राष्ट्र बैंकमा १४ जना कार्यकारी निर्देशकको सरुवा, नियमनमा शिवनाथ पाण्डे, नयाँ विभाग थपियो

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ जना कार्यकारी निर्देशकको सरुवा तथा पदस्थापना गरेको छ । डा. चिरञ्जिबी नेपाल गभर्नरमा नियुक्त भएपछि पहिलो पटक विशिष्ट श्रेणीका अधिकारीहरुको व्यापक सरुवा गरिएको हो ।
 
राष्ट्र बैंकले भुक्तानी व्यवस्थापन हेर्ने नयाँ विभाग गठनसहित १४ जना कार्यकारी निर्देशकको सरुवा गरेको हो । बैंक तथा वित्तीय संस्थाको नियमन विभागबाट मनमोहनकुमार श्रेष्ठलाई आन्तरिक लेखा परीक्षण विभाग पठाइएको छ । नियमन विभागको जिम्मेवारी शिवनाथ पाण्डेलाई दिइएको छ । उनी यही विभागमा थिए ।
 
प्रदिपराज पाण्डेलाई बैंकर्स ट्रेनिङ सेन्टरबाट वित्त व्यवस्थापन विभागमा ल्याइएको छ । यसैगरी त्रिलोचन पंगेनी आन्तरिक लेखा परीक्षण विभागबाट गभर्नर कार्यालयमा सरुवा भएका छन् । 
 
अनुसन्धान विभागका कार्यकारी निर्देशक मिनवहादुर श्रेष्ठलार्य राष्ट्र ऋण विभाग पठाइएको छ भने उनको ठाउँमा ऋण विभागका नरवहादुर थापालाई पठाइएको छ । बैंकिङ कार्यालयका शिवराज श्रेष्ठलाई जनशक्ति विभागमा ल्याइएको छ । 
 
गभर्नरमा नेपाल आएपछि जनशक्ति विभाग सरुवा गरिएको नारायण पौडेललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ । बैंक सुपरिवेक्षणका लक्ष्मीप्रपन्न निरौलालाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ ।
 
मुद्रा व्यवस्थापनका चिन्तामणि शिवाकोटीलाई कार्यकारी निर्देशकका रुपमा त्यही विभागमा पदस्थापन गरिएको छ । साथै भिष्मराज ढुंगाना पनि विदेशी विनिमय विभागमै कार्यकारी निर्देशकका रुपमा पदस्थापन भएका छन् । 
 
वित्तीय व्यवस्थापन विभागका राजनविक्रम शाहलाई  बैंकिङ कार्यालय पठाइएको छ भने नयाँ गठन गरिएको भुक्तानी तथा फस्छ्र्यौट विभागमा महेश भट्टराईलाई लगिएको छ । उनी संस्थागत योजना विभागमा थिए । उनको ठाउँमा सामान्य सेवा विभागका शंकर आचार्यलाई लगिएको छ । 

Tata
GBIME
Nepal Life