सरकारी भ्याट छुट उद्योगीलाई मात्रै, चिनीको मूल्य नघट्ने, उद्योगीले उखुको मूल्य तिर्न नसक्ने

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
सरकारी भ्याट छुट उद्योगीलाई मात्रै, चिनीको मूल्य नघट्ने, उद्योगीले उखुको मूल्य तिर्न नसक्ने


काठमाडौं । सरकारले चिनी उद्योगलाई भ्याट छुट दिएपनि उपभोक्ताले भने चिनीको मूल्य नघट्ने भएको छ । सरकारले निर्णय गर्नु अघि नै चिनी बजारमा गैसकेको भन्दै उद्योगीले चिनीको मूल्य नघटाउने अडान सार्वजनिक गरेका हुन् । उद्योगीको यस्तो अडानले सरकारी निर्णयबाट उपभोक्ताले कुनै राहत पाउँदैनन् ।

Tata
GBIME
Nepal Life

'सरकारले निर्णय गर्नु अघि नै यो सिजनमा उत्पादित ७० प्रतिशत भन्दा धेरै चिनी बजारमा गैसकेका थिए,' चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भने, 'सरकारले दिएको सुविधा अनुसार १२ प्रतिशतसम्म मूल्यमा असर गर्ने देखिन्छ तर यस पटक हामीले मूल्य कम गर्न सक्ने अवस्था छैन ।'

सरकारले बजेटमार्फत चिनी उद्योगलाई दिँदै आएको भ्याट छुटको दायरा ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्‍याएको थियो । उद्योगीले २० प्रतिशत भन्‍दा धेरै भ्याट छुट पाएपनि उपभोक्तालाई भने राहत नहुने देखिएको हो । अहिले चिनीको फ्याक्ट्री मूल्य ५४ रुपैयाँ प्रतिकिलो रहेको छ । तर खुद्रा पसलमा भने चिनी प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

सरकारले तोकेको उखुको न्यूनतम मूल्य तिर्न आफूहरुले नसक्ने पनि उद्योगीले बताएका छन् । 'हाम्रो सहमति बिना सरकारले एकतर्फी रुपमा हस्तक्षेप गरेर उखुको मूल्य तोकेको छ,' अग्रवालले भने, 'हामीले यो मूल्य तिर्न सक्दैनौं, अहिलेको अवस्थामा उद्योगीले ठुलो नोक्सान ब्यहोर्नु परेको छ ।'

सरकारले उखुको न्यूनतम मूल्य चारसय ६१ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ । तर उद्योगीले भने चारसय ३६ रुपैयाँ भन्दा धेरै तिर्न नसकिने बताउँदै आएका छन् । 'चारसय ३६ तिर्दा त हामीलाई नौ रुपैयाँ क्विन्टल घाटा लाग्छ,' उनले भने । चिनी उद्योगीले आगामी सिजनमा उखुको मूल्य तीसय ८० रुपैयाँ भन्दा धेरै तिर्न नसक्ने पनि बताए ।

भारतबाट तस्‍करीको चिनी काठमाडौं आइपुगेको भन्दै आफूहरु त्यसले ठुलो मर्कामा परेको पनि उद्योगीको गुनासो छ । 'भारतमा चिनीको मूल्य ३१ रुपैयाँ प्रतिकिलो छ, १५ प्रतिशत भन्सार तिरेर काठमाडौं ल्याए पनि हामी प्रतिस्पर्धा गर्न सक्दैनौं,' संघका उपाध्यक्ष दिवाकर गोल्छाले भने ।

चिनी उद्योगीहरुले अहिले पनि लागत भन्दा कम मूल्यम चिनी बेच्नु परेको भन्दै यस्तै अवस्था रहिरहे अर्को सिजनमा उखुको मूल्य भुक्तानी गर्न पनि नसक्ने अवस्था आउने बताएका छन् । उनीहरुले चिनी उद्योगबाट उत्पादित बिजुली सरकारले किन्नुपर्ने माग पनि गरेका छन् ।

नेपालमा अहिले १२ वटा चिनी उद्योग संचालनमा छन् । यी उद्योगले वर्षको एक लाख ८० हजार मेट्रिक टन उत्पादन गर्छन् । चिनी उद्योगमा ३० अर्ब रुपैयाँ लगानी भएको उद्योगीले बताएका छन् ।