढी कक्षाकोठा आंशिक रुपमा क्षति भएको बताए ।
 
क्षतिग्रस्त सरकारी विद्यालयहरुको पूर्ननिर्माणका लागि चौधरी फाउण्डेशनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ । भूकम्प प्रभावित क्षेत्रका एकसय सरकारी विद्यालय पूननिर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको फाउण्डेशनले जनाएको छ । 


 
फाउण्डेशनले हालसम्म काठमाडौंको मच्छेगाउँमा ७०, भक्तपुरको चाँगुनारायणमा ६०, ललितपुरको बुरुञ्चुली र लोकुण्डोलमा ७६ वटा ट्रान्जिसनल होम निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेशन/पब्लिक रिलेसन जनरल म्यानेजर मधुसूदन पौडेलले जानकारी दिए । एउटा विद्यालय पुनर्निर्माण गर्नका लागि करिब ८ लाख रुपैँया खर्च भएको फाउण्डेशनले जनाएको छ ।