आरबिआइ गभर्नर राजन चिन्तामा, भन्छन्– राम्रा र प्रतिभावान अर्थशास्त्री नै भएनन्, कहाँ हराए?

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
मुम्बइ । भारतीय केन्द्रीय बैंकका गभर्नर डा. रघुराम राजन अहिले एकदमै चिन्तामा छन् । उनको चिन्ता भारतीय अर्थतन्त्र खस्किने पो हो कि भन्नेमा होइन ।
 
राजनको चिन्ता हो– देशमा क्षमतावान अर्थशास्त्री भएनन् । सवा अर्ब जनसंख्या भएको भारतमा अर्थशास्त्री हुँदै नभएका भने होइनन्, तर देशको हितमा भविस्यलाई हेरेर नीति बनाउने अर्थशास्त्री नभएकोमा राजनको चिन्ता हो ।
 
रिजर्भ बैंक अफ इन्डियाका गभर्नर राजनले मेघनाद देसाइ एकेडेमी अफ इकोनोमिक्सको उद्घाटन गर्दै भने– राम्रा अर्थशास्त्रीहरु नभएका कारणले राम्रो नीति निर्माण गर्ने काम एकदमै चुनौतीपूर्ण हुँदै गएको छ । 
 
आइआइएम अहमदावादका गोल्ड मेडलिस्ट राजन भन्छन्– थाहा छैन सबै प्रतिभाहरु कहाँ हराइरहेका छन् । राम्रा र प्रतिभावान अर्थशास्त्रीहरु नहुँदा नीति निर्माण गर्न एकदमै कठिन हुँदै गएको छ । 
 
राजनले आफ्नो दिनभरीको काम साँझ फर्केर हेर्दा आफूलाई एकदमै निराशा हुने पनि बताए । ‘खै कहाँ हराउँदैछन् सबै प्रतिभाहरु,’ उनले भने ।
 
दिल्ली, मुम्बइलगायत देशभरी नै राम्रा अर्थशास्त्रीहरुको आवश्यकता भएको बताए । ‘यस्ता अर्थशास्त्री जो तर्कशिल हुन् र अवस्थालाई राम्रोसँग केलाउन सकुन्,’ उनले भने, ‘यस्ता प्रतिभा अहिले हराएर जान थालेका छन् ।’
 
राजनले अर्थशास्त्रीको सम्पूर्ण जग ‘बुझाइ’ मा टिक्ने भन्दै यस्ता अर्थशास्त्रीले बेलैमा मूल्य सिद्धान्त र सामान्य सन्तुलनलाई प्रक्षेपण गर्न सक्ने बताए ।
 
पछिल्लो समय अधिकांस नीति नियमहरु आधारभूत सिद्धान्तहरुलाई उपेक्षा गरेर बनाउँदा भविस्यमा समस्या हुने गरेको राजनको बुझाइ छ । राजन अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री भएर पनि काम गरिसकेका व्यक्ति हुन् । उनी सन्सारकै नम्बर एक विश्वविद्यालय मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का विद्यावारिधि हुन् । -एजेन्सी

Tata
GBIME
Nepal Life