तल्लो मोदी-१ जलविद्युत् मर्मत गर्न दुई महिना लाग्ने बाढीका कारण ३० करोड रुपैयाँ बराबर क्षति

बिजमाण्डू
२०७२ साउन १६ गते ००:०० | Aug 1, 2015
तल्लो मोदी-१ जलविद्युत् मर्मत गर्न दुई महिना लाग्ने बाढीका कारण ३० करोड रुपैयाँ बराबर क्षति

फलेवास (पर्वत) । अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनामा करिव ३० करोड रुपैयाँ बरारबको क्षति पुगेको छ ।
 
पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृहको सुरक्षाका लागि यो पर्खाल लगाइएको थियो । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका छन् ।
 

'विद्युत्गृह र अन्य भौतिक संरचनामा गरी ३० करोडको क्षति पुगेको प्रारम्भिक अनुमान गरेका छौँ' आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताए । गौतमले भने, 'विद्युत्गृहभित्रका उपकरण खोलेर हेरेपछि मात्रै क्षतिको यकिन तथ्याङ्क आउँछ, बाढीले १२५ केभिए क्षमताको जेनेरेटर बगाएको छ ।'
 
निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । आयोजनामा बाढीले क्षति पुर्‍याएपछि दुई महिनाभन्दा बढी लामो समय लाग्ने जानकारी निर्देशक गौतमले दिए । इलेक्ट्रोमेकानिकल कामका लागि विदेशबाट प्राविधिक आउनुपर्ने भएकाले मर्मतका लागि समय लाग्ने छ ।
 
आयोजना दुई महिनासम्म बन्द हुँदा आयोजनालाई २० करोडभन्दा बढी घाटा हुने निर्देशक गौतमले बताए । एक दिन विद्युत् बन्द हुँदा आठ लाखभन्दा बढी क्षति हुन्छ ।
 
यसैबीच बाढी र पहिरोका कारण पर्वतको देउपुरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बन्द भएको छ ।
 
पर्वतको तिलहार गाविस–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । प्रसारण लाइन अवरुद्ध भएपछि इन्टेकमा विद्युत् आपूर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए । रासस

Tata
GBIME
Nepal Life