मितेरी यातायातको टिकट अनलाइनबाटै लिन सकिने, इसेवासँगको सहकार्यमा अनलाइन टिकेटिङ सुरु

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
मितेरी यातायातको टिकट अनलाइनबाटै लिन सकिने, इसेवासँगको सहकार्यमा अनलाइन टिकेटिङ सुरु
काठमाडौं । पूर्वी नेपालमा यातायात सेवा प्रदान गर्दै आएको मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने भएको छ । मितेरीले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाएको हो । 
 
मितेरी यातायातबाट यात्रा गर्न चाहनेले घरबाटै अथवा नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न टिकट काट्न सक्ने कम्पनीले जनाएको छ । मितेरी यातायातको वेवसाइट www.miteriyatayat.com.np लग अन गरी टिकट खरिद गर्न सकिने पनि जनाइएको छ ।

Tata
GBIME
Nepal Life

इसेवा एकाउन्ट भएका यात्रुले आफ्नो घरबाटै मितेरीको टिकट काट्न सक्ने र इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 

बसटिकट काट्नकैे लागि पनि यात्रुले काउन्टरसम्म धाउन नपरोस् र उनीहरुले घरबाटै टिकट काटी सिधै बस चढ्न सकुन् उद्देश्यले अनलाइन टिकटिङ सुरु गरिएको मितेरी यातायातका संचालक बिक्की गुरागाईंले बताए । अनलाइनबाट टिकट काट्दा टिकट दोहोरो पर्ने, मनपरी हुने जस्ता समस्या यात्रुले भोग्नु नपर्ने गुरागाईंले जानकारी दिए । 
 
मितेरी यातायातले सुरुदेखिनै एसी, डिलक्स् जस्ता उच्च सुविधा भएका गुणस्तरीय यातायातका साधन संचालन गरेको र आफूले पनि विकसित मुलुकमा अनलाइन टिकटिङले निकै सहजता ल्याएको देखेर यो सुविधा सुरु गरीएको उनले बताए । 
 
अनलाइनबाट टिकट काटी बिना कुनै झन्जट सिधै बस चढ्न सकिने छ । अनलाइनबाट टिकट काटी प्रिन्टेड टिकट अथवा यात्रुको मोबाइलमा आएको एसएमएसका आधारमा गाडीमा चढ्न सकिने छ । अनलाइन टिकट काट्दा यात्रुले काउन्टरकै दररेटमा आफूले चाहेको सिट छानेर काट्न सक्नेछन् । 
 
अस्तब्यस्त बनेको यातायात क्षेत्रलाई थप व्यवसायिक, मर्यादित् र सम्मानित बनाउन अनलाइन टिकटिङले ठुलो भुमिका खेल्ने मितेरी यातायातको दाबी छ । हरेक सिट चार्ट अनलाइनमा देखिने हु“दा सिट लुकाउने तथा दोहोरो टिकट पर्ने संभावना नरहने कम्पनीले जनाएको छ । सबैकुरा सफ्टवेयरले नियन्त्रण गर्ने भएकाले पारदर्शीता कायम हुने र यात्रुहरुको विश्वास जित्न सकिने मितेरीको विश्वास छ । 
 
मितेरी यातायातले अनलाइन टिकटिङको सेवा सुरु गरेको अवसरमा अनलाइन टिकटिङमा विशेष छुटटको व्यवस्थासमेत गरेको छ । कम्पनीले अनलाइनमार्फत टिकट काट्ने ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ । 
 
मितेरीले अनलाइन टिकटिङ सुरु गरेसँगै अब पूर्बी नेपालमा यात्रा गर्नको लागि टिकट काट्न बसपार्कसम्म पुग्न नपर्ने भएको छ । दशैंको समयमा समेत अब यात्रुहरुले ढुक्कसँग अनलाइनबाट टिकट काट्न सक्नेछन् । हाल मितेरीले ३० वटा अत्याधुनिक किसिमका एसि, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ । 
 
इसेवा नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे कम्पनी हो । जसका नेपालभर १२ हजार भन्दा बढिको संख्यामा इसेवा जोन तथा पोइन्टहरू रहेका छन् । उपत्यकामा मात्र इसेवाका १५ सय भन्दा बढि जोन पोइन्टहरू रहेका छन् ।