पुर्वाधार विकास बैंकको अवधारणा बन्यो, लगानी गर्न निजी व्यवसायीक घराना समेत तयार

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
काठमाडौं । सरकारले आधा दशकदेखि प्रत्येक बजेटमा एनआइडिसी डेभलपमेन्ट बैंकलाई पुर्वाधार विकास बैंक बनाउने कार्यक्रम सार्वजनिक गर्यो । तर, यो अवधारणाले मूर्त रुप पाएन । 
 
पुरानो कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले चालु आर्थिक वर्ष २०७२/०७३ को बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा नयाँ पुर्वाधार विकास बैंकको अवधारणा अघि सारेको छ । त्यस अनुरुप एक तहको अवधारणा पनि तयार गरिएको छ ।
 
बजेटमा उल्लेख भएको पुर्वाधार विकास बैंकको अवधारणालाई नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुँजी पुर्याएर पुर्वाधार विकास बैंक खोल्न पाइने व्यवस्था मौद्रिक नीतिमा ल्याएको छ । 
 
निजी क्षेत्रले पुर्वाधार विकास बैंक खोल्न नीतिगत तहमा छलफल गरेपछि सरकार र राष्ट्र बैंकले यस्तो संस्थाको अवधारणा अगाडि वढाएका हुन् । झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिहरुको अवधारणका रुपमा पुर्वाधार विकास बैंक खोल्ने प्रकृया अगाडि वढेको हो ।
 
बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई, मुरारका ग्रुप लगायतका समूह आवद्ध भएका छन् । बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष समेत सहभागी हुनेछन् । विशाल ग्रुपका निर्देशक अनुज अग्रवालले पूर्वाधार क्षेत्रमा लगानी गर्ने वित्तिय संस्था नभएको हुँदा सरकारी र निजी अवधारणामा बैंक स्थापनाको लागि पहल थालेको बताए । 
 
‘अहिलेसम्म पनि हामीसँग पूर्वाधारका लागि आवश्यक रणनीति छैन । पूर्वाधार निर्माणका लागि आवश्यक रणनीति बनाएर वित्तिय माध्यमको रुपमा यो बैंकले काम गर्नेछ,’ उनले बिजमान्डूसँग भने, ‘यो बैंकलाई एक्जिम बैंकको अवधारणामा अघि बढाइनेछ । विदेशबाट आएका सफ्ट लोनलाई समेत यो बैंकले म्यानेज गर्नेछ ।’

Tata
GBIME
Nepal Life

अग्रवालले  बैंकले संचय कोष र विमा कम्पनीको निक्षेप २० वर्षसम्मका लागि लिने बताउँदै त्यो निक्षेप पूर्वाधार क्षेत्रमा लगानी गर्ने बताए ।  गर्भनर डा. चिरञ्जिबी नेपालले बजेटमा नीतिगत रुपमा आएको अवधारणालाई राष्ट्र बैंकले वाटो खोलिदिएको बताए । 
 

‘हामीले चुक्ता पुँजी तोकेर पुर्वाधार विकास बैंक खोल्न दिने नीति नै सार्वजनिक गरिसकेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘समाजले पत्याएको र पुँजी जुटाउन सक्ने व्यक्तिहरु यसमा लागेकाले हामीले नीतिगत रुपमा पुर्वाधार विकास बैंक खोल्न दिने बाटो प्रशस्त गरिदिएका छौं ।’ 
 
पुर्वाधार विकास बैंकको कोरा अवधारणा पूर्वमूख्य सचिव डा. विमल कोइरालाले तयार गरि सकेका छन् । 
 
उनी नियमित जस्तो बैंकर्स, पूर्वप्रशासक, प्रशासक, उद्योगी व्यापारी, अर्थशास्त्री र योजनाविद्वहरुसँग छलफल गरिरहेका छन् । 
 
‘अहिले हामी अवधारणाको चरणमा छौं, लगानीको टुङ्गो लागिसकेको छैन,’ कोइरालाले बिजमाण्डूसँग भने, ‘देशको अर्थतन्त्रलाई उकास्न केही गर्न सकिन्छ कि भनेर पुर्वाधार विकास बैंक स्थापना गर्ने अवधारणामाथि छलफल गरिरहेका छौं । छलफल सकारात्मक हिसावले अगाडि वढिरहेको छ ।’
 
पुर्वाधार विकास बैंकका लागि आजै (शुक्रबार) सरकारी अधिकारीहरुसँग कोइरालाले छलफल गर्दैछन् । रकम राख्ने बारे टुंगो नभइसकेकाले सेयर संरचनाको स्पष्ट खाका आइसकेको छैन ।
 
‘अहिले हामी प्रतिबद्धताको अवस्था छौं, कसले कति रकम हाल्छन् त्यही अनुसार सेयर संरचना तयार हुन्छ,’ कोइरालाले भने, ‘कुल पुँजीको ३० प्रतिशत सर्वसाधारणमा सेयर जारी गर्ने भन्ने पनि हाम्रो अवधारणा हो ।’
 
कोइरालाका अनुसार, पुर्वाधार विकास बैंकमा सरकारी लगानीसमेत हुने छ । सरकारले मात्र पुर्वाधार क्षेत्रमा लगानी गर्न सक्दैन निजी क्षेत्रलाई पनि ल्याउनु पर्छ भन्ने उद्देश्यले बैंक खोल्न लागिएको भन्दै उनले सरकारी लगानी पनि केही मात्रामा हुने जानकारी दिए ।
 
‘बाणिज्य बैंकहरु जस्तो यो कुनै एउटा समूहमा सीमित हुँदैन, धेरै जनाको लगानी हुने भएकाले यो समूहको नभइ छुट्टै संस्था हुने छ,’ उनले भने, ‘म र केही साथीहरु मिलेर एउटा चरणसम्म बैंकको काम सक्छौं, त्यसपछि बैंक लगानीकर्ताको हातमा जाने छ ।’
 
उनले बैंकको नेतृत्व कसले गर्ने भन्ने टुङ्गोमा नपुगिसकेको जानकारी दिए । २० अर्बको बैंकले कम्तिमा तीन गुणा बढी क्षमताको काम गर्ने बताए । ‘संस्थापक र सर्वसाधारणले हालेको पुँजीले मात्र पुर्वाधारमा लगानी गरेर पुग्दैन,’ उनले भने, ‘वाहिरी लगानी पनि यस मार्फत आउने छ । त्यो रकम मुलुकको पुर्वाधार क्षेत्रमा लगानी हुने छ ।’
 
नेपाल राष्ट्र बैंकले नियमन गर्ने यो निकायको बारेमा मौजुदा   बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा केही पनि व्यवस्था छैन । अर्थमन्त्रालयमा रहेको नयाँ ऐनको मस्यौदामा भने पुर्वाधार विकास बैंकको बारेमा बोलिएको छ । 
 
‘पुर्वाधार विकास बैंकमार्फत केही लगानी वढाउन सकिएमा देशको बृद्धि दर माथि जाने छ,’ उनले भने, ‘यसबाट रोजगारी बृद्धि भएर आम्दानीसमेत बढ्ने छ ।’ कोइरालाले नयाँ बैंकको अवधारणा व्यापारिक हिसावले भन्दा पनि देशको विकास गर्ने उद्देश्यले ल्याइएको जानकारी दिए ।