निजी क्षेत्रका ‘पिलर’ संस्थाहरुबीच कटुता हटेकै हो? संक्रमणमा निजी क्षेत्र एक हुनु सकारात्मक

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
निजी क्षेत्रका ‘पिलर’ संस्थाहरुबीच कटुता हटेकै हो? संक्रमणमा निजी क्षेत्र एक हुनु सकारात्मक

Tata
GBIME
Nepal Life

विज्ञान अधिकारी\बिजमाण्डू
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष पशुपति मुरारका वधाई थाप्न नेपाल उद्योग परिसंघको कार्यालय थापाथली पुगे ।

 
परिसंघ स्थापना भएको झन्डै १५ वर्षको अन्तरालमा बधाई थाप्न महासंघका अध्यक्ष पहिलो पटक पुगेका थिए । परिसंघले यसअघि पनि महासंघका अध्यक्षलाई वधाई दिन बोलाएको थियो । तर यसअघिका अध्यक्षहरु परिसंघको निम्तोलाई अस्विकार गर्दै आएका थिए । 
 
महासंघका निर्विरोध बनेका मुरारकाले परिसंघको निम्तोलाई सहर्ष स्विकार गरेर वधाई लिए । परिसंघको कार्यालयमा पुगेपछि निजी क्षेत्रको संगठनवीचको ‘ईगो’ को गाँठो फुकेको थियो । 
 
मुरारका निजी क्षेत्रमा मध्यमार्गी धारका चिनिन्छन् । महासंघको विशेष साधारणसभामा निर्वाचनमा निर्विरोध निर्वाचित हुन परिसंघभित्रकै व्यवसायीहरुको सहयोग भएकोले दुई संस्थावीच संवादको वातावरण बनेको स्रोतले बतायो । 
 
यसअघि प्रदीपजंग पाण्डेलाई अध्यक्ष बन्नको लागि उद्योगपति विनोद चौधरीको सहयोग थियो । पाण्डेलाई निर्वाचित भएपछि परिसंघले बोलाएको थियो तर उनी गएनन् । 
 
महासंघको अध्यक्षको निर्वाचनमा पद्य ज्योतीसँग हारेपछि उद्योगपति विनोद चौधरी महासंघबाट बाहिरिएका थिए । महासंघबाट बाहिरिपछि सन् २०००मा उनले परिसंघ स्थापना गरेका थिए । परिसंघको स्थापनापछि यी दुई संंस्थाबीच पानी बाराबारको अवस्था थियो । 
 
परिसंघ स्थापना भएपछि यी दुई संस्थाको पदाधिकारीवीच आधिकारिक छलफल भएको थिएन । अझ दुई संस्थावीच उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा विवाद चरमउत्र्कषमा पुगेको थियो । 
 
दुई साताकै अवधिमा नेपाल चेम्बर अफ कमर्शले महासंघ र नेपाल उद्योग परिसंघलाई एउटै मञ्चमा राखेर संयुक्त छलफल समेत सुरु गरिसकेको छ ।  तीनवटै व्यवसायिक संस्थाले एकल एजेन्डा बनाएर लैजाने सहमति समेत भएको छ । निजी क्षेत्रका संस्थाहरु सहकार्यमा अघि बढ्ने प्रतिवद्धता समेत जनाइसकेका छन् । 
 
‘समय परिस्थितीले सबैलाई एकै ठाउँमा ल्याएको हो । अब इगोईस्टिक भएर काम छैन,’ महासंघका अध्यक्ष पशुपति मुरारकाले बिजमान्डूसँग भने, ‘विभाजित भएर होइन जुटेर एकल एजेन्डा लिएर हिड्दा निजी क्षेत्र र मुलुक दुबैलाई फाइदा हुन्छ ।’ परिसंघ र महासंघ मिलेर चालु आर्थिक वर्ष २०७२/०७३को बजेटमा एकल एजेन्डा प्रस्तुत गरेका थिए । गोप्य रुपमा केही एजेन्डामा संयुक्त रुपमा छलफल गरेर अर्थमन्त्रालयलाई सुझाव दिएका थिए ।
 
स्रोतका अनुसार संविधानको मस्यौंदामा निजी क्षेत्रलाई संकुचित गर्ने बुँदा राखिएपछि यी दुई संस्था अझै नजिकिएका थिए । संविधानमा तीन खम्बे अर्थनीति अबलम्बन गर्ने भन्दै सहकारीलाई समेत राखेपछि दुई संस्थाले एउटै एजेन्डा बनाएका थिए । 
 
‘अहिलेको जटिल राजनीतिक अवस्थामा निजी क्षेत्र विभाजित हुनु सकारात्मक होइन,’ परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बिजमान्डूसँग भने, ‘सबै संस्थाको आ–आफ्नै विशेषता छन् । हामी ठूला उद्योगीको वकालत गर्छौ । उनीहरुको पैरवी गर्छौ । महासंघले सानादेखि ठूलासम्म वकालत गर्छ । ती सबैको एजेन्डालाई एकीकृत गरेर अघि बढाउन खोजेका हौ ।’
 
 
निजी क्षेत्रमा सबैभन्दा बढी संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ ४८ औं साधारणसभाबाट सबैभन्दा बढी विभाजित भयो । महासंघमा अध्यक्षमा निर्वाचित भएका प्रदीपजंग पाण्डे र पराजित भएको भाष्करराज राजकर्णिकार समूहका बरिष्ठ उपाध्यक्ष बनेका पशुपति मुरारका समूहबीच पानी बाराबारको अवस्था आयो । 
 
महासंघभित्रै आन्तरिक कलहले सरकारले समेत निजी क्षेत्रका मुद्दालाई कमजोर रुपमा लियो । पाण्डेलाई तीस वर्षअघिको भष्ट्राचारको मुद्धामा पक्रेपछि महासंघको छबि अझै धुमिल भयो । पाण्डे पक्राउपछि महासंघका सबै पूर्व अध्यक्षले भावी नेतृत्व सर्वसम्मत ल्याउने लबिङ सुरु गरे । महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले सर्वसम्मत अध्यक्ष बनाउने अभियानलाई अरु पूर्व अध्यक्षले सघाए । 
 
श्रेष्ठ महासंघको छबिलाई उच्च राख्न र निजी क्षेत्रको एजेन्डालाई बलियो रुपमा अघि बढाउन अझै केही वर्ष सर्वसम्मत नेतृत्व आवश्यक रहेको बताउँछन् । महासंघका पूर्व अध्यक्षले थालेको अभियानले सबै निजी क्षेत्रलाई एकै स्थानमा ल्याइपुर्याइदिएको छ ।