युनिटी लाइफ इन्टरनेशनलका नाममा तीनलाख ६६ हजार सर्वसाधारणलाई ठग्ने क्षेत्री दाजुभाइ पक्राउ

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
युनिटी लाइफ इन्टरनेशनलका नाममा तीनलाख ६६ हजार सर्वसाधारणलाई ठग्ने क्षेत्री दाजुभाइ पक्राउ

विनोद ढकाल/बिजमाण्डू ।
काठमाडौं ।  नेटवर्किङ व्यवसायमार्फत् सर्वसाधारणको झण्डै चार अर्ब रुपैयाँ ठगी गरेर फरार रहेका दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पाँच वर्षदेखि फरार रहेका युनिटी लाइफ इन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्रीलाई प्रहरीले शुक्रबार कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो। 

पर्वतको आर्थर डाँडाखर्क गाविस ३ घर भएका उनीहरु दाजुभाइ हुन्। शुक्रबार बिहान पक्राउ परेका उनीहरुलाई प्रहरीले हवाइजहाजबाट दिउँसो काठमाडौं ल्याएको हो। साँझ साढे ५ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरेको थियो। 'धेरै ठाउँमा हामी पुग्ने उनीहरु भाग्ने क्रम चलिरह्यो तर आज सीमा नाका वरपरका गाउँ एरियामा पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भयौं' महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले भने। 

उनीहरुले यस बीचमा कुन कुन ठाउँमा सेल्टर लिए र के के गतिविधि गरे भन्ने बारेमा अनुसन्धान गर्न बाँकी रहेको शर्माले बताए। यी दुई दाजुभाइ २०६७ जेठ ३ गतेदेखि फरार थिए। उनीहरुको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत् २०६८ माघ २ गते रेड कर्नर नोटिस जारी गरेको थियो। युनिटी लाइफ ठगी प्रकरणमा अध्यक्ष काशीराम गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन्।

नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको स्वीकृति बिना नै तीन लाख ६६ हजार भन्दा धेरै सर्वसाधारणबाट उनीहरुले तीन अर्ब ८९ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी ललितपुर जिल्ला अदालतमा २०६७ फागुन २८ गते परेको थियो। ठगीको उजुरीका आधारमा ललितपुर जिल्ला अदालतले २०७० चैत १७ गते युनिटी प्रकरणलाई संगठित अपराध ठहर गर्दै अध्यक्ष काशीराम गुरुङसहितका ११ जनालाई तीन वर्ष कैद र उनीहरु सबैबाट १२ करोड ७५ लाख हर्जना तिराउने फैसला सुनाएको थियो। 

यसअनुसार आरोपित १२ जनाले जनही एक करोड ६ लाख जरिवाना तिर्नुपर्नेछ। दोषी ठहर हुनेमा अध्यक्ष गुरुङसँगै नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टन्डन, निर्देशक विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली रहेका छन्।

पक्राउ परेका दुबै जनालाई ललितपुर जिल्ला अदालतमा बुझाइने एआइजी विज्ञानराज शर्माले जानकारी दिए। 
हत्या भयो भन्दै फेसबुकमा फोटो हाल्ने पनि यिनै हुन्
असार २३ गते बिहान ८ बजेतिर विष्णु क्षेत्रीका दाजु कृष्ण क्षेत्रीले फेसबुकमा एउटा सनसनीपूर्ण स्टाटस लेखे। उनले आफ्ना भाइ विष्णुमाथि सांघातिक हमला भएको र उनको हत्या भएको उल्लेख गरे।

पुरुष शवको फोटो राखेर राखिएको स्टाटसले धेरैलाई आतंकित पारेको प्रहरी बताउँछ। प्रहरीले यसरी अफवाह फैलाएर सर्वसाधारण आतंकित बनाएको घटनामा भने कुनै कारबाही हुने वा नहुने बताएको छैन।